22 फरवरी 2016-को दिन एउटा नयाँ नम्बरबाट
आएको फोनकल रिसिभ गरेपछि थाहाँ भयो भाइ निलकमल छेत्री रहेछन्। कविता
सङ्ग्रह प्रकाशन गर्ने प्रायः तयारी भइसकेको रहेछ। मैले भूमिका लेख्दिनुपर्ने। इम्मानुएल
गिफ्ट दाईले देखाइपठाउनुभएछ मलाई। फोनमै भने, “भूमिका लेख्नु
खेलाईची कुरा कहाँ होर. .. ! म भूमिका लेख्नसक्ने भएको छुइन।” त्यसो भनेर भाइको पहिलो आशालाई मैले
मार्नु भएको थिएन। “भेटेर
कुरा गरौं न” भने।
---
फोनकलको 40 मिनटपछि हाम्रो भेटभयो।
2005-मा पुस्तक आफ्नो पुस्तक निकाल्ने
जुन असीमित इच्छा थियो, ठीक निलकमल भाइमा त्यही थियो। कथा सङ्ग्रह निकाल्नअघि भूमिका
लेखिदिनेको मसित जुन खड़ेरी थियो, भाइ निलकमलमा झण्डै त्यस्तै। त्योबेला “बरु भूमिकै लेखाउँदिन” सम्झेँ, अनि लेखाइन पनि। मेरो कृतिमाथि भूमिका
लेखिदिने फुर्सद नहुनेहरू धेरै थिए, भाइ निलकमलको भूमिका कै पहिलो अनुरोधलाई त्यही
फुर्सदको अभावमा मैले भाइलाई टार्नु भनेको 2005-को ‘म’ हुनु जस्तै लाग्यो। त्यसैले भूमिका लेख्ने कुरालाई थोरै पर सारेर शुभेच्छा
संदेशसम्म लेखिदिउँला भनेँ। कविता कस्तो लाग्छ, त्यतिकुरासम्म लेखिदिने विचार
मभित्र थियो। भाइको मनोशाय पनि त्यस्तै-त्यस्तै बुझेँ। 1 मार्चको दिन भाइको
दोस्रोपटक फोनकल आयो। “कविताहरू हेर्दैछु, लेखेको केही छुइन। लेखेर भन्छु नि
ल...।” भनेपछि बल्ल आज 3 मार्चको दिन लेख्नबसेँ।
---
कविता के हो? सबैले आ-आफ्नै परिभाषा दिएका छन्। अहिले कवि निलकमल भाइका कविताहरूलाई
हेरेपछि “कविता मनका भावहरू व्यक्त गर्ने असल र सहज माध्यम” हो जस्तो लाग्छ। उसो त साहित्यकै सबैभन्दा विकसित विधा भनेर जान्न सकिन्छ
कवितालाई। अहिले कवितामा “कला” र “शिल्प” हुनुपर्छ भन्छन् साथिहरू। कवितामा कवि निलकमलका भावपक्षलाई मात्रै सर्सर्ती
हेर्ने विचार गरेँ। आफ्नो दुईवटासम्म कृतिमा भूमिका नै नलेखाउने आफ्नो विचारमा
अडिग रहेको म आफै भूमिका लेख्ने योग्य नभएपछि कविताहरू कस्ता छन्? त्यो तपाईं पाठकहरूकै जिम्मा नि, हुन्छ?
---
यहाँ मलाई लागेका कुराहरू केही कवितांश
उदाहरणसितै –
कवि निलकमलले पहिलो कविता संग्रहको नामै
राखिदिएका छन् “मनका भावनाहरू”। यहाँबाट पनि
प्रष्ट हुन्छ, उनका कविताहरू उनीभित्र ओतप्रोत भावनाहरूकै परिणाम हुन्। त्यसैले
लाग्छ, भाइ निलकमलले मनभित्रका कुरा-भावनाहरूलाई कविता बनाएर पाठकसमक्ष
राखिदिइसकेपछि पाठकवर्गले उनलाई सहजै बुज्नसक्नेछन्। कवितामा कला र शिल्पसितै “विचार” भइदिएका भए कविताले भन्न चाहेका कुराहरू बुझ्न थोरै
परिश्रम अवश्य गर्नुपर्नेहुन्थ्यो। “विचार” भन्दा कविले आफ्ना “भावना”-हरू नै राखिदिन रुचाएका छन्। त्यसैले
उनका कविताहरू सरल, सहज छन्, अनि छन् सामान्य कुराहरू, सामान्य विषयवस्तु। उनका
कविताहरूमा पाइने मूल स्वर भनेको सामाजिक पक्षहरू नै हुन्। माया-ममता, दुःख-वेदना,
पीड़ा-व्यथा, जातीय चेत, माटोको माया, संस्कृति संरक्षण, प्रकृति प्रेम आदि
निलकमलका कविताहरूमा पाउन सकिन्छ। कवितालाई तर उनी “मनका भावनाहरू” मात्रै मान्दैनन्। कवितालाई उनी जीवनको आधार पनि स्वीकार्छन् कवितामै।
त्यसैले “कविताको पुकार” शीर्षक कवितामा
उनी भन्छन्-
कविता नै जीवन
जिउने आधार जस्तो लाग्छ मलाई यहाँ !!
