Friday, July 8, 2016

‘नारी, समाज र समय’-मा लीला छेत्री

निबन्धकार लीला छेत्रीज्यूकृत ‘नारी, समाज र समय’ भर्खरै प्रकाशित भएको छ। यसै कृतिमाथि ‘समीक्षा’ गरिदिने अनुरोध थियो, मित्र बिजयज्यूको। यद्यपि, यहाँ समीक्षा, समालोचना वा निरुपण गर्ने आँट मैले गरिनँ। यसको निम्ति पहिला त स्वयं सम्बन्धित विषयमा पोख्त हुन जरुरी हुन्छ, साहित्यमा गहिरो दखल हुनु आवश्यक हुन्छ। अथवा यसका सैद्धान्तिक पक्षहरूको नाली-बेली केलाउन सक्ने ल्याकत आफूमा हुनुपर्छ। शब्द, वाक्य र त्यसका अर्थहरूको रौंचिरा गर्न अनि त्यसको निम्ति सिङ्गै कृतिको अध्ययनको पनि खाँचो हुन्छ। यी कुराहरूबाट धेरै पर छु म। त्यसैले यस कृतिभित्र परेका आधासरो लेख-निबन्धहरूलाई मेरो बाहिरी दृष्टिकोणले भ्याएसम्म केही टिपोट गर्ने प्रयासमात्र गरेको छु।
साहित्य जगतमा अघि बड्न ‘भानु’ जस्तो गरिमामय पत्रिकाका सम्पादक, साहित्यकार भवानी घिमिरेको औंला पक्रन पाउनु भएकी लीला छेत्रीले सुनाखरी साहित्यक पत्रिकाका सम्पादक-प्रकाशक विजय कटुवाल र प्रधान सम्पादक शशी लुमुम्बू, कवि-साहित्यकार वीरभद्र कार्कीढोलीदेखि नेपाली साहित्यका सिद्धाहस्त, विद्वत्व व्यक्तित्व साहित्यकार राजनारायण प्रधान अनि स्वयं साहित्यसित संलग्न रहनु-नरहनुको कुनै अर्थ नराखी सँधै प्रोत्साहन दिइरहनुहुने आफ्ना श्रीमान पदम छेत्रीको साथ पाउनु कै परिणाम मान्न सकिन्छ जस्तो लागेको छ ‘नारी, समाज र समय’, वहाँको ‘आफ्ना कुरा’ अनुसार।
अतः अहिले यति भन्न सकिन्छ कि, सिक्किमेली नेपाली साहित्यमा फेरि अर्को सशक्त नारी कमलले एउटा कृति जन्माएको छ ‘नारी, समाज र समय’ निबन्ध सङ्ग्रहको रूपमा। त्यसैपनि नारी कलमको कमी अनुभव गरिँदै गरेको समय, अझै निबन्ध विधामा निरन्तरताको अभाव झेली रहेको सिक्किमेली नेपाली साहित्य जगतमा यसरी एउटा दह्रो निबन्ध कृति जन्मनु हाम्रो निम्ति गर्वको विषय मान्नुपर्छ। पाश्‍चात्य साहित्यको योगदान मानिएको ‘निबन्ध’-लाई ‘आधुनिक गद्य’ भनिएको छ अथवा ‘आधुनिक गद्य’-को रूपमा स्वीकारिएको छ। यही ‘आधुनिक गद्य’-लाई आत्मसात गर्दै निबन्धकार लीला छेत्री सिक्किमेली नभनेर नेपाली साहित्यमा भन्न उचित होला, देखा पर्नुभएको छ ‘नारी, समाज र समय’ बोकेर।
