Friday, July 29, 2016

सेतु जस्तो लाग्छ आफैलाई : पत्रकार जोशेफ लेप्चा

-अर्जुन यावा
सिक्किमेली पत्रकारिता जगतले जोशेफ को हुन् भन्ने राम्ररी जानिसकेको हो, जसलाई 12औं कञ्चनजङ्घा कलम पुरस्कारले सम्मान जनाइसकिएको छ 17 जुलाई 2016-को दिन। अढाई दशकअघिदेखि पत्रकारिता जगतमा प्रवेश गरेका लेप्चाले साप्ताहिक समाचार पत्रदेखि काम गर्न थालेका थिए भने पछि आफै साप्ताहिक समाचार पत्रका सम्पादकको अनुभव पनि बटुलीसकेका हुन्। त्यसपछि उनले स्थानीय दैनिक नेपाली समाचार पत्रहरूमा पनि कार्य गरिसकेका हुन्। धेरैवर्षयता उनी ‘दैनिक जागरण’ जस्तो लोकप्रिय राष्ट्र हिन्दी दैनिकका सिक्किम संवाददाता हुन्। सिक्किमेली पत्रकारिताको निम्ति यो पनि एउटा पाटो मान्न सकिन्छ जहाँ हामी गर्व मान्न सक्छौं। रिनाक पूर्व सिक्किममा जन्मेका जोशेफ लेप्चाले पत्रकारिता जगतमा जसरी स्वयंलाई सफल पत्रकारका रूपमा परिचित गराएका छन्, उसरी नै साङ्गठनिकरूपमा पनि एक जिम्मेवार कार्यकर्ताका रूपमा सबैका प्रीय छन्। प्रेस क्लब अफ् सिक्किमसितै धेरै वर्षदेखि आबद्ध रहेर काम गरिसकेको उनी चारवर्षसम्म अथवा दुईवटा कार्यकालसम्म प्रेस क्लब अफ् सिक्किमको महासचिवको पदमा बसेर काम गरिसकेका हुन्। 19 जुलाई 2016-को दिन सँगै बसेर एक-एक कप चिया पिउँदै उनको 25 वर्षको अनुभवबाट केही झलकहरू बुझ्ने अवसर प्राप्त भएको थियो मलाई, जोसँग मैले भर्खर-भर्खर औपचारिकरूपमा पत्रकारिता शुरू गरिरहेको बेला 2007-8 मा ‘समय दैनिक’ नेपाली समाचर पत्रमा सँगै काम गर्ने अवसर पाएको थिएँ। उनै वरिष्ठ पत्रकारसितको कुराकानी पाठकवर्गमा राख्ने प्रयास हो यो। यतिबेला हामीसित थिए वरिष्ठ पत्रकार विजय बान्तवा, जसले मलाई पहिलोपल्ट समाचार लेख्न सिकाएका हुन् 1997-98 तिर अनि छापिएका थिए मेरा शुरूका समाचारहरू उनको साप्ताहिक समाचार ‘हिमगिरि’-मा।
---
मेरो पहिलो प्रश्‍नको जवाबमा प्रेस क्लब अफ् सिक्किमको कार्यकारी समितिमा रहेर गरेका कार्यहरूबारे उनी भन्छन्, ‘‘यसको माध्यमबाट पत्रकारितालाई अलिकति फस्टाउने, सही बाटोमा डोहोर्याउने र भुलेका कुराहरूलाई कार्यनवयन गर्ने अनि लागु गर्ने योजनाहरूलाई हामीले व्यावहारमा उतार्न सक्यौं। पत्रकारिता आफ्नो ठाउँमा छँदैछ, त्यसको साथै हामीले हाम्रो ऐक्यवद्धता, ‘कन्सोलिडेटेड जर्नलिज्म’ अथवा ‘कन्सोलिडेटेड जर्नलिस्ट’ भन्ने कुरा आउँछ। त्यसको लागि पनि हामीले एउटा राम्रो अवस्था प्रेस क्लब अफ् सिक्किमद्वारा बनायौं। यसबाट हामीले पत्रकारहरूलाई एकजुट बनाएर धेरैवटा कामहरू गर्ने मौका पायौं।’’
12औं कञ्चनजङ्घा कलम पुरस्कारले सम्मानित भएकोमा खुशी व्यक्त गर्दै यसो भन्छन् पत्रकार लेप्चा, ‘‘यो एउटा साँच्चै गरिमामय क्षण थियो मेरो निम्ति। यसले मलाई भविष्यमा मैले गर्नुपर्ने कार्यहरूका निम्ति जिम्मेवारी बोध गराएको छ। पत्रकारिताको क्षेत्रमा मैले अझै धेरै कार्यहरू गर्नुपर्छ भन्ने बोध गराएको छ।’’
सिक्किमको वर्तमान पत्रकारिता जगतको अवस्थाबारे बोल्दै भन्छन् उनी, ‘‘यो पाली संयोगले मैले पत्रकारिता गरेको पनि 25 वर्ष पुगेको थियो। मेरो पत्रकारिता जीवनको यो सिल्भर जुब्ली नै भनौं। मैले 22 नोभेम्बर 1991-मा औपचारिक रूपमा सामेल भएर पत्रकारिता शुरू गरेको हुँ। त्यसताक हाम्रा गोविन्द प्रसाद अनाथ जी हुनुहुन्थ्यो, उहाँको ‘स्वतन्त्र समाचार’ साप्ताहिक समाचार पत्रिका प्रकाशित हुन्थ्यो गान्तोकबाट। मैले त्यसमा सहसम्पादक र संवाददादाता दुवैरूपमा काम गर्नुपर्थ्यो। त्यो बेला अहिलेको जस्तो व्यवस्थित ढङ्गमा बजार व्यवस्थापन, विज्ञापन भन्ने कुराहरू थिएनन्। हामी आफैले आफ्नै प्रकारले सोच बनाएर काम गर्नुपर्थ्यो र त्यतिबेला मैले एउटा मौका के पनि पाएँ भने समाचार पत्र निस्किसकेपछि म आफै पनि बेच्ने गर्थेँ। त्यसबाट मैले मान्छेहरूको वा पाठकवर्गको ‘फिटब्याक’-हरू पाउथेँ। पाठकहरूले ‘यो कुरा राम्रो लाग्यो, तपाईंहरूबाट यो कुरा मन परेन, यो कुरालाई यस्तो गरेको भए राम्रो हुने थियो’ भन्ने प्रतिक्रियाहरू जान्न पाउथेँ। ती कुराहरूलाई हामीले समाचार पत्रमा समावेश गर्न सक्थ्यौं। संशोधन वा सुधारहरू गर्ने अवसर पाइन्थ्यो। त्यसबाट एउटा राम्रो वातावरण सिर्जना गर्दथ्यो। त्यसैले पाठकवर्गबाट ‘फिडब्याक’ वा प्रतिक्रिया लिनुपर्दो रहेछ भन्ने लाग्थ्यो।’’
यी कुराहरू वर्तमानमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले पनि बुझ्न आवश्यक लाग्छ उनलाई। त्यसैले उनी भन्छन्, ‘‘अहिले ‘मास कम्युनिकेशन’-मा समाचार सम्प्रेशनका कुराहरू, समाचार संकलन गर्नु वा ‘रिपोर्टिङ’ गर्नु, लेख्नु, समाचार सम्पादन गर्नु सिकाइन्छ तर मलाई लाग्छ यी पक्षहरू पनि सामेल गरिए एकजना पत्रकारले पाठकसँग सोझो संवाद गर्ने र सम्पर्क गर्ने माध्यम पनि हुनेछ। समाचार पत्र बिक्रीको माध्यमबाट मैले त्यो पनि अनुभव लिएको थिएँ।’’
वर्तमान पत्रकारिता गजतको अवस्थाबारे उनको विचार बुझ्ने मेरो जिज्ञासामा पत्रकार जोशेफ लेप्चा आफूले पत्रकारिता शुरू गर्दाको सम्झना गर्दै भन्छन्, ‘‘त्यो समय ‘लेटर पेस्ट’-को थियो, जहाँ एक-एकवटा शब्द बटुलेर, मिलाएर एउटा ‘पेज’ (पृष्ठ)-बनिन्थ्यो। एकदिनमा एउटा समाचार पत्र निकाल्नु सम्भव पनि थिएन। त्यसैले प्रायः साप्ताहिक समाचार पत्रहरू नै थिए। अर्को कुरा, त्यो बेला तक्निकीय संसाधनको कमी थियो। फोन पनि थोरै पत्रकारहरूले मात्र राख्ने गर्थे। यसो हुनाले हामीले स्थानीय समाचारहरूलाई नै धेरै प्राथमिकता दिनुपर्ने हुन्थ्यो, रेडियोको माध्यमद्वारा समाचारहरू संकलन गर्ने गर्थ्यौं। तक्निकीयरूपमा सायद 2004 देखि सिक्किममा अलिकति परिवर्तन आयो। दैनिक समाचार पत्रहरू प्रकाशित हुन थालेको थियो। लगभग यहाँदेखि नै सूचना प्रौद्योगिकीको क्रान्ति शुरू भयो। सिक्किम पनि त्यस क्रान्तिमा समावेश भयो। अहिले सिक्किमको वर्तमान अवस्था जो देखिरहेका छौं, त्यो एकदमै राम्रो छ। पत्रकारिता पेशा मलाई लाग्छ प्रगतिशील छ। अहिलेको जुन रफ्तार छ त्यसले अरु कतिपय आयामहरू बद्लिएर जाला तर पत्रकारिताले अन्य पेशाहरूभन्दा पनि राम्रो र स्तरीयता आर्जान गर्छ भन्ने मलाई विश्‍वास लागेको छ।’’
वर्तमानमा युवाहरूका लागि रोजगारको अवसरको रूपमा पत्रकारिता पेशाबारे आफ्नो मन्तव्यमा उनी भन्छन्, ‘‘यहाँ कुरा भइसकेको छ कि यो पेशा प्रगतिशील छ। अर्कोकुरा प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि आभार व्यक्त गर्न चाहन्छु कि उनको सरकारले डीएभीपी (डाइरेक्टोरेट अफ एड्भर्टाइजिङ एण्ड पब्लिसिटी)-को लागि समाचार पत्रहरूलाई अङ्क दिएर त्यसको आधारमा विज्ञापनको भोल्युम पनि बढाउने प्रावधान राखिदिएको छ। त्यसमा ईपीएफ (इम्प्लोइज प्रोभिडेण्ट फण्ड अथवा कर्मचारी भविष्य निधि) पनि मुख्य अङ्कमा पर्दछ। ईपीएफ लागु गरेको ‘पेपर हाउस’-लाई अलिकति बेसी ‘भोल्युम’ भएको विज्ञापन दिने प्रावधान समावेश गरिएको छ। यसबाट स्पष्ट हुन्छ कि भविष्यमा पत्रकारहरूले ईपीएफसितै पत्रकारिता गर्न पाउनेछन्। उसो त ‘समय दैनिक’ नेपाली समाचार पत्रले अघिबाटै ईपीएफ लागु गरिसकेको छ। यो नै सिक्किममा ईपीएफ लागु गर्ने पहिलो समाचार पत्र पनि हो। अबउसो भने ईपीएफ ‘मेण्डेटोरी’ भनौं अनिवार्य जस्तै भएको छ। त्यस्ले गर्दा हाम्रा जति पनि ‘वर्किङ जर्नलिस्ट’-हरू छन् उनीहरू सबैका निम्ति यो एउटा राम्रा खबर हो। यसबाहेक जहाँसम्म वेतनको सन्दर्भ छ, यसमा पनि भविष्यमा सरकारले ‘स्ट्रिमलाइन’ गर्दै, सुव्यवस्थित गर्दै लानेछ भन्ने विश्‍वास गर्न सकिन्छ। हुनसक्छ यसबारे केन्द्र सरकारले कुनै ‘पोलिसी’ नै अप्नाउन सक्ला। अथवा यस विषय हामीले राज्य र केन्द्र सरकारसित माग राख्न पनि सक्छौं।’’
यसबारे अहिले कुनै पहल गरिएको छ/छैन भन्नेबारे पत्रकार लेप्चा भन्छन्, ‘‘उसो त ‘जर्नलिस्ट वेलफेयर फण्ड’ (पत्रकार कल्याण कोष)-को पनि कुरा चलिरहेको छ र व्यक्तिगतरूपमा भए पनि मैले सूचना अनि जनसम्पर्क विभागका मन्त्री श्री एके घतानीबाट प्रतिवद्धता पाएको छु, त्यसमा ‘जर्नलिस्ट डेभलोपमेण्ट फण्ड’ या ‘वेलफेयर फण्ड’ राखिने भएको छ। त्यसमा के छ भने विभागहरूबाट जति पनि विज्ञापनहरू जानेगर्छ त्यसबाट दुई प्रतिशत त्यो ‘जर्नलिस्ट डेभलोपमेण्ट फण्ड’ या ‘वेलफेयर फण्ड’-मा सोझै जान्छ। यो एउटा हाम्रो माग छ। त्यसो गर्दा सरकारको तर्फबाट जुन विज्ञापनबाट 2 प्रतिशत काटिन्छ, त्यो थाहा पनि हुँदैन र यता जर्नलिस्टहरूका लागि कल्याण कोष पनि बढ्नेछ।’’
वर्तमान प्रेस क्लब अफ् सिक्किमका कार्यकारिणी समितिले गरिरहेको कार्यहरूबारे उनी भन्छन्, ‘‘कनिष्ठ र वरिष्ठ पत्रकारहरू जो छन् म उनीहरूबीचको सेतु जस्तो लाग्छ आफैलाई। उहाँहरूले पुरस्कार वितरणलाई लिएर जुन नयाँ ‘ट्रेण्ड’ नै भन्छु म, शुरू भएको छ त्यो राम्रो हो। कञ्चनजङ्घा कलम पुरस्कारलाई सँधैभरि एउटा सीमाभित्र राख्नु उचित नहोला, किनभने सिक्किम सानो ठाउ भए पनि अहिले यहाँको पत्रकारिताले ‘प्रोफेसनलिज्म’-को विकास गर्दैछ। उसो त 25 वर्षअघि सिक्किममा पत्रकारिता भन्ने व्यावसाय थिएन।  गाउँमा जाँदा बुढा-पाकाहरूले ‘के गर्दैछस्?’ भनेर सोद्धा मैले ‘पत्रकारिता गर्दैछु’ भन्ने जवाब दिन्थेँ। त्यतिबेला ‘तेरो काम सोधेको हौ, रुची होइन’ भन्ने गर्थे मलाई। अहिले त्यस्तो छैन। अर्को कुरा, सिक्किम सानो भए पनि राष्ट्रियस्तरमा हेर्दा तीन-तीनवटा छिमेकी राष्ट्रको सीमाले घेरेको हुनाले ‘सेन्सिटिभ’ छ। विकासको दृष्टिले हेरिनु हो भने सिक्किम भारतमै एक उदाहरण बनिरहेको छ। त्यसैले पनि सिक्किम अहिले राष्ट्रिय-अन्तर्राष्ट्रिय ‘फोकस’-मा छ। त्यसैले यहाँका समाचारहरू राष्ट्रिय-अन्तर्राष्ट्रिय समाचारहरू हुनसक्छ। त्यसको लागि ‘प्रोशेसनल जर्नलिस्ट’-हरू हुन आवश्यक छ। भविष्यमा यसमा भविष्य उज्ज्वल छ जस्तो लाग्छ अनि पत्रकार र पत्रकारिताको यो स्वर्णिम क्षणजस्तो लाग्छ। पत्रकारितामा अघि बढ्न चाहनेहरूको यात्रा साँच्चै सुगम छ।’’
आफूपछिकाहरूलाई सुझाउ के राख्न चाहनुहुन्छ त? भन्ने मेरो प्रश्‍नमा उनी भन्छन्, ‘‘हामी भन्छौं डाक्टरको पेशा ‘नोवल प्रोफेसन’ हो। त्यो भन्दा पनि अथवा अन्य संवेदनशील पेशाहरू भन्दा हाम्रो यो पेशा अति नै संवेदनशील पेशा हो। मैले एउटा सानो ‘फर्मुला’ बनाको छु, एउटा मन्त्र जस्तो, मेरो अहिलेसम्मको अनुभवमा।’’ उनी भन्छन्, ‘‘त्यो हो ‘सार’ अथवा एस.एस.आर.। एस-बाट सेन्सिटिभ, ए-बाट अथेन्टिक र आर-बाट रेस्पोन्सिबल। त्ययैले यति भन्न चाहन्छु ‘बी सेन्सिटिभ, बी अथेन्टिक एण्ड बी रेस्पोन्सिबल’, किनभने सेनाले हाम्रो सीमा, हाम्रो देश सुरक्षा गरेका छन् अनि हाम्रो पनि त्यतिकै जिम्मेवारी छ। हामीले राष्ट्रविरोधी पत्रकारिता गर्यौं भने अथवा हामी सेन्सिटिभ, अथेन्टिक अनि रेस्पोन्सिबल बन्न सकेनौं भने देशलाई सिमानापारीको भन्दा पनि सिमानावारीको खतरा बढ्ने हुन्छ। देशको अन्तरिम सुरक्षालाई लिएर हामीमा दायित्वबोध हुनुपर्छ। मलाई लाग्छ, हामीपछिको पिढीका पत्रकार भाइ-बहिनीहरूले यसलाई गम्भीररूपले लिनुपर्नेछ। काम गर्न सजिलो र फरक होला तर अति नै संवेदनशील पनि छ।
---
मैले पत्रकार जोशेफ लेप्चालाई फोनमार्फत ‘‘आकाशवाणी गान्तोकद्वारा प्रसारित हुने कार्यक्रम सिक्किम दर्पणको निम्ति कुराकानी गर्नुछ, रेकर्ड गर्छु’’ भनेको थिएँ।
‘‘समय कति लाग्छ?’’ सोध्नुभएको थियो मलाई।
‘‘पाँच/दश मिनट हो। धेरै लाग्दैन।’’ भनेको थिएँ। नाट्यकला, चलचित्र अभिनय, मञ्च सञ्चालन, हास्यकला उनीभित्र रहेका यस्ता धेरै कला-प्रतिभामाथि चर्चा गर्नै छ। यतिबेला तर त्यो पाँच/दश मिनटको निम्ति बसेका थियौं हामी। हाम्रो अघि राखिएका बिस्किटहरू अनि चियाका तीनवटा कप अघि कतिबेला खालिएछन्, थाहै भएन हामीलाई। हामी निस्क्यौं एमजी मार्गतिर। (29 जुलाई 2016-को समय दैनिकबाट)
---000--- 