माया-प्रेम प्राकृति छ। धेरैले कविता
लेखन त्यहीबाट शुरू गरेको पाउन सकिन्छ। कवि निलकमलका कविताहरूमा पनि यी कुराहरू
प्रशस्तै पाउनसकिन्छ। धेरै तर वेदनाले पोलेको पाइन्छ उनलाई। “उपहार” कवितामा त्यस्तै
भाव हेरौं उदाहरण-
जब यस संसारबाट
बिदा लिने समय आउँछ
तब यो बाँकी जीवन पनि उपहार छ तिमीलाई !!
कवि निलकमल माटोको माया छ, संस्कृतिको
चेत पनि छ। जातीय चिन्हारी, अस्तित्व र
अस्मिताको निम्ति वर्षौंदेखि दार्जीलिङ पहाडबाट लड्दै आइरहेको छुट्टै
राज्यको लड़ाईंले कवि निलकमललाई पनि छोएको छ। त्यसैले त उनी लेख्छन्-
गोर्खाली हौ
गोर्खाली हामी सब एक हौ गोर्खाली
छुट्ने छैन साथ
हार्मो जन्म जन्मको छ नाता हाम्रो !! (गोर्खाली
हौं हामी)-बाट।
गोर्खाली अथवा नेपाली विश्वमा वीर जाती
भनेर चिनिएको जाती। कस्तै आपद परेपनि कहिल्यै पछि सर्दैनन् भन्छन् उनी कवितामा
यसरी-
छातिमा गोलि खानु
परे पनि
....तयार छौ हामी गोर्खाली। (गोर्खाली हौं हामी)-बाट।
तर कहिले यसरी कोलम नारी हृदयलाई पनि
छाम्न पुग्छन् कवि निलकमल। अनि छोरीप्रतिको समाजको भेदभावपूर्ण व्यवहारप्रति उनी
व्यङ्ग गर्छन् कवितामा। संविधानले छोरा र छोरीलाई बराबरीको अधिकार दिएको छ। हामी
सजिलै भनिदिन्छ, छोरा र छोरी दुवै बराबरी हुन्। तर, के हाम्रो सोच, हाम्रो मन,
हाम्रो व्यवहारमा पनि हामी त्यस्तै देखिन्छौं त? हामीसामु यो एउटा
प्रश्न बनेर उभिएको छ। कवितामा कवि निलकमलको कलम कलिकै छ, तर समाजका हरेक विषयमा
उनी सतेत छन्। समाजले खुल्लारूपमा छोरा र छोरीप्रतिको भेदभाव नगरेको भए पनि कहिँ न
कहिँ व्यवहारले देखाइहरेको छ हामीभित्रको भाव। कविले त्यही कुरालाई दर्शाउने
प्रयास गरेको पाइन्छ “छोरी हुँ म हजूरहरू कै” कवितामा।
प्रश्न गर्छन् उनी कवितामा यसरी-
छोरी हुँ म हजूरहरू कै, फेरि किन गर्छन् मलाई हेला
घरको लक्ष्मी भन्छौ फेरि किन गर्छौ घृणा मलाई !!
कवितामा कतै जिन्दगीको परिभाषा दिन्छन्
उनी, कतै जीवनप्रतिको दर्शनका कुराहरू पनि गर्छन्। त्यसैका उदाहरणस्वरूप हेर्न
सकिन्छ “जिन्दगी”, “जीवन” आदि कविताहरू। उनका कविताहरू कतै गेयात्मक लाग्छन्। “तिर्खा” कविताको एक हरफ
यस्तो छ-
कस्तो तिर्खा
लाग्यो आजा मलाई
तिर्शुलीको चिसो पानी पिउन् पाए हुन्थ्यो
बर्षौपछि यो मुटुमा
एउटा घाउ भै सकेछ
तिम्रै हाथले मलम लाउन पाए हुन्थ्यो !!