आत्मापरक निबन्धका जनक फ्रान्सेली विचारक मोतेञले ‘म नै मेरा निबन्धहरूका विषय हुँ’ भने झैं निबन्धकार लीला छेत्री पूर्णरूपले यस परिभाषाभित्र पर्न नसक्नुहोला, तर आफैले देख्नुभएको, अनुभव गर्नुभएको र मनन् गर्गनुभएकै कुराहरू, विषयवस्तुहरूलाई नै टिपेर निबन्धका विषयहरू बनाउनु भएको छ। स्वयं एक नारी हुनुको बोध ‘नारी, समाज र समय’-भित्रका निबन्धहरूमा पनि परेको छ अथवा निबन्धका विषयहरू भइदिएको छ भन्न सकिन्छ। यसभित्र वर्तमान समयमा हाम्रै समाजभित्र हाम्रा नारीहरूको अवस्था के-कस्तो छ? के-कस्ता समस्याहरू झेल्नु परिरहेको छ? अनि समाधानका के-कतिसम्म उपायहरू छन् अनि ‘घरको भित्ता टाल्ने जात’ र ‘छोरीको जन्म हारेको कर्म’ जस्ता भनाइहरूमा मात्रै सीमित नरहेर नारीहरूले कतिसम्म प्रगति गरेका छन् भन्ने कुराहरूदेखि देशको नामलाई विश्‍वमा कसरी स्वर्ण अक्षरले सुसज्जित गराएका छन् भन्ने कुराहरू पनि वहाँले देखाउनु भएको छ थोरै भएपनि।
संविधानले नारी-पुरुष दुवैलाई बराबरको अधिकार छ भनिदिएरै मात्र व्यवहारमा बराबरी देखिन्न। हाम्रो समाजमा अझै पनि नारी-पुरुषबीच भेदभाव बाँचेकै छ। पूर्ण रूपमा नभएपनि ‘छोरालाई काखा, छोरीलाई पाखा’ जीवितै छ अझै हाम्रै आँखाहरूअघि। वर्तमानमा महिला शोषण तथा बलात्कार हाम्रो समाजको एउटा जटील समस्या भएको छ। बलात्कारको सन्दर्भमा यहाँ नारी-पुरुषमाझ आपस्तमा आरोप-प्रत्यारोप लगाइरहेको पाइन्छ। लेखिका लीला छेत्री यस्तै कुराहरूबाट अधिक प्रेरित पाइन्छ निबन्ध लेखनमा, जुन विषयमा वहाँ धेरै निबन्धमा घरिघरि दोहोरिनु भएको जस्तो लागेको छ। यस्ता घटनाहरूले वहाँलाई बिझाएको अवश्य छ, तर उत्ति आक्रोशत भने देखिन्न। बरु वहाँ यस्का कारणहरूको पछि घोरिनु हुन्छ र खोट पैल्याएर प्रश्‍न गर्नु हुन्छ यसरी -‘‘आफ्नो इच्छा सुविधाअनुसार उसले यस्तो लुगा लगाए पनि उसलाई बलात्कार गर्ने हक कसले दियो? कुन कानुनमा लेखिएको छ, छोटो लुगा लगाउनेहरूलाई बलात्कार गर्नुपर्छ भनेर? यसले त पहिरन पहिरिनेको होइन हेर्नेको मानसिक रोगको परिचय दिन्छ।’’-(पृष्ठ 11), अथवा लेखिका लिला छेत्रीले यहाँ समाजप्रति गतिलो प्रश्‍न तेर्स्याउनु भएको पाइन्छ भने कतै स्वयं एक नारी हुनुको कारण नारीहरूमाथि सहिष्णुुता अथवा अलिकति छुत दिइएको हो कि! जस्तो भान हुन्छ, भने ‘‘देहव्यापारसित संलग्न नारीहरूलाई माया गर्नुपर्छ’’ पनि भन्नुहुन्छ वहाँ। तर फेरि भन्नुहुन्छ -‘‘यदि कुनै युवतीले पैसाको निम्ति आफ्नो इज्जत बेच्न नचाहे दुनियाँको कुनै पुरुषले उसलाई किन्न सक्दैन।’’ अथवा एउटी नारी, एउटी युवती कुनै राम्रा-नराम्रा  कुराहरूसित संलग्न हुनुमा स्वयं उसैसित निर्भर रहने वहाँको विचार पाइन्छ।