Sunday, July 24, 2016

अनलाइन शोपिङ र बजार

एउटा समय थियो, जतिबेला मानिसहरू एकथोक पाउनलाई अर्को थोक दिनुपर्ने चलनमा अथवा ‘बार्टर सिस्टम’-मा थिए। न पैसा-रुपियाँ थियो न बजार-व्यवस्था। त्यसैले इशापूर्व 6 हजार तिरैदेखिको यो चलन लामो समयसम्म बाँचिरह्यो। इशापूर्व 6 हजारदेखि इशापूर्व 2 हजारसम्म आइपुग्दा ‘स्टोन एज’-को समापनसितै मानस सभ्यतामा पनि विकास हुँदै आयो। त्यसैले पैसा-रुपियाँको कुनै चलनसम्म नरहेको समय ‘बार्टर सिस्टम’ मानव समाज विकासको पहिलो खुड्किलो थियो सायद। एकप्रकार अवसादको अवस्थाबीच 1930-को दशकमा यसले अझ लोकप्रियता पाएको थाहा पाइन्छ। त्यसअघि नै किन-बेच तथा बजार व्यवस्थाको शुरू भइसकेको हो। पछि बजार व्यवस्थादेखि पनि यसले अझ विकसित रूप लिँदै गयो, जहाँ शुरू भयो अनलाइन शपिङ।
मान्छे सँधै रहेक कुरामा छिटो र सहज माध्यमको पछि लागिरहेका हुन्छन्। भनौं सुखउपभोगी हुन्छन् मान्छे। त्यसैले मान्छेलाई सुविधा र सुखउपोगले दास बनाउँदै लगिरहेको छ। ‘बार्टर सिस्टम’-देखि नै विकासको खुड्किलो चड्दै आइरहेको मान्छेले अहिले कोठाभित्रै बसेर संसार चियाउन थाले। घरभित्रै हरेक सुविधा उपलब्ध हुन थाल्यो। यहाँसम्म कि उसले आफूलाई चाहिएका सामाग्री किनमेलका लागिसम्म बजार पुगिरहनु नपर्ने भयो। 1990-को दशकदेखि विशेष तीव्ररूप लिइरहेको अनलाइन शपिङले यी कुराहरूलाई जतिजति सम्भव पार्दै लग्यो, उति नै ‘बजार’-को भविष्य पनि संकटमय बन्दै गइरहेको देखिन्छ। त्यसैले ‘अन लाइन शपिङ’ र ‘बजार’-बीच अहिले चलिरहेको व्यापारिक होडले मानव समाजलाई कुन दिशातिर अग्रसर गराइरहेको छ? त्यो भविष्यले बताउला। यद्यपि, विश्‍वबजारले बिस्तारै आफ्नो संकटको आभाष गरिरहेको ज्ञात हुन्छ। फलस्वरूप, अनलाई शपिङको प्रभावलाई नियन्त्रण गर्न विभिन्न वेबसाइडहरूसितै ‘गुगल’-को प्रयोगमा समेत प्रतिबन्ध लगाउन थालिएको छ।
अहिले चीनमा यू टुब, जी मेल, ब्लगर, म्याप लगायत फेसबुक तथा ह्वाट्सएपको प्रयोगमा समेत अघिबाटै प्रतिबन्ध लगाइसकिएको छ भने क्रिमीया, क्युबा, इरान, उत्तर कोरिया, स्वीडेन, सिरिया, पाकिस्तान तथा अरब जस्ता राष्ट्रहरूले पनि गुगल, जीमेल तथा यू टुबहरूको प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ। भर्खरै मात्र भारतमासम्म ह्वाट्सएपमाथि प्रतिबन्ध लगाइनुपर्ने प्रश्‍न उठेको हो, यद्यपि सर्वोच्च न्यायालयले यस मागलाई खारेज गरिसकेको छ।
अहिले यूरोप महादेशमा पनि गूगलमाथि औंला उठ्न थालेको छ। यूरोपीय कमीशनले गूगललाई स्पष्टसँग अनलाइन शपिङमा आफ्नो अनावश्यक प्रभाव समाप्त गरोस् भनेको छ। कमीशनको भनाईअनुसार, गूगलको सर्च रिजल्टले केही खास कम्पनीहरूलाई बढावा दिइरहेछ,जसबाट बजारमा गलत प्रभाव परिरहेछ। यूरोपीय कमीशनले आफ्नो जाँचमा अनलाइन शपिङको अवधिमा गूगलको सर्च रिजल्टमा केही विशेष कम्पनीहरूको उपस्थिति अन्य कम्पनीहरूको भन्दा अधिक प्रभाव देखिने गरेको बताएको छ। गूगलमाथि उसले प्रतिद्वन्दी सर्च इञ्जनमा जानीबूझी तक्निकी समस्याहरू सिर्जना गरिरहेको पनि आरोप छ।
यूरोपीय यूनियनका प्रतिस्पर्धा आयुक्त मार्गे्रट वेस्टेयरले गूगललाई आफ्नो प्रतिस्पर्धीहरूलाई रोक्ने कुनै अधिकार नरहेको भनेकी छन्। यूरोपियन कमीशनअनुसार, गूगलले धेरै नयाँ प्रोडक्ट्स लिएर आएको छ, जसबाट हाम्रो जीवनमा ठूलो बदलाव आएको छ तर यसले गूगललाई अन्य कम्पनीहरूलाई अघि बढ्नदेखि रोक्ने कुनै अधिकार दिँदैन। गूगलमाथि पहिलेदेखि नै एन्ड्रोयड अपरेटिङ सिस्टमद्वारा आफ्नो प्रभावको गलत प्रयोग गरेको पनि बताइएको छ। यस मामिलामा गूगलले अनलाइन शपिङको पूरा परिभाषा नै परिवर्तन गरिदिएको बताइरहेको छ। यसबाट यूरोपीय मानिसहरूको जीवनमा धेरै परिवर्तन आएको तथा प्रभाव परेको छ।
अब अनलाइन शपिङ र बजारबीचको प्रतिस्पर्द्धासितै विकासको यो शृङ्खला कुन दिशातिर जाने हो? हेर्दै जानु छ। समयले बताउला नै।-15.07.2016