तर कविलाई कतै हतोत्साही देखिन्छ, जीवनप्रतिको
मोहभङ्ग पो हो कि भन्ने लाग्छ कविता उनलाई। जीवनसित उनी निराश छन्। हारेका छन्
जीवनसित उनी। कवितामा हेरौं उनलाई-
न खोज्नु है मलाई
बसन्त ऋतुको हृयालिमा
म त उजाड मरुभूमिमा
हराई सकेछु !!
नस्म्झिनु है मलाई
कुनै खुसियालीमा
म त दु:ख र आँसुको
सागरमा पो डुबी सकेछु !! “न खोज्नु मलाई”-बाट।
यति भएरै पनि फेरि उनीभित्र एउटा आशा
त्यान्द्रो बाँचिरहेकै छ। त्यसैले उनी भन्छन्-
तिमी आउने आसैमा त्यो भीडमा पनि
तिमीलाई नै पर्खी
रहेकोछु म !! -“पर्खाइमा तिम्रो”-बाट।
कवितामा उनी आफ्ना मनका भावनाहरूसितै
आत्मकथा पनि पोख्न चाहेका छन्। भावना तबसम्म बाँचिरहन्छ, जबसम्म स्वयं जीवित
हुन्छौं। तर लेखिएका कुराहरू सँधैं बाँचिरहन्छ। त्यसैर त आफ्नै कथा लेख्न
रुचाउँछन् कवितामा कतै उनी। अर्को शब्दमा, उनी कविता किन लेख्छन् भन्ने कुरा पनि
उनका कविताले नै प्रस्ट्याएको पाउन सकिन्छ यसरी-
पोखी रहेछु आफ्नो
कथा यो कवितामा
मनका केहि भावनाहरू कोरिदिएको छु यो कवितामा !! -“मेरो आफ्नै कथा”-बाट।
कवि कहिले कवितामा निक्कै गहिरिएका छन्।
एकजना रोगीलाई उभ्याएर आफूभित्रको नास्तिक विचार यसरी पोखेका छन् उनले। कवितामा
निखारता नदेखिए पनि विचारमा उनलाई पोख्त पाउन सकिन्छ।
पुछेर आँसु सकिन कहिले
मनको मन्दिर जलेपछि
पुजेर ढुगा पाईन
जीवन जिउनु रोगले भित्र भित्रै मारी सकेपछि !! –“रोगीको आवाज”-बाट।
कवि कहिले माया-प्रेमका कुरा गर्छन् अनि
कहिले त्यही माया-प्रेम र विछोड़को पीड़ा पोख्छन् कवितामा भने उनीभित्र देशप्रेमको
भाव पनि उत्तिकै बाँचेको छ, अथवा देशप्रेमले उनी ओत-प्रोत छन्। त्यसैर त उनी
सम्झन् शहीदको त्यागलाई अनि लेखिदिन्छन् कवितामा यसरी-
महान हुन ती जवानहरू, जो
देशका निम्ति आफ्नो परिवरबाट टाडा छन्
महान हुन ती शहीदहरू, जसले यस देसको निम्ति आफ्नो प्राण त्यागेका छन!! – “हाम्रा सहिदहरु”-बाट।
भाइ निलकमलले भविष्यमा अझ राम्रा-राम्रा
कविता लेख्दैजानेछन्। पहिले कविता लेख्नु ‘रहर’ हुन्छ। रहरले नै कृति निकालिन्छ पनि। ‘रहर’ पछि ‘कर’ बनिदिन्छ। यो कुरा
भाइ निलकमलले पनि अहिले नै बुझ्नुपर्नेहुन्छ। अर्कोकुरा, साधनाले उनीसितै उनका
कविताहरू पनि निखारिने कुरामा विश्वास राख्नुपर्छ। अध्ययनसितै लेखनमा निरन्तरता
उत्तिकै आवश्यक हुन्छ। कवि निलकमललाई पहिलो कृति “मनका भावनाहरू”-का लागि बधाई दिँदै भविष्यका लागि शुभकामना।
-अर्जुन ‘यावा’
03.03.2016
राङ्का
No comments:
Post a Comment