समाजमा जब बलात्कार जस्तो जघन्य घटनाको कुरा उठ्छ, तब नारी अथवा युवातीहरूको पहिरन पनि एउटा कारक बन्ने प्रसंग उठिरहेको पाइन्छ। यसै सन्दर्भमा लेखिका छेत्री भन्नुहुन्छ -‘‘पहिरन भनेको व्यक्तिको इच्छा, स्वतन्त्रता र परिवेशमा भर पर्छ। वास्तवमा भूल परिहिनेको होइन तर दिमागमा उब्जने मैला मानसिक्ता हो।’’पृष्ठ-12। फेरि अर्को ठाउँ भन्नुहुन्छ -‘‘लुगाफाटा र पहिरनबाट पनि मान्छेको आचारण पत्ता लगाउन सकिन्छ।’’ पृष्ठ-43, यहाँ भने लेखिकाले ‘स्वयं नारी हूँ’-को भावना नराखी निष्पक्ष भई आफ्नो विचार व्यक्त गर्न चाहनु भएको पाइन्छ। यो कुरो पूर्ण स्वीकार्य भन्न उति नमिल्ला, तर लेखिका स्वयंको विचारमा पनि वैभिन्नता पाइन्छ।
हाम्रो समाजमा अझै पनि छोरा र छोरीमाझको भेदभाव बाँचिरहेकै छ। परम्परा नै बनिसकेको ‘काखा र पाखा’-को व्यवहारले छोडेको छैन हामीलाई। यस्ता सामाजिक विसंगति, लैंगिक असामान्ता, उँच-निच जस्ता भेदभावको कारक तत्व अशिक्षा नै हो भन्ने लेखिका लीला छेत्रीले विश्‍वास गर्नु भएको छ। उदाहरण -‘‘छोरीहरू छोराहरूभन्दा पढाइमा राम्रै भए पनि, परीक्षामा छोराहरूभन्दा राम्रो नम्बर ल्याए पनि उसको पढाइ रोकेर छोरीहरूको विवाह गरिदिन्छन्। यस्तो स्थिति गाउँमा मात्र होइन, स-सानो सहरतिर पनि यस्तै हुन्छ। बेसी जस्तो अशिक्षित परिवारमा यस्तो देखिन्छ।’’- (पृष्ठ 32)
यस्ता समस्याहरूबाट माथि उठ्न जबसम्म नारीहरू स्वयं अग्रसर हुँदैनन्, तबसस्म यहाँ केही हुँदैन। आफ्नो अधिकार, आफ्नो हीत र आफ्नो सुरक्षाको निम्ति नारीहरू स्वयं अघि बढ्नुपर्ने आह्वान गर्नुहुन्छ, नारीहरू आफै सशक्त हुनुपर्ने आह्वान गर्नुहुन्छ लीला छेत्री। वहाँ भन्नुहुन्छ -‘‘महिलाहरू चुप लागेर बस्ने समय छैन। महिलाहरू आफैं उठ्नुपर्छ, ताकि हाम्रो औकात सम्झाउनेहरूलाई हाम्रो सामर्थ्यको ज्ञात होस्।’’- (पृष्ठ 16)
यतिमात्रै होइन, नारीहरू आज शिक्षित छन्, जागरुक छन्। आफूमाथिको अन्याय-अत्याचारको विरोध गर्न सक्ने भएका छन् भन्नुहुन्छ अर्कोठाउँ लेखिका लीला छेत्री -‘‘आजकल समय बद्लिरहेको छ। केटीहरू आफूमाथि भएको अत्याचारको पूरा ताकत लगाएर आवाज उठाउन थालेका छन्। स्वतन्त्रता त पहिला पनि छियो। तर आज महिलाहरू आफ्नो कुरा निर्भय राख्छन्।’’ -(पृष्ठ12)।
136 पृष्ठको यो कृति ‘नारी, समाज र समय’-भित्र जम्मा 44 वटा लेख-निबन्ध रहेका छन् भने तीमध्ये धेरैजसो ‘सुनचरी’ समाचार पत्रमा वर्ष 2004-देखि पछि ‘समय दैनिक’ र ‘हिमालय दर्पण’-मा सायद वर्ष 2009-10 देखि यता छापिएकाहरू नै परेका छन्। अतः अलग-अलग समयमा यी लेख-निबन्धहरू लेखिएका कारण हुनसक्छ विचारमा मेल नखाएको जस्तो लाग्छ। जस्तै एकठाउँ भन्नु भएको छ -‘‘महिलाहरू शारीरिक एवमंं भावनात्मक रूपले पुरुषभन्दा कमजोर हुन्छन्।’’ -पृष्ठ 19, यहाँ शारीरिक एवं भावनात्मक दुवै रूपमा पुरुषभन्दा कमजोरै हुन्छन् भन्ने वहाँको अडान छ। अर्को ठाउँ फेरि वहाँले भन्नुभएको छ -‘‘आज समाजमा नारीहरूले अलग परिचय बनाइसकेका छन्। जीवनको कुनै पनि क्षेत्रमा स्त्री-पुरुष बराबर छन्। नारी शब्दको उच्चारण हुनासाथ हामी कुनै अवला, कमजोर मात्र नसम्झेर उसलाई शक्तिरूपी, सार्थक, जिम्मेवार, निडर भन्न सक्छौं।’’ -पृष्ठ 34, यहाँ नारीहरू अथवा महिलाहरू पनि निडर भइसकेका छन्, अवला छैन् अब भनेर समाजलाई चेतावनी दिइरहेको पनि बुझिन्छ। अतः यहाँ समसितै नारीहरूमा पनि आत्मविश्‍वासको घेरो फाँटिलो बनिरहेको छ भन्ने लेखिकामा विस्वास रहेको बुझ्न सकिन्छ।
समय सँधै एकनासे रहँदैन। समय परिवर्तन भन्नु नै मानव विचारमा परिवर्तन आउनु हो। अथवा मानव विचारले नै समय परिवर्तन गराउँछ। त्यसैले समाज परिवर्तन गराउँछ। जति समय परिवर्तन भयो अथवा विकसित बन्दै गयो उति हाम्रो परम्परा, हाम्रो संस्कृति, रीति-रिवाजमा पनि परिवर्तन देखापर्छ। हाम्रो जातित्व, अस्तित्व, अस्मिता यी कुरराहरूमै बाँचेको हुन्छ अनि त्यसले हामीलाई बचाइ राखेको हुन्छ। हामी जाति, धर्म र संस्कारको आधारमा जो भएपनि समग्रमा हामी भारतीय हौं भन्ने विचार लेखिकामा पाउँछौं। हाम्रो संस्कृति-परम्परा र रीति-रिवाज हामीले बिर्सिनु हुन्न, अपमान गर्नुहुन्न पनि भन्नुहुन्छ लेखिका यसरी -‘‘हामीले भारतीय संस्कृतिको अपमान गर्नु पनि हुँदैन। तर संस्कृतिको नाममा सँधै महिलाहरूमाथि शोषण गर्नुपनि उचित होइन।’’ अथवा देशमा कतिपय संस्कृतिको नाममा महिलाहरूमाथि अन्याय भइरहेको वहाँले खुलस्त पार्नु भएको छ, जो हामी प्रतिदिन समाचार पत्रहरूमा पढिरहेका छौं, टेलिभिजन समाचारहरूमा हेरिरहेका छौं।
लेखिका लीला छेत्रीलाई कतै भावनामा डुबुल्की मारिरहेको त कतै कुनै कथाकी पात्रा झैं डुलिरहेकी जस्तो पनि लाग्छ। जस्तै मलाई लागेको हरफ छ -‘‘सपनाहरू, इच्छाहरू काँचको घरझैं टुक्रिएर छरपस्ट हुन्छ’’, पृष्ठ-21। अर्को हरफ -‘‘शिवादेवी भन्छिन्- रक्सी पिउनाले विवाहको कुनै रीतिरिवाज हुन पाउँदैन थियो। बनिएको खाना खाने कोही हुँदैन थियो, किन भने जबसम्म पुरुषले खाँदैन, तबसम्म महिलाहरूले पनि खाँदैन थिए।’’
अतः लेखिका लीला छेत्रीले आफ्ना लेखहरूमा/आफ्ना निबन्धहरूमा मूलतः नारी उत्पीडन, नारी समस्या, बलात्कार, देहव्यापार अथवा समग्रमा नारी जातिलाई नै मूल आधार बनाएर विषय-वस्तु टिप्नुभएको पाइए तापनि समाजका हरेक साना-साना कुरारहरूलाई औल्याएर समाजलाई सुधार गर्नतिर अग्रसर पाइन्छ।