जीटीए गठनको चार वर्षनजीक

2 अगस्त 2016, गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रीेसन (जीटीए) गठनको चार वर्ष पुग्दैछ। अहिले पनि तर ‘छुट्टै राज्य कि विकास?’ भन्ने प्रसङ्गमा पहाडबासी अलमल्लै परिरहेको अवस्थामा छ। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा पहिला उठाउने श्रेयमा सँधै हानथाप भइरहेको अवस्था देखिन्थ्यो पहाडमा। अहिले पहाडमा प्रभावशाली देखिएका तीन राजनैतिक दलमध्ये पुरानो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-का पूर्व अध्यक्ष सुवास घिसिङले सन् 1980-मा अलग राज्य गोर्खाल्याण्डकै मागलाई अघि राखेर पहाडमा 28 महीनाको संघर्षपूर्ण आन्दोलन गराएका थिए। यही मुद्दालाई अघि सारेर लड्दै आइरहेको घरिघरि दावी गर्दै आइरहेकै हो गोरामुमोका वर्तमान अध्यक्ष मन घिसिङको नेतृत्वमा पनि।
सुवास घिसिङले पछि ‘छैटौं अनुसूचि’ थापेर त्यसैलाई छुट्टै राज्यको लक्ष्यसम्म पुर्याउने ‘डमरु’-को संज्ञा पनि दिएका हुन्। 2007-मा फेरि छुट्टै राज्यकै मूल मुद्दा बोकेर स्थापित गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले एकसमय समुद्र उर्लिएझैं समग्र पहाडलाई गोर्खाल्याण्डकै लागि जनान्दोलनमा उर्लाएको थियो। उसले फेरि गोर्खाल्याण्डसम्म पुग्ने ‘सिँडी’ भनेर जीटीएका लागि त्रिपक्षीय सम्झौता-पत्रमा हस्ताक्षर गर्यो। 2015-मा फेरि अलग जिल्ला कालेबुङको मूल मुद्दासितै चुनाव घोषणा-पत्रमा छुट्टै राज्य गोर्खाल्याण्डलाई प्राथमिकता दिँदै डा. हर्कबहादुर क्षेत्रीको नेतृत्वमा जन आन्दोलन पार्टी (जाप) अस्तित्वमा आएको थियो। चुनावमा गोजमुमोसित पछि रहेपछि उसले त जिल्लाको मुद्दालाई पनि अघि बढाउने जिम्मेवारी गोजमुमोलाई नै सुम्पिएपछि छुट्टै राज्यको मुद्दालाई उसले अघि लगाउला भन्ने विश्‍वास गर्ने ठाउँनै देखिन्न।
मुख्यमन्त्री ममता ब्यानर्जीको पहाड भ्रमणको अवधी गोरामुमो अध्यक्ष मन घिसिङलाई उत्तर बंगाल स्पोर्टस् एण्ड गेम्स डेवलपमेन्ट बोर्डको उपाध्यक्ष मनोनित गरिएको छ। त्यसपछि मन घिसिङले अलग राज्य गोर्खाल्याण्डको मुद्दा पनि त्यही उपाध्यक्षको पदसित साटेको गोजमुमोले आरोप लगाइरहेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर क्षेत्री अघिबाटै पहाडको समस्या समाधानको लागि राज्य सरकारसित मिलेर काम गर्ने पक्षमा छँदैछन्। राज्य सरकार अथवा मुख्यमन्त्री ममता ब्यानर्जीले ‘बङ्ग भङ्ग होबेना’ भनिसकेकी छन्।
अर्कोतिर, पहाडको विकासका लागि गोजमुमो राज्यसित मिल्नैपर्छ भन्ने समाचार पत्रहरूको माध्यमद्वारा 28 जूनकै दिनमात्र दार्जीलिङ हिल तृणमूल कंग्रेस नेत्री शारदा राईले सल्लाह दिएकी छन्। उनले ‘यदि दार्जीलिङ पहाडको सर्वाङ्गीण विकास गरिनु अनि पहाडको बेरोजगारी समस्या समाधान गर्नु हो भने जीटीए वा गोजमुमोले राज्य सरकारसित मिल्नैपर्छ’ भनेकी छन्। उनले राज्य सरकारसित मिलेपछि पहाडका सम्पूर्ण समस्या समाधान भएर जाने पनि बताएकी थिइन्।
त्यसअघि 27 जूनको दिन जीटीएमा सबै विभाग हस्तान्तरण नगरिएकोमा प्रश्‍न गर्दै विमल गुरुङले मुख्यमन्त्रीलाई ज्ञापन पठाएका थिए। जीटीएका कार्यकारी सभासद रोशन गिरीले जीटीए गठनको 4 वर्ष पूरा हुनलाग्दा पनि राज्य सरकारले भूमि अनि भूमि सुधार विभाग, सूचना एवं सांस्कृतिक विभाग, फूड एण्ड सप्लाई, अग्निशमन विभाग, पञ्चायत अनि ग्रामीण विकास विभागलगायत अन्य विभागहरू हस्तान्तरण नगरेको बताएका थिए। त्यसैले मुख्यमन्त्रीलाई विमल गुरुङले ज्ञापन पठाएको गिरीले अवगत गराएका थिए।
गोजमुमोले पनि छुट्टै राज्यसम्म पुग्नलाई विकास नै जरुरी छ भनिसकेकै हो, तर अहिलेसम्म पनि विभाग नै हस्तान्तरण नगरेपछि पहाडको विकास होला के? पहाडबासीले अब के आशा गर्नुपर्ने, छुट्टै राज्य गोर्खाल्याण्डको? कि त्यही छुट्टै राज्यका लागि लडन पहाडलाई सक्षम बनाउन गोजमुमोले आवश्यक भनेको विकासको आशा गर्नुपर्ने? दुई अगस्तको दिन जीटीए गठनको 4 वर्ष पूरा हुनेछ।
यस्तोमा के राज्य सरकारले रहेका विभागहरू जीटीएलाई हस्तान्तरण गर्ला? पौह्रो पीडितहरूले राहतसम्म पाउनबाट वञ्चित बनिरहेका पहाडबासीले विकासको मुख देख्न पाउलान्? फेरि, पहाडलाई नेतृत्व गरिरहेका राजनैतिक दल र नेताहरू आपस्तमा आरोप-प्रत्यारोप लगाउनमै व्यस्त छन्। अहिले फेरि  गोजमुमो समर्थित सांसद एसएस अहालुवालिया भर्खरै मात्र राज्य मन्त्री बनेका छन्। यही अवसरमा अहिले विपक्षी पार्टीहरूले उनलाई गोर्खाल्याण्डको मुद्दालाई अघि लगाउने सल्लाह दिइरहेका छन्। उसो भए के अब पहाडको विकास गरिने हो कि भारतभरि छरिएर बसेका नेपाली वा गोर्खालीहरूको अस्तित्व र चिन्हारी भनिँदै आइरहेको गोर्खाल्याण्ड? अहिले जनता थुप्रै प्रश्‍नै-प्रश्‍नहरूबीच रणभुल्लमा परिरहेका छन्।

देश विकास र सरोकार

मान्छे सधैँ समाजको समग्र विकास चाहिरहेका हुन्छन्। समृद्ध समाज निर्माणको कुरा गरिरहेका हुन्छन्। मान्छे सामाजिक प्राणी हुनुले समाजको समृद्धि र समग्र विकास हुनुपर्छ भनेर चाहनु कुनै आश्‍चर्यको विषय होइन पनि। आश्‍चर्यको विषय भनेको तर चाहेको त्यहि कुराबाट स्वयंलाई वञ्चित राखिनु भन्ने हुन्छ। हामी अथवा मानव समाज ठीक त्यस्तै-त्यस्तै देखिन्छ।
‘समाजको विकास कतिबेला हुन्छ?’ हामी स्वयंले स्वयंलाई यो प्रश्‍न गरे ‘जतिबेला हामी आफैले आफैलाई सहयोग गर्नसक्छौं, जतिबेला हामी सिङ्गो समाज बन्नसक्छौं, जतिबेला समाज एउटा हुन्छ, जतिबेला हामी-हामीमा भेदभाव हुँदैन...’ यस्तै जवाब पाउन सकिएला। हामी जान्दछौं, जबसम्म समाजमा रहेका विभिन्न जात-जाति, साना-ठूला, धनी-गरीब, विभिन्न भाषा-भाषी सबै एक हुुँदैनौं तबसम्म समाजको उत्थान हुनसक्दैन, समाजको विकास हुनसक्दैन। जबसम्म हामी भावनात्मकरूपमा, वैचारिकरूपमा र व्यावहारिकरूपमा एकार्काको नजीक बन्नसक्दैनौं तबसम्म समाज समृद्ध बन्नसक्दैन। यतिकुराको ज्ञान भएरै पनि हामी तर त्यही कुुराबाट वञ्चित छौं। आश्‍चर्यको यो अर्को द्वार हो, जहाँबाट हामी बाहिर छिर्न सकिरहेका छैनौं। अथवा समाज त्यो द्वार छिरेर एउटा पर्खाललाई पछि छोड्न नसक्ने, खुम्चिरहेको अवस्थामा छ अझै पनि हाम्रो समाज।
राष्ट्रपिता महात्मा गान्धीले ‘देशको संस्कृति ती देशका मानिसहरूको हृदय र आत्मामा बसेको हुन्छ’ भनेका छन्। जबसम्म हामी संस्कार-संस्कृतिले एक हुनसक्दैनौं, तब के हामीले हाम्रो समृद्ध र विकसित समाजको कल्पना गर्नसकौंला? राष्ट्रपिता महात्मा गान्धी देशमा एकता चाहन्थे, शान्ति चाहन्थे, अहिंसा चाहन्थे, स्वाधिनतामा बाँचेको हेर्न चाहन्थे। त्यसैको निम्ति लडिरहे। अर्कोतिर, देशको संविधान निर्माता डा. भीमराव अम्बेडकर पनि देशमा शान्ति चाहन्थे, भाइचारा चाहन्थे, समानता चाहन्थे। देशमा जब एकता, अहिंसा, शान्ति, भाइचारा, समानता छाउछ, जब देश र देशवासी स्वाधिन रहन्छ तब विकास आफैआफ हुँदै जान्छ, आफै-आफ समृद्धि छाउँछ। महात्मा गान्धी र डा. भीमराव अम्बेडकरले देखेको सपना अथवा देशप्रतिको लक्ष्य-उद्देश्य पनि अन्ततः त्यहि नै हो। दुवैको उद्देश्य, दुवैको लक्ष्य वा दुवैको सपना अहिले कतिसम्म साकार हुँदैछ? सधैँ ‘अनेकतामा एकता’-को नारा गुञ्जिने धर्मनिरपेक्ष देशमा अहिले विभिन्न जात-जाति, विभिन्न धर्म-संस्कारका हामी साँच्चै ‘हामी’ सकिरहेका छौं?
देशको संविधानले देशका प्रत्येक नागरिकलाई आफ्नो भाषा, साहित्य, संस्कार, संस्कृति, परम्परासितै जातिको जगेडा गर्ने अधिकार दिएको छ। हाम्रो अधिकार नै तर हाम्रो बाधक बनिरहेको छैन? हामी प्रत्येकलाई आफ्नो जातिको संस्कार-संस्कृतिको सुरक्षा गर्ने अधिकार प्राप्छ, र सुरक्षा हुनु पनि पर्छ। हामीलाई आफ्नो भाषाको संरक्षण गर्ने अधिकार संविधानले नै दिएको छ, हामीले गर्नु पनि पर्छ। तर, जब कुरा समाज सुधारको आउँछ, देश विकासको हुन्छ अनि कुरा जब देशको एकता र अखण्डताको आउँछ त्यतिबेला हामी आफ्नो जाति, आफ्नो भाषा र आफ्नो संस्कृति-परम्परादेखि माथि उठ्नसक्नुपर्छ। समाज र देशको विकास र समृद्धिको सन्दर्भमा हामीले आफ्नो जाति र संस्कार दुवैलाई बिर्सनुपर्ने हुन्छ। त्यतिबेला सानो र ठूलो, धनी र गरीब भुुलेर एउटै मुट्ठी बन्नसक्नुपर्छ। संकुचित विचार-भाव र संकुचित व्यवहार हाम्रो निम्ति बाधक बन्नसक्छ। उदाहरणस्वरूप अहिले पहाडमा चलिरहेको बबोर्ड गठनकै विषयलाई हेर्नसकिन्छ। भर्खरै हामीले देशभरि संविधान निर्माताका रूपमा जानिने डा. भीमराव अम्बेडकर दिवस पालन गर्यौं, हामी कति सफल भयौं हाम्रो एकतामा यहाँ? सम्पूर्ण देशवासी चाहे उ तृणमूलस्तरका नागरिक होस चाहे माथिल्लो तहका, देशको संविधानले सबैसित उत्तिकै सरोकार राख्दछ। के प्रत्येक 14 अप्रेलको दिन हामी प्रत्येक देशवासीको मनमा यो भावना उजागर भइरहेको छ? अथवा हामी सधैँ यतिबेला एक हुनसकिरहेका छौं के? किनभने देशको समग्र विकास अनि समृद्दिमा यसकुरोले पनि सरोकार राख्दछ।

कुनै समय म बाटोमा थिएँ, अहिले त्यही बाटो मेरो इज्जत र पहिचान बनेको छ : अमर सुब्बा

-अर्जुन यावा, राङ्का

जीवनमा सफलता त्यसै हात लाग्दैन। महात्मा गान्धी, अब्दुल कलाम, थोमस एल्वा एडिसन  यस्ता धेरै सफल व्यक्तित्वहरूको नाम छन् जसले धेरै सङ्घर्षपछि मात्रै सफलताको सिखर चुमेका छन्। सङ्घर्ष तथा परिश्रमबिना प्राप्त कुनै पनि कुराको महत्व हुँदैन। त्यो आज पाएर भोलि गुमाउनु पनि पर्ने हुन्छ। न त त्यो पाउँदा हर्ष लाग्नसक्छ न त गुमाउँदा दुःख नै लाग्छ। सङ्घर्ष-परिश्रम गर्नेहरू यो जगतमा सँधै बाँचिरहने पक्कै होइनन्, तर उनको कृति, उनको कार्य अथवा उनले आफ्नो समाज, राज्य र देशप्रति पुर्याएको योगदानसितै उनी बाँचिरहेका हुन्छन्।
सिक्किमेली समाजमा अहिले लोकप्रिय बन्दै अग्रसर रहेको एउटा नाम हो म्याराथनम्यान अमर सुब्बा। हजूर, आदरणीय पाठकवृन्द धावक अमर सुब्बालाई तपाईंहरू धेरैले चिन्नुहुन्छ अनि धेरैले चिन्नुहुन्न। अमर सुब्बाले स्वयंलाई ‘म्याराथनम्यान’-को नामबाट परिचित गराएका छन्। यसको निम्ति उनले झण्डै 12 वर्षसम्म निरन्तर सङ्घर्ष गरेका थिए अनि 2012-मा आएर उनी ‘म्याराथनम्यान’ भनिन थालिए। उनी भन्छन्, ‘पहिले दुःखमा साथ दिनेहरू थिएनन्।’ निश्‍चिय मान्छेले जबसम्म आफ्नो पहिचान बनाएका हुँदैनन् तबसम्म उनीभित्रका उत्कट चाहना, इच्छा, सपना र दृढ सङ्कल्पहरूलाई पनि कसैले जानेका हुँदैनन्। तर जसले आफू एक्लो हुनुको पीडा, अभाव अनि समस्याहरूसित सङ्घर्ष गर्न जान्दछ, जीवनमा उ नै सफल बन्न सक्दछ। त्यसैले त अमर सुब्बालाई पनि आज ‘म्याराथनम्यान’ भनेर जानिन्छन् समाजमा। अर्थात ‘अमर सुब्बा’-को पर्याय बनेको छ ‘म्याराथनम्यान’, जसले सिक्किमलाई धेरै हदसम्म म्याराथनका लागि चिनाउन सकेका छन् अनि सिक्किममा म्याराथन चिनाउने काम गरेका छन्। आज समाजले माया गर्दछ म्याराथनम्यान अमर सुब्बालाई भनौं उनको सङ्घर्ष, उनको परिश्रम, उनको लगनलाई।
वर्ष 2012-मै ‘लिम्का बुक अफ रेकर्डस्’-मा आफ्नो नाम दर्ता गराउन सफल अमर सुब्बाको परिचय पनि वास्तवमै त्यहीदेखि समाजले पाउँदै गयो। 28 सितम्बर 1969-मा जन्मेका सुब्बाले ‘लिम्का बुक अफ रेकर्डस्’-मा रेकर्ड कायम गरेपछि उनी कहिल्यै पछि फर्कैनन्। निरन्तर अघि बढिरहे, बढिरहे। सफलता सधैं हात लाग्ने कुरो पक्कै होइन। कहिले सफलता त कहिले असफलताहरू पनि हात पर्नसक्छन्। तर, त्यस्ता असफलताहरू, साना बाधा र अड्चानहरूले उनलाई निरुत्साह कहिल्यै पारेन। सफलताको सिँडी उक्लिरहेका सुब्बाको रगतमै ‘खेल’ थियो भन्ने लाग्दछ कहिलेकाहिँ। यद्यपि, ‘डोकोमा दूग्ध कहिल्यै अडिन्न’ भन्ने बुझेका सुब्बाले परिश्रम गरे, सङ्घर्ष गरे। पूर्व सिक्किमको ताथङ्चेनमा जन्मेका सुब्बाका परिवार पछिबाट दराप, पश्‍चिम सिक्किममा स्थायीरूपमा बसोबासो गर्दै आइरहेका छन्।
पिता दिलबहादुर सुब्बा (स्व.) र माता भक्तमाया सुब्बाका सुपुत्र म्याराथनम्यान अमर सुब्बाले ताथङ्चेन हुँदादेखि नै आफ्ना पिताले फूटबल खेकेको हेर्दै आएका हुन्। त्यसैले उनले पनि फूटबल खेले, पछि क्रिकेट पनि खेले। सानैदेखि खेलकुदमा धेरै रुची राखेका सुब्बाले तर शिक्षा क्षेत्रमा आफैलाई अघि बढाउन सकेनन्। उनी भन्छन्, ‘त्यय समय मेरा पापा सिक्किम किङ टीमबाट फूटबल खेल्नुहुन्थ्यो। यो कुरा 1970-कै सशकको हो। मेरो जन्म ताथङ्चेनमा भएको हो। मेरो शिक्षाको शुरूवा पनि त्यहीँबाट भएको हो। त्यतिबेला ‘गार्ड्स स्कूल’ भनिन्थ्यो, सायद त्यही स्कूललाई अहिले ‘वेस्ट पोइण्ट स्कूल’ भनिन्छ। सिक्किम विलयपछि पापा बीएसएफमा भर्ना हुनुभएको थियो। त्यसैले पापा जहाँ-जहाँ पुग्नुभयो म पनि त्यहि- त्यहिँ पुगेँ अनि त्यहिँ-त्यहिँ शिक्षार्जन गरेँ।’
अमर सुब्बा आफ्ना पितासितै ताथङ्चेनदेखि गेजिङ स्कूल पुगे, पेलिङ स्कूल पुगे, त्यसपछि शिलोङ, बेङ्लोर, पञ्जाब जहाँजहाँ पुगे उनका पिता अमर सुब्बा पनि सँगै गए। उनका पिता पछि ‘इन्सपेक्टर’-को पदबाट अवकाशप्राप्त भएका हुन्। यस क्रममा पञ्जाबमा त उनले नोकरीसम्म पाएका थिए, तर भाग्यमा उनको नोकरी गर्ने  होइन एक असल र सफल म्याराथनम्यान बन्ने लेखेको थियो। त्यसैले त उनले हिमालको कठ्यशाङ्ग्रिने ठिहीदेखि समतलको उष्णताले पनि उनको उत्साहत, जोश, परिश्रमलाई छेक्न सकेन। उनी भन्छन्, ‘भाग्य हो या कर्म, कुनै समय म बाटोमा थिएँ, अहिले त्यही बाटो मेरो इज्जत र पहिचान बनेको छ।’
म्याराथनम्यान अमर सुब्बाले मात्रै 23 वर्षको उमेरमा विहाव गरे सुशिला सुब्बासित। 1992-मा विवाह गरेका सुब्बा दम्पतिका दुई सन्तान छन्, आकाश सुब्बा र आशिभ सुब्बा। ‘आशिभको अर्थ के हो?’ भन्ने मेरो छोटो प्रश्‍नको ठोटै उत्तरमा उनी भन्छन्, ‘म पहिलादेखि नै शिवजीको भक्त, त्यसैले आशिभ राखिदिएँ छोराको नाम।’
‘तपाईं म्याराथनम्यान भनेर चिनिनु भएको छ। म्याराथनका समय जीवनमा बिर्सनु नसकिने केही घटना छ?’ भन्ने प्रश्‍नमा उनी भन्छन्, ‘2012-मा जब म लिम्बुक अफ रेकर्ड’-का लागि दौडिरहेको थिएँ त्यो क्षणलाई सँधै सम्झिने गर्छु। लिम्का बुक् अफ रेकर्डका लागि सिक्किमदेखि कालेबुङ, दार्जीलिङ, सिलगढी, दुवर्सका विभिन्न क्षेत्र गरी 17 देखि 23 जनवरी 2012-मा दौड लगाएका त्यस क्षणलाई सम्झना गर्दै भन्छन् ‘त्यसै पनि जनवरीको चिसो अनि सन्दकफू जस्तो ठाउँ। 12 हजार फीटभन्दा माथिको उँचाइ, जहाँ ‘-10’ देखि ‘-15 डिग्री’-को मुटु नै कक्र्याउने चिसो। मलाई त दौड लगाइरहेकोले जाडोको महशुस भएन होला, तर मेरा ती तमाम शुभचिन्तकहरू बिहानको 6 बजीको चिसोमा मलाई पर्खेर बसेका थिए। त्यो म बिर्सन सक्दिन, किनभने मेरो निम्ति त्यो सबैभन्दा ठूलो सम्मान थियो, प्रेरणा थियो, आदर थियो।’ उनी अझ भन्छन्, ‘त्यस्तो चिसोमा पनि मलाई पर्खेर बस्नेहरूमध्ये कसैले सोधेका थिए मलाई ‘तपाईं अमर सुब्बा होइन?’ अनि मलाई प्रेरणा, प्रोत्साहनस्वरूप अङ्गालो हालेर आँखाबाट खसालेका थिए आँशु..., मेरो निम्ति त्यो भन्दा ठूलो श्रद्धा के हुन सक्छ? त्यो कहिल्यै भुल्नसक्दिन।’ यतिबेला गान्तोकको मुटुमा बसेर ‘फस्ट फ्लस’-को चुस्की र ‘गुड डे’-को स्वाद लिँदै मसित कुरा गरिरहेका म्याराथनम्यानको मुहारमा मेरा यी दुई नयनले 2012-को अमर सुब्बालाई देखिरहेका थिए।
आप्नो पिताको जागिरे जीवनसितै घरि पूर्व घरि पश्‍चिमतिर भौंतारिहिँडेका अमर सुब्बाले पहिले ‘जीवनमा के हुने? के गर्ने?’-को चिन्ता लिएका थिएनन्। उनी भन्छन्, ‘हामीले सत्य लुकाउनु हुँदैन। म पहिला धुम्रपान सेवन गर्थेँ, मदिरा सेवन पनि गर्थेँ। जीवनका लागि केही सोचेकै थिइन।’ तर, जतिबेला जीवन अर्थात सुन्दर भविष्यका लागि र यो समाजका लागि केही गर्नुपर्छ भन्ने उनको चेत खुल्यो, त्यो बेला निक्कै ढलो भइसकेको थियो। किनभने सानै उमेरमा विवाह गरिसकेका थिए। उनीसित पारिवारिक जिम्मेवारी थियो। तर भविष्य अनिश्‍चित नै। यति भएर पनि अमर सुब्बाले हार खाएनन्।
यतिबेला जीवनमा केही त गर्नैपर्छ भन्ने सोच बनाएका सुब्बालाई रुपियाँको खाँचो थियो, सम्पत्तिको आवश्यकता थियो। त्यसैले आफ्ना पितासित आफ्नौ पुर्ख्यौली जमीन मागे। उनका पिताले त्यसलाई ‘पुर्ख्यौली चिनो’ भनेर जमीन नदिएका भए अमर सुब्बाले त्यो जमीन बेच्न सक्ने थिएनन् अनि अमर सुब्बा आज ‘म्याराथनम्यान’ बन्ने थिएनन्। उनी भन्छन्, ‘म के गर्दैछु भन्ने पापालाई थाहा थिएन। म त बस केही बन्न चाहन्थेँ त्यो समय। तर मेरो जिन्दगीलाई अघि बढाउन मैले राखेको मेरो प्रस्तावलाई स्वीकार्नु भयो। यसरी मेरो सफलतामा पापाले पनि योगदान पुर्याउनु भएको छ।’
म्याराथन अथवा खेल गजतमा सुरक्षित ‘करियर’-सितै इज्जत, मान-सम्मान पनि छ भन्ने विश्‍वास राख्ने अमर सुब्बा ‘तपाईंले म्याराथनमा के पाउनु भयो र के चाहिँ गुमाउनु भयो त?’ भन्ने प्रश्‍नमा भन्छन्, ‘के गुमाएँ र के पाएँ..! यो राम्रो प्रश्‍न गर्नुभयो’ भन्दै ‘उसो त धेरै कुरा अघिबाटै गरिसकियो यहाँ। यसमा गुमाएका कुराहरू पनि भए जस्तै पापाले पुर्ख्यौली जमीन नदिनु भएको हो भने त्यो जमीन आज हुन पनि सक्थ्यो अनि नहुन पनि सक्थ्यो।’ भन्छन्। उनी अझ भन्छन्, ‘अघि भनेको थिएँ ‘पहिले बाटोमा थिएँ म, अहिले त्यो बाटो नै मेरो परिचय बनेको छ’, यसले गर्दा यो समाज, यो राज्य, यो देशले नै मलाई माया दिएको छ, इज्जत दिएको छ। सबैभन्दा ठूलो तर मैले एकजना नकारात्मक विचार भएको, नकरात्मक व्यवहार भएको अमर सुब्बालाई गुमाएको छु अनि सकारात्मक विचार भएको अमर सुब्बा पाएको छु।’ सकिन लागेको ‘फस्ट फ्लस’-को सुरुपसितै मलाई हेर्दै उनी, स्वयंलाई ‘सफल’ मात्रै होइन एक ‘असल’ म्याराथनम्यान बनाउन चाहने बताउँछन्।
सफलताको श्रेय दिनपरे कस-कसलाई सम्झनुहुन्छ यतिबेला भन्ने मेरो प्रश्‍नमा उनी भन्छन्, ‘सप्पैको नाउँ लिएर सकिन्न। हजारौं छन्। विभिन्न सङ्घ-संस्था छन्, विभागीय अधिकारीहरू छन्, सरकार छ। सरकारद्वारा त मलाई राज्य दिवसमा खेल सम्मानले नै प्रोत्साहित गरेको छ। धेरै छन्।’ युवा खेलाडीहरूलाई सन्देशस्वरूप उनी भन्छन्, ‘खेलकुदले मानव मस्तिष्कसितै शरीरलाई स्वस्थ राख्छ। यसमा इज्जत छ, सम्मान छ। यसमा ‘करियर’ छ। त्यसैले कुनै पनि खेल क्षेत्रलाई अप्नाउनु राम्रो हो। एक असल र सफल खेलाडी बन्नलाई हामीमा इमान्दारी, मेहेनत र लगनशीलता हुन जरुरी छ’, उनी भन्छन्।
स्मरणीय, म्याराथनम्यान सुब्बाले लिम्का बुक अफ रेकर्डस्मा नाम गर्दा गराउन सफल बनेपछि धेरैवटा प्रतियोगिताहरूमा भाग लिए अनि सफलताहरू हात पार्दै गए। उनले 2012-मा ‘एयरटेल हैदरबाद म्याराथन’-मा 42 किलोमिटरको दूरूत्व सफलतापूर्वक पूरा गरेका थिए भने 2012-मै ‘अल इण्डिया अल्ट्रा म्याराथन बङ्गलोर’-मा 100 किलोमिटरको दूरुद्व पूरा गर्दै 10औं स्थानमा आउन सफल बनेका थिए। यसरी नै नोभेम्बर 2014-मा 6010 मिटरको ‘माउण्ट तिङजिङखाङ सिक्किम हिमालय’-को आरोहण गरेका थिए भने 2014-मै बङ्लोरमा सम्पन्न ‘अल इण्डिया 12 आवर स्टेडियम म्याराथन च्यालेञ्ज’-मा 96 किलोमिटरको दूरी पूरा गर्दै तेस्रो स्थानमा आउन सफल बनेका थिए। 2015-मा उनी महाराष्ट्रमा सम्पन्न ‘रगेडियन अब्सटेकल्स् रेस’-का विजेता हुन् भने 2016-मा मात्रै उनी ‘अल इण्डिया 12 आवर स्टेडियम म्याराथन च्यालेञ्ज’-मा 95.6 किलोमिटरको दूरी पूरा गर्दै पाँचौं स्थानमा आएका छन्। अहिले पनि उनी यस्तै धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूका निम्ति तयारीमा व्यस्त छन्। म्याराथनम्यान अमर सुब्बालाई सँधै सफलताको कामना।-19.07.2016 (20 जनवरी 2016-को समय दैनिकबाट।)