कृतिभित्र रहेका केही कमी-कमजोरीहरूको पनि उल्लेख गर्नै पर्ने हुनाले प्रयास गरेको छु। तर यसपटक स्वयं म गल्ति हुनपनि सक्छु। उसो त गल्ति हामी सबैबाट हुनेगर्छ। गल्तिबाटै हामीले सिक्नुपर्छ पनि भनिन्छ। यसै सन्दर्भमा भन्नुपर्दा, विशेष त साधारण व्याकरणिक त्रुटी देखिन्छ, जो सामान्य पनि हो। खासगरी वचन र लिङ्गमा छुटपुट त्रुटीहरू देखिन्छन्। जस्तै -‘‘प्रायःजसो पुरूष आफ्नो निम्ति कम्ती उमेरका केटीका चयन गर्न रुचाउँछन्।’’पृष्ठ-24
यहाँ पुरूष अथवा पु रू ष-को ठाउँमा पुरुष अथवा पु रु ष, पुलिङ्गा ह्रस्व अनि ‘चाहन्छ’मा ‘चाहन्छन्’ बहुवचन हुनुपर्ने जस्तो लागेको छ। अर्को कुरा, सिधै चाहन्छ वा चाहन्छन् भनेर ठोकुवा गर्न मिल्ला के? जस्तो लागेको छ। यसरी नै ‘‘आज जीवनको प्रत्येक क्षेत्रमा नारी पुरूषको बराबरीमा दौडिरहेछन्।’’-पृष्ठ 39-मा वचनलाई ध्यान दिनुपर्ने देखिन्छ।
कतै-कतै वाक्य निर्माण पनि शब्दहरू राख्दा ध्यान दिइनु पर्ने जस्तो लागेको छ। जस्तै ‘‘जोसँग तपाईंले आफ्नो भविष्यको जीवन बिताउनु छ।’’ -पृष्ठ 22, यहाँ ‘भविष्यको जीवन’ नभनेर ‘भविष्य’ मात्रै भनिदिँदा सजिलो हुनेथियो होला। अर्को वाक्य -‘‘आज जीवनको प्रत्येक क्षेत्रमा नारी पुरूषको बराबरीमा दौडिरहेछन्।’’-पृष्ठ 39-मा ‘जीवनको छेत्र’ भनेर खुलस्त नभएको जस्तो लाग्यो। (यसलाई ‘आज नारीहरू पनि प्रत्ये क्षेत्रमै पुरुषहरूसित काँधमा काँध मिलाउन सफल छन्’ भनिदिँदा सरल हुनेथियो जस्तो लाग्यो।)
यसरी नै अर्को वाक्य -‘‘सँधै त्यस्ता घरको परिवेशले घरका सदस्यहरूलाई खिचेर राख्छ।’’ पृष्ठ 66-मा ‘घर’ शब्द घरिघरि नदोहोरिएको भए अझै असल हुनेथियो। यद्यपि, लेखिका लीला छेत्रीका निबन्धहरू सरल-सहज भाषा शैलीका साथै क्लिष्ट शब्दहरूको प्रयोग नहुनु र गाँठो फुकाइरहनु पर्ने वाक्यहरू नहुनु सबल पक्ष रहेको पाइन्छ। कतिपय निबन्धहरू उपदेशात्मक लाग्छन्, जस्तै -‘नयाँ जीवनको सुरुवात’ निबन्ध। यद्यपि, ‘निबन्धमा लेखकले नितान्त आफ्नो विचार राख्नसक्ने’ भनिएपछि यस कुरोले निबन्धको धर्मिताबाहिर नगएको भन्न सकिएला।
भाषा र शब्दको कुरा गर्दा यहाँ ‘हिन्दी’ र ‘अङ्ग्रेजी’ शब्दहरूको पनि प्रशस्तै प्रयोग भएको पाइन्छ, जस्तै-आजकल, परफेक्ट, दर्द, एड्जसमेण्ट, रिटायर्ड, दुनियाँ आदि। यद्यपि, यस्ता शब्दहरू बोल्ती भाषामा प्रतिदिन प्रयोगमा आइरहेका हुनाले निबन्धहरू साधारण पाठकका निम्ति पनि सरल भइदिएको लाग्छ।