निलकमलको मनका भावनाहरू

-अर्जुन यावा, राङ्का

भौगोलिकरूपमा हेरिँदा राङ्का राज्यको राजधानी गान्तोकको काखैमा छ। राजधानीको नजिकमा रहेको राङ्का तर नेपाली साहित्यको सूचिमा धेरै पछि परिरहेको लाग्ग। 1980-81 तिरै ‘शीतका थोपाहरू’ प्रकाशित तीनजनाको सामुहिक कविता सङ्ग्रभन्दा अघि-पछि पनि पत्र-पत्रिका र कविता सङ्ग्रह प्रकाशित भएका थिए भन्ने धेरैले बताउने गरेका छन्। तर, ती पत्रिकाहरू अथवा कृतिहरू अझै खोजेर निकाल्नु छ। 1980 देखि 2000 बीचमा धेर-थोर काम भएका छन्। कृतिहरू प्रकाशित छन्। 2000 पछि भने नेपाली साहित्यमा राङ्कालाई निकै अग्रसर देखिन्छ। गुणात्मकताको दृष्टिले यस भेकले अझै निक्कै पहाड चड्नुपर्ने भए पनि थोरैमा प्रयास त गरिरहेकै छ, भन्ने लागेको छ। यस भेगबाट प्रकाशित पहिलो कृति कुन हो, त्यो निश्‍चितरूपमा भन्न नसकिने  भए पनि अहिलेसम्मकै नवीन कृति हो युवा कवि निलकमल छेत्रीको ‘मनका भावनाहरू’।
युवा कवि निलकमलसित मेरो प्रत्यक्ष भेट भएको मलाई थाहा थिएन। अर्थात मैले उनलाई चिनेको थिइँन। एउटा गाउँ अर्था तल्लो र माथिल्लो गाउँ। म बर्बिङ वार्ड, निलकमल बलिमान वार्डका। स्कूल एउटा, अर्थात राङ्का उच्चमाध्यमिक स्कूल। जतिबेला हामी थियौं, त्यो बेलाको माध्यमिक स्कूल। फरक- निलकमल र मबीच केही वर्ष अघि-पछि पढेका थियौं। 22 फरवरी 2016-को दिन फोनकल आएको थियो, भाइ निलकमल छेत्री रहेछन्। त्यसपछि परिचय र प्रत्यक्ष भेट भएको हाम्रो। कविता सङ्ग्रह प्रकाशनमा ल्याउने प्रायः तयारी भइसकेको रहेछ।
मैले सकेको र जानेको सुझाउ-सल्लाह दिएँ। भाइले गरेको पहिलो फोनकलको 40 मिनटपछि हाम्रो भेट भएको थियो। 2005-मा आफ्नो पहिलो कृति ‘अस्तित्व’ कथा सङ्ग्रह निकाल्ने जुन असीमित इच्छा थियो मसित, ठीक निलकमल भाइमा त्यही थियो। कथा सङ्ग्रह निकाल्नअघि भूमिका लेखिदिनेको मसित जुन खड़ेरी थियो, भाइ निलकमलमा झण्डै त्यस्तै। त्योबेला बरु भूमिकै लेखाउँदिन सम्झेँ, अनि लेखाइन पनि। फरक- मेरो कृतिमाथि भूमिका लेखिदिने फुर्सद नहुनेहरू धेरै थिए, भाइ निलकमलको भूमिका कै पहिलो अनुरोधलाई त्यही फुर्सदको अभावमा मैले भाइलाई टार्नु भनेको 2005-को म हुनु जस्तै लाग्यो। त्यसैले भूमिका लेख्ने कुरालाई थोरै पर सारेर शुभेच्छा संदेशसम्म लेखिदिउँला भनेँ। कविता कस्तो लाग्छ, त्यतिकुरासम्म लेखिदिने विचार मभित्र थियो। शान्तवनाका शब्दहरूमा यति कुरा भने भाइ निलकमललाई। उनको मनोसाय पनि त्यस्तै-त्यस्तै बुझेँ।
पुस्तक निस्कियो। कवि निलकमलको एउटा सपना पूरा भएको छ। त्यसैले यतिबेला खुशीको कुनै सीमा थिएन। 13 जुलाई 2016-को दिन नेपाली साहित्य परिषद, सिक्किमद्वारा आयोजित भानु जयन्तीको अवसरमा मनन केन्द्रमा अन्य कृतिहरूसितै निलकमल छेत्रीको ‘मनका भावनाहरू’ पनि लोकार्पित भयो। अर्था लोकलाई अर्पण। लोक अर्थात ‘मनका भावनाहरू’ कविता सङ्ग्रह अब उनको रहेन। यो त नेपाली साहित्य समाजको भयो। यसलाई कस्लो कसरी हेर्ने र लिने हो त्यो तपाईंहरूसितै छ। अहिले उनका कविताहरू कस्ता छन् त्यतिमात्रै लेख्ने प्रयास गरिरहेको छु, नितान्त मेरो विचार।
कविता के हो? सबैले आ-आफ्नै परिभाषा दिएका छन्। अहिले कवि निलकमल भाइका कविताहरूलाई हेरेपछि कविता मनका भावहरू व्यक्त गर्ने असल र सहज माध्यम हो जस्तो लाग्छ। उसो त साहित्यकै सबैभन्दा विकसित विधा भनेर जान्न सकिन्छ कवितालाई। अहिले कवितामा कला र शिल्प हुनुपर्छ भन्छन् अहिले धेरै। कवितामा कवि निलकमलका भावपक्षलाई मात्रै सर्सर्ती हेर्ने विचार गरेँ। मलाई लागेकोभन्दा कवि निलकमलका कविताहरू तपाईंलाई निश्‍चय फरक लाग्न सक्छन्। तपाईंका विचारमा उनका कविताहरू कस्ता छन्? त्यो तपाईंहरूकै जिम्मा नि, हुन्छ?
यहाँ मलाई लागेका कुराहरू केही कवितांश उदाहरणसितै -
कवि निलकमलले पहिलो कविता संग्रहको नामै राखिदिएका छन् मनका भावनाहरू। यहाँबाट पनि प्रष्ट हुन्छ, उनका कविताहरू उनीभित्र ओतप्रोत भावनाहरूकै परिणाम हुन्। त्यसैले लाग्छ, भाइ निलकमलले मनभित्रका कुरा-भावनाहरूलाई कविता बनाएर पाठकसमक्ष राखिदिइसकेपछि पाठकवर्गले उनलाई सहजै बुज्नसक्नेछन्। कवितामा कला र शिल्पसितै विचार भइदिएका भए कविताले भन्न चाहेका कुराहरू बुझ्न थोरै परिश्रम अवश्य गर्नुपर्ने हुन्थ्यो। विचारभन्दा कविले आफ्ना भावना-हरू नै राखिदिन रुचाएका छन्। त्यसैले उनका कविताहरू सरल, सहज छन् अनि छन् सामान्य कुराहरू, सामान्य विषयवस्तु। उनका कविताहरूमा पाइने मूल स्वर भनेको सामाजिक पक्षहरू नै हुन्। माया-ममता, दुःख-वेदना, पीडा-व्यथा, जातीय चेत, माटोको माया, संस्कृति संरक्षण, प्रकृति प्रेम आदि निलकमलका कविताहरूमा पाउन सकिन्छ। कवितालाई तर उनी मनका भावनाहरू मात्रै मान्दैनन्। कवितालाई उनी जीवनको आधार पनि स्वीकार्छन् कवितामै। त्यसैले कविताको पुकार शीर्षक कवितामा उनी भन्छन्-
कविता नै जीवन जिउने आधार जस्तो लाग्छ मलाई यहाँ !!
माया-प्रेम प्राकृतिक छ। धेरैले कविता लेखन त्यहीबाट शुरू गरेको पाउन सकिन्छ। कवि निलकमलका कविताहरूमा पनि यी कुराहरू प्रशस्तै पाउनसकिन्छ। धेरै तर वेदनाले पोलेको पाइन्छ उनलाई। उपहार कवितामा त्यस्तै भाव हेरौं उदाहरण-
जब यस संसारबाट बिदा लिने समय आउँछ
तब यो बाँकी जीवन पनि उपहार छ तिमीलाई !!
कवि निलकमल माटोको माया छ, संस्कृतिको चेत पनि छ। जातीय चिन्हारी, अस्तित्व र  अस्मिताको निम्ति वर्षौंदेखि दार्जीलिङ पहाडबाट लड्दै आइरहेको छुट्टै राज्यको लडाईंले कवि निलकमललाई पनि छोएको छ। त्यसैले त उनी लेख्छन्-
गोर्खाली हौं गोर्खाली हामी सब एक हौ गोर्खाली
छुट्ने छैन साथ हार्मो जन्म जन्मको छ नाता हाम्रो!!  -(गोर्खाली हौं हामी)
गोर्खाली अथवा नेपाली विश्वमा वीर जाती भनेर चिनिएको जाती। कस्तै आपद परेपनि कहिल्यै पछि सर्दैनन् भन्छन् उनी कवितामा यसरी-
छातिमा गोलि खानु परे पनि 
....तयार छौ हामी गोर्खाली।  -(गोर्खाली हौं हामी)-बाट। 
तर कहिले यसरी कोलम नारी हृदयलाई पनि छाम्न पुग्छन् कवि निलकमल। अनि छोरीप्रतिको समाजको भेदभावपूर्ण व्यवहारप्रति उनी व्यङ्ग गर्छन् कवितामा। संविधानले छोरा र छोरीलाई बराबरीको अधिकार दिएको छ। हामी सजिलै भनिदिन्छौं, छोरा र छोरी दुवै बराबरी हुन्। तर, के हाम्रो सोच, हाम्रो मन, हाम्रो व्यवहारमा पनि हामी त्यस्तै देखिन्छौं त? हामीसामु यो एउटा प्रश्न बनेर उभिएको छ। कवितामा कवि निलकमलको कलम कलिकै छ, तर समाजका हरेक विषयमा उनी सचेत छन्। समाजले खुल्लारूपमा छोरा र छोरीप्रतिको भेदभाव नगरेको भए पनि कहिँ न कहिँ व्यवहारले देखाइहरेको छ हामीभित्रको भाव। कविले त्यही कुरालाई दर्शाउने प्रयास गरेको पाइन्छ छोरी हुँ म हजूरहरू कै कवितामा। प्रश्न गर्छन् उनी कवितामा यसरी-
छोरी हुँ म हजूरहरू कै, फेरि किन गर्छन् मलाई हेला
घरको लक्ष्मी भन्छौ फेरि किन गर्छौ घृणा मलाई !!
कवितामा कतै जिन्दगीको परिभाषा दिन्छन् उनी, कतै जीवनप्रतिको दर्शनका कुराहरू पनि गर्छन्। त्यसैका उदाहरणस्वरूप हेर्न सकिन्छ जिन्दगी, जीवन आदि कविताहरू। उनका कविताहरू कतै गेयात्मक लाग्छन्। तिर्खा कविताको एक हरफ यस्तो छ-
कस्तो तिर्खा लाग्यो आज मलाई
तिर्शुलीको चिसो पानी पिउन् पाए हुन्थ्यो
बर्षौपछि यो मुटुमा एउटा घाउ भै सकेछ 
तिम्रै हाथले मलम लाउन पाए हुन्थ्यो !!
तर कविलाई कतै हतोत्साही देखिन्छ, जीवनप्रतिको मोहभङ्ग पो हो कि भन्ने लाग्छ कवितामा उनलाई। जीवनसित उनी निराश छन्। हारेका छन् जीवनसित उनी। कवितामा हेरौं उनलाई-
न खोज्नु है मलाई बसन्त ऋतुको हृयालिमा
म त उजाड मरुभूमिमा हराई सकेछु !!
नस्म्झिनु है मलाई कुनै खुसियालीमा
म त दु:ख र आँसुको सागरमा पो डुबी सकेछु !! न खोज्नु मलाई-बाट।
यति भएरै पनि फेरि उनीभित्र एउटा आशा त्यान्द्रो बाँचिरहेकै छ। त्यसैले उनी भन्छन्-
तिमी आउने आसैमा त्यो भीडमा पनि
तिमीलाई नै पर्खी रहेकोछु म !!  -(पर्खाइमा तिम्रो-बाट।)
कवितामा उनी आफ्ना मनका भावनाहरूसितै आत्मकथा पनि पोख्न चाहेका छन्। भावना तबसम्म बाँचिरहन्छ, जबसम्म स्वयं जीवित हुन्छौं। तर लेखिएका कुराहरू सँधैं बाँचिरहन्छ। त्यसैर त आफ्नै कथा लेख्न रुचाउँछन् कवितामा कतै उनी। अर्को शब्दमा, उनी कविता किन लेख्छन् भन्ने कुरा पनि उनका कविताले नै प्रस्ट्याएको पाउन सकिन्छ यसरी-
पोखी रहेछु आफ्नो कथा यो कवितामा
मनका केहि भावनाहरू कोरिदिएको छु यो कवितामा !!  -(मेरो आफ्नै कथा)
कवि कहिले कवितामा निक्कै गहिरिएका छन्। एकजना रोगीलाई उभ्याएर आफूभित्रको नास्तिक विचार यसरी पोखेका छन् उनले। कवितामा निखारता नदेखिए पनि विचारमा उनलाई पोख्त पाउन सकिन्छ।
पुछेर आँसु सकिन कहिले मनको मन्दिर जलेपछि
पुजेर ढुगा पाईन जीवन जिउनु रोगले भित्र भित्रै मारी सकेपछि !!  -(रोगीको आवाज)
कवि कहिले माया-प्रेमका कुरा गर्छन् अनि कहिले त्यही माया-प्रेम र विछोडको पीडा पोख्छन् कवितामा भने उनीभित्र देशप्रेमको भाव पनि उत्तिकै बाँचेको छ, अथवा देशप्रेमले उनी ओत-प्रोत छन्। त्यसैर त उनी सम्झन् शहीदको त्यागलाई अनि लेखिदिन्छन् कवितामा यसरी-
महान हुन ती जवानहरू, जो देशका निम्ति आफ्नो परिवरबाट टाडा छन्
महान हुन ती शहीदहरू, जसले यस देसको निम्ति आफ्नो प्राण त्यागेका छन!!  -(हाम्रा सहीदहरू)
कवितामा कतै भाइ निलकमल हताश छन्, कतै उत्साहित, जागरुक छन्। यसो भनौं, उनी समय र परिस्थितिसितै कविता लेख्छन् अर्थात लेखेका छन्। उनका कविताहरूमा पाउन सकिने सबैभन्दा सबल पक्ष मलाई लागेको उनी समाजप्रति चिन्तित छन्। समाजका हरेक स्थितिसित उनी नजिकमा छन्। अर्को कुरा समाजलाई हामीले केही त दिनै पर्छ भन्ने उनको चाहना कविताहरूले बोलिरहेको पाइन्छ। त्यसैले त्यसैले भाइ निलकमलले भविष्यमा अझ राम्रा-राम्रा कविता लेख्दैजानेछन्। पहिले कविता लेख्नु ‘रहर’ हुन्छ। रहरले नै कृति निकालिन्छ। ‘रहर’ पछि ‘कर’ बनिदिन्छ। यो कुरा भाइ निलकमलले पनि अहिले नै बुझ्नुपर्ने हुन्छ। 
अर्कोकुरा, साधनाले उनीसितै उनका कविताहरू पनि निखारिने कुरामा विश्वास राख्नुपर्छ। अध्ययनसितै लेखनमा निरन्तरता उत्तिकै आवश्यक हुन्छ। अध्ययन/साधनाबिनाको सिर्जना फिक्कै लाग्न सक्छन्। त्यसतो साहित्यबाट सायद समाजले केही पाउला कि नपाउला? विचार्नुपर्ने हुन्छ अनि साहित्य केको लागि र कसको लागि लेख्दैछु? भन्ने कुरामा पनि हामी अघिबाट सचेत रहनै पर्ला। कविता स्वतः समाजका लागि भइदिनु र समाजका लागि भनेर पूर्वयोजनामा लेखिनुले जुन दिशा पक्रँदछ कविताले पार्थक्य अवश्य पाउँछ समाजले त्यहाँ। कवि निलकमललाई पहिलो कृति मनका भावनाहरू-का लागि बधाई दिँदै भविष्यका लागि शुभकामना।-23.07.2016 (समय दैनिक)-बाट

Friday, July 8, 2016

दुइ साना कविता

-अर्जुन यावा

शान्ति

उ बिहानै पुगेर मन्दिर
गरेर पूजा फर्किन्छ घर
शान्तिको कामना गरेर।

उनकी श्रीमती-नानीले रातमा
पाउँदैनन् बस्न भनेजस्तो साथमा
कारण,
घर फर्किन्दा हुन्छ उ बेहोसमा।
शान्ति कहाँ छ हँ ...?
--- -31.03.2013


विचार

उ भन्दै हुन्छ बिहानै
एइ... सुन त!

आज स्कूल ब्याग पुर्याउ जानु सानुको
उ भन्दै हुन्छ मञ्चबाट दिउँसो
तपाईंहरू सबैले सुन्नुहोस्
देशलाई बालश्रममुक्त पार्ने हो भने
हामी स्वयं पहिला जागरूक हुनुपर्छ।

उ अझै भन्दै हुन्छ
तपाईंहरू यो पनि बुझ्नुहोस्
अहिलेदेखि नै हामी प्रण गरौं
अब बालश्रम र बाल शोषण हुनेछैन।

उ साझमा चिच्याउँदै हुन्छ
एइ काली!
तलाई स्कूल ब्याग पुऱ्याउनु जा भनेको थिइन मैले?
-31.03.2013

जिन्दगी

जिन्दगी हाँस्दा-हाँस्दा यहाँ
रोइरहेको देख्छु म त
जिन्दगी रुँदा-रुँदै पनि यहाँ
कतै हाँसेको पनि देख्छु म त
त्यही हसाई र रुवाइहरुमाँझ कतै
जिन्दगी अलमलिएको देख्छु म त
त्यही हँसाई र रुवाइमा फेरी कतै
जिन्दगी थकाई मार्न बसेको पनि देख्छु म त
हिज’ज किन हो कुन्नि
जिन्दगी यस्तै-यस्तै देख्छु म त॥

जीवन

मात्रै पानी त रहेछ
कुलो जस्तै, नदी र पानी,सागर जस्तै
बगिरहने निरन्तर कहाँ रोकिन्छ र आफै?

फरक त्यति रहेछ...
हामी देख्छौ-हेर्न सक्छौं
पानी ठोकिन्छ यताउति, ढुङगा-मूढाहुँदी
कहिले छचल्किन्छ किनारहुदो
नित्य तर बगिरहन्छ पानी
जीवन तर देखिँदैन त्यसरी
भोगाई पो रहेछ यो त।

ठोक्किनु त्यसरी नै ठोक्किदो छ
छचल्काई उस्तै अनि
बगाई जीवनको पनि त निरन्तर छ
तर देख्दैनौं हामी।

पानी त्यो कुल्लो खोल्सा र नदी-सागर हुँदै
महासागरमा मिल्न पुग्छ
अनि,जीवन....।

जीवन, यो इच्छा हो
आकाड्क्षा र सपना हो
दु:ख-सुख, आँसु र हाँसो हुँदै
अन्त्यमा जीवन
शून्यमा विलीन हुँदोरहेछ
नभए त यो जीवन
मात्रै पानी जस्तो त रहेछ, मात्रै पानी जस्तो॥
---000---

मन

कहिले दुखमा आतिन्छ यो मन
कहिले सुखमा रमाउछ यो मन
खैं; कस्तो-कस्तो छ, बुझ्नै नसक्ने यो मन।

दु:ख- सुखकै अर्को नाम ,जीवन
जीवन दुख-सुखकै त हो मिलन
भन्न खोज्छु यस्तै हुन्छ, तर.. बुझदैन एसै यो मन।

कहिले हिमाल चढ़छ यो मन
कहिले सागरमा डुब्छ यो मन
बुझुन खोज्छु आफै कहिले, तर... बस्दैन स्थिर यो मन।

कहिले बादलमा उड्छ यो मन
कहिले भत्भती पोल्छ आगो सरी
कहिले झरीमा रुझछ यो मन
बुझन खोजे धेरै चोटि, तर बुझ्न सकि न आफै यो मन।
---000---

मेरी मोना

1-
कुरा कहाँबाट केभनी कोट्याऊ?
मनमनै मनपराएकी मेरी मोनालिसा।
ल म यसै भनिदिन्छु तिमीलाई
गाउँमा सँगै खेल्थ्यौं हामी
उकाली-ओराली कति सँगै हिँड्यौं पनि
सायद तिमीले बिर्सिसक्यौ
गाउँ आजभोलि शून्य-शून्य लाग्छ तिमीबिना
मेरी मोना तिमीलाई त खबर पनि छैनहोला।
तिमी त आजभोलि...
व्यस्त शहरमा व्यस्त छौ’रे
चिल्ला कारमा हिँड़छ्यौ’रे
मखमलयुक्त कुर्सीमा बस्छ्यौ’रे
आजभोलि ‘लोरियल’-को लालि चढेको सुन्छु
तिम्रो रूपमा ‘ऐस्वर्य’-कै जस्तो
छक्क पर्छु मोना, मेरी मोनै हो तिमी?
2-
‘ग्लोबलाइजेशन’ हुँदैछ भन्छन् आज
संसार ‘ग्लोबल भिलेज’ बन्दैछ’रे।
‘ग्रिन रिभोल्युशन’-को कुनै ‘इफ्याक्ट’ नपरेरै हो कि!
‘ग्लोबल वार्मिङ’-को प्रभाव हाम्रो गाउँले पनि झेल्नु पर्छ’रे।
दिल्ली, कोलकाता र मुम्बईको ‘हट टेम्परेचर’
यतै भोग्न पर्ने दिन आउँदैछ पनि भन्छन्।
मेरी मोना! ‘ग्लोबल वार्मिङ’-को हावाले कतै
तिमीलाई पनि ‘हट टेम्परेचर’-मा पार्यो कि...
आजभोलि ‘फेसबुक’-मा ‘अनलाइन’ पनि भेट्दिन
तिम्रो ‘प्रोफाइल’ पनि अप्डेट गरेकी छैनौ।
किन हो, तिम्रा कुनै सुन्दर तस्बीरलाई पनि
आजभोलि कसैले ‘लाइक’ गरेका छैनन्।
नयाँ ‘एकाउण्ट’-बाट ‘फ्रेण्ड एड’ गरेको थिएँ
‘कन्फर्म’ गर्नेसम्म समय पाइनौ सायद।
3-
आज-भोलि ‘ग्लोबल वार्मिङ’-को हावाले
गाउँमा ‘हट टेम्परेचर’ सिर्जना गर्न थालेको सुन्छु
‘ग्रिन रिभोल्युशन’-का लागि लगाइएका बिरुवाहरू
गाउँमा मर्दैछन् प्रतिदिन यहाँ
साँच्चै संसार ‘ग्लोबल भिलेज’ बन्दै त रै’छ
गाउँ बुढ़ाहरू, तन्नेरी-तरूनी सबै भेला गरी
समयमै सचेत गराउनु पर्छ, होसियार गाउँ...
‘हट टेम्परेचर’-ले गाउँलाई पनि ब्यस्त बनाउन सक्छ।
* * *
गान्तोक, 07.12.2012

प्रार्थनाहरूमा हाम्रो देश...

-अर्जुन ‘'यावा’
मन्दिरमा दिनको प्रथम उज्यालोसितै
शंख र घण्टी बज्छ/बज्दै आएको छ/बजिरहेछ
हो बज्नुपर्छ, बिर्सिइनु हुन्न।
पिँढीदर पिँढी मन्दिरमा शंख-घण्टी बजिरहेछ/बज्नुपर्छ
आरती, भजन, किर्तन हुनुपर्छ।
शान्ति, भाइचारा र एकताको
प्रार्थनामय दश औंला जोडिनुपर्छ
ऊँ मन्त्रोच्चारण हुनुपर्छ/ भइरहेछ
गीता र वेद पढिइन्दैछ/ पढिइनुपर्छ।
...
गुम्पामा प्रत्येक बिहान, मध्यान्न र साँझपख
ऊँ मने पेमे पद्मे हूँ-को उच्चारण भइरहेकै छ
108-माला जपिन्दै छन्/जपिनुपर्छ
हो, हरेक दिन माने घुमिइरहेकै छ/पर्छ
हरेक दिन ग्यालिङ बजिरहेछ/बज्नुपर्छ
शान्ति, भाइचारा, एकताको पाठ पढिनुपर्छ
बुद्धम, शरणम, गच्छामी- गाइनुपर्छ
प्रत्येक बिहान यहाँ पोस्तक पाठ गरिनुपर्छ।
...
गिर्जा घरहरूमा हरेक बिहान
पास्टर, फादर, ब्रदर र सिस्टरका ओंठहरू
प्रार्थनाका शब्दहरू गाउँछन्
वृद्धदेखि साना बालकसम्म
थाहा छैन, कहिलेदेखि पवित्र बाइबल पाठ गरिरहेछन्
शान्ति, शान्ति अनि शान्ति...
हे ईश्वर! गल्तिहरूमा हामी अज्ञानीलाई क्षमा देऊ
यहाँ एकता र अखण्डताको भावना सिर्जना गरिदेऊ।
...
हो, यहाँ हरेक बिहान, हरेक साझँ र हरेक दिन
मन्त्रोच्चारण हुन्छ/गरिन्छ यसरी नै शान्तिको
मनोकामना राखिन्छन् अनेकतामा एकताको।
हो यहाँ हरेक बिहान, हरेक साँझ, हरेक दिन
वेद पढिन्छ, पोस्तक पाठ हुन्छ, बाइबल र कुराण खोलिन्छन्
हो यही त हो हाम्रो महान देश
धर्महरूको देश/घर्मनिरपेक्षताको देश।
...
सायद भन्लान कसैले यहाँ,
गर्लान कसैले प्रश्न यहाँ
खै त देश यहाँ, खै त राष्ट्र यहाँ?
भन्लान कसैले यहाँ
प्रार्थनाहरूमा देशलाई खोज
एकता र अखण्डताको राष्ट्र खोज।
...
कसैले यदि प्रश्‍न गरे भनिदिने छौं हामी
'‘हे ईश्वर! हाम्रो राष्ट्रप्रति कृपा गर’- होइन
‘'हे ईश्वर! यी संयुक्त राज्यहरूप्रति कृपा गर’- जस्तै
देशलाई प्रार्थनाहरूमा टुक्राउनु पर्दैन, परेको छैन यहाँ।
...
हो, इतिहाँस घरिघरि दोहोरिने छैन यहाँ
कुनै शिखको आपदमा गुलाबसिंह चुप लाग्ने छैन
शिखहरू कसैको दुःखमा मुक दर्शक बन्ने छैनन् अब।
प्रार्थनाहरूमा नहराउने, यो हो धर्मनिरपेक्षताको देश
वेद-गीता, पोस्तक, कुराण र बाइबलसितै
‘इण्टिग्रेशन’-का कुराहरू खोजिहरनु पर्नेछैन अब।
* * *
20.11.2011, गान्तोक

हूरी

एउटा हुरीले
उडाएको होइन सपना।
त्यही एउटा हुरीले
भाँचिदियो हाँगा बर-पिपलको
सायद त्यसो पनि होइन होला।
त्यो हुरीले सायद
लुटिदियो हाम्रो
शितल छहारी बरू,
जहाँ रमाउँथ्यौ हामी
विद्यार्थी, शिक्षक-शिक्षिकासँगै।
पर्खौं है अब
फेरि नयाँ हाँगा र पात
होइन नि, बरू पर्खौं हामी
उस्तै शितलता यहाँ।
06.06.2014

मृत्यु

उमेर
यसरी ढल्दोरहेछ
आँखाकै सामुन्ने अहो!
मृत्यु देख्यौ कि तिमीले?