टङ्कनमा अथवा ‘प्रूफ रिडिङ’-मा पनि धेरै शब्दहरू छोडिएका छन्, जो खुबै ख्याल राख्नु पर्ने हुन्छ। यस्तो साना-साना शब्दहरूले कहिले काहीँ ठूलो गल्ति हुन जान्छ। यहाँ कुनै शब्दको गलत अर्थ लागेको जस्तो नलागे पनि ‘प्रूफ’-मा धेरै छुटेका छन्। जस्तै-‘गरिदिएको’ हुनुपर्नेमा ‘गदिदिएको’, ‘नानीहरूका लागि’ हुनुपर्नेमा ‘नानीहरूको लिगि’, ‘रियल लाइफ’ हुनुपर्नेमा ‘रिल लाइफ’, ‘मानसिक तनाव’ हुनुपर्नेमा ‘मनसिक नताव’ भएको छ। यस्ता साना-साना गल्तिहरू अझै छन्। यसका साथै कतिपय अनावश्यक हरफ अथाव प्याराग्राफ दिइएको छ। यद्यपि, यसलाई तक्निकीय गल्ति मान्नुपर्छ।
नारी शोषण, नारी अन्याय, बलात्कार, घरेलु हिंसा र महिला सशक्तिकरण नै वहाँका निबन्धहरूको मूल स्वर पाइन्छ। नारी र पुरुष दुवै सिङ्गो समाजका अभिन्न अंग हुन्। उही नारीले वर्तमानमा हाम्रै समाज, हाम्रै देश वा विश्‍वमा झेल्नु परिरहेका अनेकन समस्याहरू त त्यसका समाधानहरूलाई ध्यानकेन्द्रित गरी लेखिएका छन् निबन्धहरू। यसैले पुस्तकको शीर्षक ‘नारी, समाज र समय’ सार्थक लागेको छ। यद्यपि, पाठकहरूले आ-आफ्नै विचार, आ-आफ्नै दृष्टिकोणले हेर्नसक्छन्। यो स्वतन्त्र विषय पनि हो।
लेखिका लीला छेत्रीको यस कृतिले वर्तमान समाजमा नारीप्रतिको जुनप्रकारको नकारात्मक विचार, जुन दृष्टिकोण छ, त्यसलाई पूर्णविराम दिन सक्छ त भन्न सकिन्न तर वहाँको होंस्टेलाई सबैको हैंसे प्राप्त भए यहाँ सफलताको आशा गर्न सकिन्छ। करण, ‘एकतामा बल हुन्छ’ पनि भनिन्छ। निरन्तरता पाओस वहाँको कलमले, बीचैमा नथामियोस्। विचार, भाव, अध्ययनले कमी देखिन्न वहाँमा तर, डा. इन्द्रबहादुर राईले सायद 2010-मा एकपल्ट भन्नुभएको थियो ‘म अझ सिक्तै छु।’ लेखिका लीला छेत्रीको कलम पनि उसरी नै तिखारिँदै जानेछ अझै अनि साहित्य समाजलाई मलिलो बनाउँदै जानेछ, समाजले यस्तै दह्रो कृति पाइरहनेछ भन्ने लागेको छ। सिक्किमेली जगतमा लेख-निबन्ध विधालाई आत्मसात गरेर निरन्तरतासित अघि बड्ने सशक्त नारी कलमको अभावलाई पूरा गर्ने आशा गरिएको छ लीला छेत्रीज्यूबाट। अझ सिखर चुम्ने छ वहाँको कलमले। समाजले आशा गरेको छ। हामीजस्ता युवा हाँचका निम्ति प्रेरक बनोस् वहाँको कलम। लीला छेत्रीज्यूलाई बधाई र शुभकामना।
अन्तमाः डा. कविता लामाको विश्‍वासका शब्दहरूलाई अघि सार्दै विदा लिँदैछु, ‘‘''यो पुस्तक आजको परिप्रेक्षमा अत्यन्त मूल्यवाण एवं नारी, समाज र राष्ट्रको विकासको निम्ति एउटा माइलखुट्टी साबित हुनेछ।’’
-अर्जुन यावा (16 जून 2013, गान्तोक)

No comments:

Post a Comment