होइन मृत्यु कै नजिक आफैलाई।

एउटा
बूढो रुखलाई
यस्तै देखेका थिएनन्
मेरा पापा र कोपाहरूले
जुन रुखलाई आज म देखिरहेछु।
---000---

जेञ्जिङ

क्रमश
एक-एक पाइला
सार्दै सार्दै उँभो उँभो
चढिरहेथ्यो तेञ्जिङ।
कहाँ सोंचेकै थिए होलान त
एकदिन
टाकुरा त्यो
सगरमथाको टेक्नेछु भनेर
अहो! शिखर छुँदा थाहा पाएछन्
साथी सँगै हिँडेका
कहाँ रहेछन् त साथमा सबै त!
कसलाई नदुखला त मन
सँगै हिँडेका साथीको साथ छोडिदा?
तर
थाहा थियो तेञ्जिङलाई
साथ उसले कहाँ छोडेको हो त!
साथ त साथीहरूले पो
छाडेका थिए त संघर्षको।
त्यसैले
टाकुरा त्यो अग्लो
सिखर सगरमाथाको टेक्न
साथ दिन सकेनन् तेञ्जिङलाई।
विश्‍वास छ
उसको यात्रा
परिश्रम र संघर्षको
कहिले थाक्नेछैन तेञ्जिङ।-29.5.2014
---000---

हावा

अघिदेखि
कतै जानलाई
सडकछेउ उभिएको छु
पानी परिरहेछ झरर...र...र...
कुनै हुरी चलेको छैन
बिजुली-चट्याङ छैन
त्यसैर शान्त छ आज
भनौं म शान्त छु।
अस्तीपनि
उत्तरतिर जाँदा
यसरी नै पर्दैथियो पानी
पानीसितै बताश चलिरहेथ्यो
सडक बन्द भएथ्यो, रुख लडेर।

हिँजै फेरि
पूर्व फर्किएको
अझै दर्के पानी थियो
ठाउँ-ठाउँमा भत्किँदै थियो बाटो
पानीसँगै हुँरी चलिरहेको थियो
मनमा उस्तै हुँरी-बताश चलिरहेथ्यो
त्यसैर अशान्त थियो हिँजो
अशान्तै बनेको थियो अस्ती
भनौं म अशान्त थिएँ।
उफ्...!
कत्ति अशान्त हँ मन?
पानीसँगै चलेको हुरी जस्तै
चलिरहेको बताश जस्तै
बिजुली-चट्याङ जस्तै
हावा जस्तै
अशान्त।

आज उस्तै
परिरहेछ पानी एक तमाशले
झरर...र...र...
तर,
आज हुरी छैन पानीसित
चलेको छैन त्यस्तो बताश
मात्रै पानी परिरहेछ झरर... र.. र..
शान्त, शितल चलिरहेछ बरु शमीर
लाग्छ रमाइरहेछ प्रकृति
चारैतिर छाइरहेछ हरियाली
अनि मन?
मन पनि त्यस्तै छ
त्यस्तै शितल, शान्त, रमणीय छ।

त्यसैले
अघिदेखि नै
कतै जानलाई यहाँ
सडकछेउ उभिएको छु म
पानी यो थामिने पर्खाईमा।
कस्तोपट्यार लाग्दो हुन्छ नि पर्खाई?
कहिले सकिने हो? जस्तो।
होइन
यो पर्खाईमा तर
रमाइरहेछ आज मन
हुरी-बताश, बिजुली-चट्याङ
लाग्छ सबै शान्त छ आज।
--000

झन्डा

-1
धेरै अघिदेखि
लत्रिरहेको झन्डा
आज फरफरिरहेको देखेँ,
हावा चलेछ नि?
खै कताबाट हो...
कुन्नि?
थाहा भएन मलाई
तर हावा चलेको छ
त्यसैले त
धेरै पछि
घरको धुरीमा
फेरि झन्डा फहरिएको छ।

पोहोर-परारदेखि नै नफेरिएको झन्डा
पुरानो झन्डा आज फहरिँदै छ
फर.. फर.., फर् फर.., फर् फर..
फहरिँदै छ झन्डा
हो त हावा चलेकै हो।

सोंच्दैछु,
झन्डा जस्तै डन्ठी
डन्ठी झन्डा जस्तै
पुरानो भइसकेको होला
भइसकेको होला पुरानो
त्यो मक्किएको पनि होला
त्यसैले
भन्छन् सबै मलाई...,
झारिदेउ त्यो झन्डा
झन्डा पुरानो त्यो झारिदेउ
लगाई देउ नयाँ
बरू त्यो डन्ठी पनि फेरिदेउ
फेरिदेउ अर्को बलियो
ता कि जस्तै हावा चलेपनि
झन्डा जतिनै फहरिए पनि
नभाँचियोस
नझरोस
नलत्रियोस् भुँइमा झन्डा।

मन न हो...,
कहाँ मान्छ र झार्न
पुरानै भएपनि झन्डा
आखिर झन्डा हो
झन्डा मात्रै कहाँ हावामा फहरिने हो त?
यसले हावा कतातिर बगिरहेछ?
बताउने पनि त हो।
---

-2
झन्डा
आज फेरि फहरिँदैछ।

सँधैं झै हावासितै
झन्डा फेरि फहरिँदैछ।

तर हावा कताबाट आउँदैछ छ?
अहँ, मैले अनुमान लाउन सकिन।

झन्डा
हो झन्डा फहरिएको हेरेर
अनुमान लगाउन गाह्रै रहेछ
हावा कतातिरबाट बग्दैछ?

किनभने हावा
कतैबाट पनि आउन सक्दोरहेछ
अनि झन्डा
कतै पनि फहरिन सक्दोरहेछ।

हावा न हो
कुरा जस्तै त्यो
जता पनि बहकिँदो रहेछ/बग्दो रहेछ
वाहासितै झन्डा
जहिलै पनि फहरिनसक्दो रहेछ।

तर हावा
सँधैं सबैतिर
नरहँदो रहेछ एकनाशे
नबग्दो रहेछ एकैचोटी।

कहाँ विचारेको थिएँ त!

दिशा
आफ्नो-आफ्नै पनि हुँदोरहेछ हावाको
कहीँ वाहा चलिरहेको समय
कतै ठ्याम्मे नचल्न पनि सक्दोरहेछ।

त्यसैले झन्डा हेरेरमात्रै
हावा कता चल्दैछ
भन्न कहाँ सकिँदो रहेछ र?

यत्ति पक्का हो
आज फेरि चल्दैछ हावा
किन कि मेरो घरको धुरीमा
झन्डा फहरिँदैछ, सधैंझै
फर् फर, फर् फर, फर् फर...।
---

-3
थाहै नपाई
कत्तिबेला चल्यो हावा?

झन्डा
हेर त
डन्ठीबाटै उडाइलगेछ।

हावा त पक्कै आएछ नि,
कस्तो हुस्सु हँ म
हावा चलेको थाहै नपाउने!

यो झन्डा
वर्षौंदेखिको हो
आज कसरी झर्यो?

कसरी झर्यो झन्डा
मक्किएको छ डन्ठा भन्थे अरू
खोइ त
भाँचेको हावाले?

जस्ताको तस्तै डन्ठीबाट
कसरी उडायो हँ झन्डा?

झन्डा उडायो हावाले?

कि उडायो विस्वास मनबाट?
---000---

मलाई फूलजस्तै हुनुछैन

जत्तिनै राम्रो किन नहोस् फूल
मलाई फूल जस्तै हुन छैन।

किन..! सोध्नुहुन्छ?
पीडा फूलजस्तै हुनुको
हजूर जान्न चाहनुहुन्छ?

सोध्नुस...
फूलजस्तै
कोपिलाजस्तै
चिचिलाजस्तैहरूलाई,
जो प्रत्येकदिन बलाकृत छन्
पीडा फूलजस्तै हुनुको
पीडा कोपिलाजस्तै हुनुको
पीडा सुन्दर हुनुको
कस्तो हुन्छ हँ?

अग्लो चुचुरा हेर्दै
शान्तिको गीत गाउँदै
कञ्चनजङ्घाको काखमा
बसेको छ भन्छौं
महान देश भारत
अनि भन्छौैं
आमा हुन् भारत।

पवित्रताको नाम जोडेर
कञ्चनजङ्घाकै गीत गाउँछौं
सारे जहाँ से अच्छा
यहीँ बसेर गाउँछौं
जहाँ बग्छ टिस्टा-रङ्गी
भन्छौं हामी सबै
यहाँ बग्छ गङ्गा-यमुना र सरस्वती।

कञ्चनजङ्घाकै फेदमा
आमाकै काखमा
प्रत्येक दिन
प्रत्येक साँझ
प्रत्येक रात ...
आफ्नै बाबुसित
छोरी असुरक्षित भएपछि
आफ्नै मामासित
भान्जी शोषित भएपछि
आफ्नै शिक्षकसित
छात्रा असुरक्षित रहेपछि
म कसरी
फूलजस्तै हुनसकुला?

शोषित भएर
पीडित बनेर
कुनै समाचार पत्रको
हेडलाइन्मा आउनु छैन
त्यसैले मलाई फूलजस्तै हुनुछैन।

बरू
ढुङ्गा भइदिन्छु
चट्टान बनिदिन्छु
अझै काडा भइदिन्छु।

ढुङ्गालाई के थाहा
कुटिनुको पीडा?
चट्टानलाई के थाहा
तोडिनुको मर्म?
काँडालाई के थाहा
भाँचिनुको पीडा?
बनाइदेउ न धुलो नै
न दुख्छ ढुङ्गालाई, न त चट्टालाई नै!
सम्झ सम्झन्छौभने कठोर।
भाँचिनै देउन काँड़ालाई पनि
प्रतिउत्तरमा कम्सेकम
रगतपच्छे त पारिदिउँला बरु।
-17.06.2014 (भानु जयन्तीमा पाठ गरिएको)

म (कविता)

-अर्जुन  ‘'यावा’
सुसेलीदेउ तिमी
छाइदिन्छु शितलता म
थकाई मेट जति चहान्छौ तिमी,
यदि गर्छौं कुनै गल्ति भने
हुरी बनिदिन्छु तिमीलाई उड़ाउन म।

तिर्खा मेट तिमी
भरिदिन्छु अञ्जुली म
पिई रहनु जति चहान्छौ तिमी,
यदि गर्छौ फोहोर तिमी भने
नदी बनीदिन्छु तिमीलाई बगाउन म।

सल्काउ मलाई तिमी
जलिदिन्छु चुल्हाभरि म
तयार गर भान्सा जहिलै तिमी,
यदि गर्छौ डाहा तिमी भने
अग्नी भइदिन्छु तिमीलाई जलाइन म।

खोज मलाई तिमी
छरिदिन्छु शान्ति तनमनमा म
स्वर्ग यहीँ छ, किन खोज्नुपर्यो?
अन्याय, अत्याचार, अशान्ति यदि ल्याउँछौ भने
विनाशक बनिदिउँला, नठान कहिले कमजोर छु म।
-20 जनवरी, 2012

हावा

-अर्जुन यावा

अघिदेखि
कतै जानलाई
सडकछेउ उभिएको छु
पानी परिरहेछ झरर...र...र...
कुनै हुरी चलेको छैन
बिजुली-चट्याङ छैन
त्यसैर शान्त छ आज
भनौं म शान्त छु।
अस्तीपनि
उत्तरतिर जाँदा
यसरी नै पर्दैथियो पानी
पानीसितै बताश चलिरहेथ्यो
सडक बन्द भएथ्यो, रुख लडेर।
हिँजै फेरि
पूर्व फर्किएको
अझै दर्के पानी थियो
ठाउँ-ठाउँमा भत्किँदै थियो बाटो
पानीसँगै हुँरी चलिरहेको थियो
मनमा उस्तै हुँरी-बताश चलिरहेथ्यो
त्यसैर अशान्त थियो हिँजो
अशान्तै बनेको थियो अस्ती
भनौं म अशान्त थिएँ।

उफ्...!
कत्ति अशान्त हँ मन?
पानीसँगै चलेको हुरी जस्तै
चलिरहेको बताश जस्तै
बिजुली-चट्याङ जस्तै
हावा जस्तै
अशान्त।

आज उस्तै
परिरहेछ पानी एक तमाशले
झरर...र...र...
तर,
आज हुरी छैन पानीसित
चलेको छैन त्यस्तो बताश
मात्रै पानी परिरहेछ झरर... र.. र..
शान्त, शितल चलिरहेछ बरु शमीर
लाग्छ रमाइरहेछ प्रकृति
चारैतिर छाइरहेछ हरियाली
अनि मन?
मन पनि त्यस्तै छ
त्यस्तै शितल, शान्त, रमणीय छ।

त्यसैले
अघिदेखि नै
कतै जानलाई यहाँ
सडकछेउ उभिएको छु म
पानी यो थामिने पर्खाईमा।

कस्तो
पट्यार लाग्दो हुन्छ नि पर्खाई?
कहिले सकिने हो? जस्तो।
होइन
यो पर्खाईमा तर
रमाइरहेछ आज मन
हुरी-बताश, बिजुली-चट्याङ
लाग्छ सबै शान्त छ आज।
---000---

गाड़ी बिस्तार गुड़ाउनुहोला

गाड़ी बिस्तारै गुड़ाउनुहोला हजूर
सड़कमा
हामी डोको र कचिया बोक्नेहरू नि हिँड्छौं।

थाहा छ हामीलाई पनि
सड़कको
ओल्लो छेऊ
पल्लो छेऊ
र सड़कमाझ...
जताततै खाड़ल खाड़ल परेका छन्
थाहा छ।

खाड़लहरूमा
खाड़लहरूमा जमेका छन् पानी जताततै
हो
थाहा छ त्यो पनि।
तर..!
हिँड़ सड़कमा बाध्य छौं हजूर।
तपाईं
गर्मीमा एसीको शितल पाउन
अनि
हिउदको तातो हावासितै
ह्वात्तै एक्कैचोटी
नाक
मुख
आँखा र पूरै मुहार भनौं..,
शरीरै छोप्नेगरी आउने
धुलोबाट बाँच्न
कालो ऐना उठाएर
गुड़नुहुन्छ गाड़ीमा।
तपाईंलाई
न धुलोको डर
न हिलोको डर
न त त्यो सड़कका खाल्डाहरूको मैलो पानीले
छ्याप्पै
निथ्रुक्कै हुनेगरी भिजाउने डर
अनि
न त चिसो सिरेटोको
न त तातो ‘लू’- कै डर।
त्यसैले हजूर
सड़कमा गाड़ी गुड़ाउँदा
यत्ति बुज्नुहोला
सड़कमा गाड़ी मात्रै गुड्दैनन्।
सड़कमा
धुलो,
हिलो,
मैलो पानी,
चिसो रिसेटो
र तातो ‘लू’
मौसमानुसार सप्पै झेल्न बाध्य
चर्चरी कुर्कुच्चा फुटेकाहरू पनि
हिड़िरहेका हुन्छौं
डोको र कचियासितै
घाँस र दाउरा बोक्नेहरू नि
हिँड़िरहेका हुन्छौं।
नभए एत्ति बुझ्नुहोला
तपाईं आफ्ना पिता-पूर्खाले थन्क्याएको
काँटा, कोदालो, फ्याउरी र हलो बोकेर
असारमा खेत पस्न सक्नुहुन्छ?
पसिना ह्वास्स गनाउने
हाम्रो शरीरमा
तपाईंको गाड़ीले छ्यापिदिएको
पानी सहीदिउँला हामी
भन्नुस
तपाईंलाई आफ्नै शरीरको पसिना मन पर्छ के?
महाशय
गाड़ी बिस्तारै गुड़ाउनुहोला
सड़कमा,
डोको र कचिया बोक्ने हामी
चर्चरी कुर्कुच्चा चर्किएकाहरू पनि
त्यही सड़कमा हिँड़छौं।
---000---

अर्जुन यावा -13.04.2016, 12.28 राती

भाइ निलकमललाई बधाई र शुभकामना

22 फरवरी 2016-को दिन एउटा नयाँ नम्बरबाट आएको फोनकल रिसिभ गरेपछि थाहाँ भयो भाइ निलकमल छेत्री रहेछन्। कविता सङ्ग्रह प्रकाशन गर्ने प्रायः तयारी भइसकेको रहेछ। मैले भूमिका लेख्दिनुपर्ने। इम्मानुएल गिफ्ट दाईले देखाइपठाउनुभएछ मलाई। फोनमै भने, भूमिका लेख्नु खेलाईची कुरा कहाँ होर. .. ! म भूमिका लेख्नसक्ने भएको छुइन।त्यसो भनेर भाइको पहिलो आशालाई मैले मार्नु भएको थिएन। भेटेर कुरा गरौं न भने।
---
फोनकलको 40 मिनटपछि हाम्रो भेटभयो।
2005-मा पुस्तक आफ्नो पुस्तक निकाल्ने जुन असीमित इच्छा थियो, ठीक निलकमल भाइमा त्यही थियो। कथा सङ्ग्रह निकाल्नअघि भूमिका लेखिदिनेको मसित जुन खड़ेरी थियो, भाइ निलकमलमा झण्डै त्यस्तै। त्योबेला बरु भूमिकै लेखाउँदिन सम्झेँ, अनि लेखाइन पनि। मेरो कृतिमाथि भूमिका लेखिदिने फुर्सद नहुनेहरू धेरै थिए, भाइ निलकमलको भूमिका कै पहिलो अनुरोधलाई त्यही फुर्सदको अभावमा मैले भाइलाई टार्नु भनेको 2005-को हुनु जस्तै लाग्यो। त्यसैले भूमिका लेख्ने कुरालाई थोरै पर सारेर शुभेच्छा संदेशसम्म लेखिदिउँला भनेँ। कविता कस्तो लाग्छ, त्यतिकुरासम्म लेखिदिने विचार मभित्र थियो। भाइको मनोशाय पनि त्यस्तै-त्यस्तै बुझेँ। 1 मार्चको दिन भाइको दोस्रोपटक फोनकल आयो। कविताहरू हेर्दैछु, लेखेको केही छुइन। लेखेर भन्छु नि ल...।भनेपछि बल्ल आज 3 मार्चको दिन लेख्नबसेँ।
---
कविता के हो? सबैले आ-आफ्नै परिभाषा दिएका छन्। अहिले कवि निलकमल भाइका कविताहरूलाई हेरेपछि कविता मनका भावहरू व्यक्त गर्ने असल र सहज माध्यम हो जस्तो लाग्छ। उसो त साहित्यकै सबैभन्दा विकसित विधा भनेर जान्न सकिन्छ कवितालाई। अहिले कवितामा कलाशिल्प हुनुपर्छ भन्छन् साथिहरू। कवितामा कवि निलकमलका भावपक्षलाई मात्रै सर्सर्ती हेर्ने विचार गरेँ। आफ्नो दुईवटासम्म कृतिमा भूमिका नै नलेखाउने आफ्नो विचारमा अडिग रहेको म आफै भूमिका लेख्ने योग्य नभएपछि कविताहरू कस्ता छन्? त्यो तपाईं पाठकहरूकै जिम्मा नि, हुन्छ?
---
यहाँ मलाई लागेका कुराहरू केही कवितांश उदाहरणसितै –
कवि निलकमलले पहिलो कविता संग्रहको नामै राखिदिएका छन् मनका भावनाहरू। यहाँबाट पनि प्रष्ट हुन्छ, उनका कविताहरू उनीभित्र ओतप्रोत भावनाहरूकै परिणाम हुन्। त्यसैले लाग्छ, भाइ निलकमलले मनभित्रका कुरा-भावनाहरूलाई कविता बनाएर पाठकसमक्ष राखिदिइसकेपछि पाठकवर्गले उनलाई सहजै बुज्नसक्नेछन्। कवितामा कला र शिल्पसितै विचार भइदिएका भए कविताले भन्न चाहेका कुराहरू बुझ्न थोरै परिश्रम अवश्य गर्नुपर्नेहुन्थ्यो। विचार भन्दा कविले आफ्ना भावना-हरू नै राखिदिन रुचाएका छन्। त्यसैले उनका कविताहरू सरल, सहज छन्, अनि छन् सामान्य कुराहरू, सामान्य विषयवस्तु। उनका कविताहरूमा पाइने मूल स्वर भनेको सामाजिक पक्षहरू नै हुन्। माया-ममता, दुःख-वेदना, पीड़ा-व्यथा, जातीय चेत, माटोको माया, संस्कृति संरक्षण, प्रकृति प्रेम आदि निलकमलका कविताहरूमा पाउन सकिन्छ। कवितालाई तर उनी मनका भावनाहरू मात्रै मान्दैनन्। कवितालाई उनी जीवनको आधार पनि स्वीकार्छन् कवितामै। त्यसैले कविताको पुकार शीर्षक कवितामा उनी भन्छन्-
कविता नै जीवन जिउने आधार जस्तो लाग्छ मलाई यहाँ !!
माया-प्रेम प्राकृति छ। धेरैले कविता लेखन त्यहीबाट शुरू गरेको पाउन सकिन्छ। कवि निलकमलका कविताहरूमा पनि यी कुराहरू प्रशस्तै पाउनसकिन्छ। धेरै तर वेदनाले पोलेको पाइन्छ उनलाई। उपहार कवितामा त्यस्तै भाव हेरौं उदाहरण-
जब यस संसारबाट बिदा लिने समय आउ
तब यो बाकी जीवन पनि उपहार छ तिमीलाई !!
कवि निलकमल माटोको माया छ, संस्कृतिको चेत पनि छ। जातीय चिन्हारी, अस्तित्व र  अस्मिताको निम्ति वर्षौंदेखि दार्जीलिङ पहाडबाट लड्दै आइरहेको छुट्टै राज्यको लड़ाईंले कवि निलकमललाई पनि छोएको छ। त्यसैले त उनी लेख्छन्-
गोर्खाली हौ गोर्खाली हामी सब एक हौ गोर्खाली
छुट्ने छैन साथ हार्मो जन्म जन्मको छ नाता हाम्रो !! (गोर्खाली हौ हामी)-बाट।
गोर्खाली अथवा नेपाली विश्वमा वीर जाती भनेर चिनिएको जाती। कस्तै आपद परेपनि कहिल्यै पछि सर्दैनन् भन्छन् उनी कवितामा यसरी-
छातिमा गोलि खानु परे पनि
....तयार छौ हामी गोर्खाली(गोर्खाली हौ हामी)-बाट।
तर कहिले यसरी कोलम नारी हृदयलाई पनि छाम्न पुग्छन् कवि निलकमल। अनि छोरीप्रतिको समाजको भेदभावपूर्ण व्यवहारप्रति उनी व्यङ्ग गर्छन् कवितामा। संविधानले छोरा र छोरीलाई बराबरीको अधिकार दिएको छ। हामी सजिलै भनिदिन्छ, छोरा र छोरी दुवै बराबरी हुन्। तर, के हाम्रो सोच, हाम्रो मन, हाम्रो व्यवहारमा पनि हामी त्यस्तै देखिन्छौं त? हामीसामु यो एउटा प्रश्न बनेर उभिएको छ। कवितामा कवि निलकमलको कलम कलिकै छ, तर समाजका हरेक विषयमा उनी सतेत छन्। समाजले खुल्लारूपमा छोरा र छोरीप्रतिको भेदभाव नगरेको भए पनि कहिँ न कहिँ व्यवहारले देखाइहरेको छ हामीभित्रको भाव। कविले त्यही कुरालाई दर्शाउने प्रयास गरेको पाइन्छ छोरी हु म हजूरहरू कैकवितामा। प्रश्न गर्छन् उनी कवितामा यसरी-
छोरी हुहजूरहरू कै, फेरि किन गर्छन मलाई हेला
घरको लक्ष्मी भन्छौ फेरि किन गर्छौ घृणा मलाई !!
कवितामा कतै जिन्दगीको परिभाषा दिन्छन् उनी, कतै जीवनप्रतिको दर्शनका कुराहरू पनि गर्छन्। त्यसैका उदाहरणस्वरूप हेर्न सकिन्छ जिन्दगी, जीवन आदि कविताहरू। उनका कविताहरू कतै गेयात्मक लाग्छन्। तिर्खा कविताको एक हरफ यस्तो छ-
कस्तो तिर्खा लाग्यो आजा मलाई
तिर्शुलीको चिसो पानी पिउन् पाए हुन्थ्यो
बर्षौपछि यो मुटुमा एउटा घाउ भै सकेछ
तिम्रै हाथले मलम लाउन पाए हुन्थ्यो !!
तर कविलाई कतै हतोत्साही देखिन्छ, जीवनप्रतिको मोहभङ्ग पो हो कि भन्ने लाग्छ कविता उनलाई। जीवनसित उनी निराश छन्। हारेका छन् जीवनसित उनी। कवितामा हेरौं उनलाई-
न खोज्नु है मलाई बसन्त ऋतुको हृयालिमा
म त उजाड मरुभूमिमा हराई सकेछु !!
नस्म्झिनु है मलाई कुनै खुसियालीमा
म त दु:ख र आँसुको सागरमा पो डुबी सकेछु !! न खोज्नु मलाई”-बाट।
यति भएरै पनि फेरि उनीभित्र एउटा आशा त्यान्द्रो बाँचिरहेकै छ। त्यसैले उनी भन्छन्-
तिमी आउने आसैमा त्यो भीडमा पनि
तिमीलाई नै पर्खी रहेकोछु म !! -पर्खाइमा तिम्रो”-बाट।
कवितामा उनी आफ्ना मनका भावनाहरूसितै आत्मकथा पनि पोख्न चाहेका छन्। भावना तबसम्म बाँचिरहन्छ, जबसम्म स्वयं जीवित हुन्छौं। तर लेखिएका कुराहरू सँधैं बाँचिरहन्छ। त्यसैर त आफ्नै कथा लेख्न रुचाउँछन् कवितामा कतै उनी। अर्को शब्दमा, उनी कविता किन लेख्छन् भन्ने कुरा पनि उनका कविताले नै प्रस्ट्याएको पाउन सकिन्छ यसरी-
पोखी रहेछु आफ्नो कथा यो कवितामा
मनका कहि भावनाहरू कोरिदिएको छु यो कवितामा !! -मेरो आफ्नै कथा”-बाट।
कवि कहिले कवितामा निक्कै गहिरिएका छन्। एकजना रोगीलाई उभ्याएर आफूभित्रको नास्तिक विचार यसरी पोखेका छन् उनले। कवितामा निखारता नदेखिए पनि विचारमा उनलाई पोख्त पाउन सकिन्छ।
पुछेर आँसु सकिन कहिले मनको मन्दिर जलेपछि
पुजेर ढुगा पाईन जीवन जिउनु रोगले भित्र भित्रै मारी सकेपछि !! रोगीको आवाज”-बाट।
कवि कहिले माया-प्रेमका कुरा गर्छन् अनि कहिले त्यही माया-प्रेम र विछोड़को पीड़ा पोख्छन् कवितामा भने उनीभित्र देशप्रेमको भाव पनि उत्तिकै बाँचेको छ, अथवा देशप्रेमले उनी ओत-प्रोत छन्। त्यसैर त उनी सम्झन् शहीदको त्यागलाई अनि लेखिदिन्छन् कवितामा यसरी-
महान हुन ती जवानहरू, जो देका निम्ति आफ्नो परिवरबाट टाडा छन
महान हुन ती शहीदहरू, जसले यस देसको निम्ति आफ्नो प्राण त्यागेका छन!! हाम्रा सहिदहरु-बाट।
भाइ निलकमलले भविष्यमा अझ राम्रा-राम्रा कविता लेख्दैजानेछन्। पहिले कविता लेख्नुरहरहुन्छ। रहरले नै कृति निकालिन्छ पनि। रहर पछि कर बनिदिन्छ। यो कुरा भाइ निलकमलले पनि अहिले नै बुझ्नुपर्नेहुन्छ। अर्कोकुरा, साधनाले उनीसितै उनका कविताहरू पनि निखारिने कुरामा विश्वास राख्नुपर्छ। अध्ययनसितै लेखनमा निरन्तरता उत्तिकै आवश्यक हुन्छ। कवि निलकमललाई पहिलो कृति मनका भावनाहरू-का लागि बधाई दिँदै भविष्यका लागि शुभकामना।
-अर्जुन यावा

03.03.2016
राङ्का