Friday, July 8, 2016

झन्डा

-1
धेरै अघिदेखि
लत्रिरहेको झन्डा
आज फरफरिरहेको देखेँ,
हावा चलेछ नि?
खै कताबाट हो...
कुन्नि?
थाहा भएन मलाई
तर हावा चलेको छ
त्यसैले त
धेरै पछि
घरको धुरीमा
फेरि झन्डा फहरिएको छ।

पोहोर-परारदेखि नै नफेरिएको झन्डा
पुरानो झन्डा आज फहरिँदै छ
फर.. फर.., फर् फर.., फर् फर..
फहरिँदै छ झन्डा
हो त हावा चलेकै हो।

सोंच्दैछु,
झन्डा जस्तै डन्ठी
डन्ठी झन्डा जस्तै
पुरानो भइसकेको होला
भइसकेको होला पुरानो
त्यो मक्किएको पनि होला
त्यसैले
भन्छन् सबै मलाई...,
झारिदेउ त्यो झन्डा
झन्डा पुरानो त्यो झारिदेउ
लगाई देउ नयाँ
बरू त्यो डन्ठी पनि फेरिदेउ
फेरिदेउ अर्को बलियो
ता कि जस्तै हावा चलेपनि
झन्डा जतिनै फहरिए पनि
नभाँचियोस
नझरोस
नलत्रियोस् भुँइमा झन्डा।

मन न हो...,
कहाँ मान्छ र झार्न
पुरानै भएपनि झन्डा
आखिर झन्डा हो
झन्डा मात्रै कहाँ हावामा फहरिने हो त?
यसले हावा कतातिर बगिरहेछ?
बताउने पनि त हो।
---

-2
झन्डा
आज फेरि फहरिँदैछ।

सँधैं झै हावासितै
झन्डा फेरि फहरिँदैछ।

तर हावा कताबाट आउँदैछ छ?
अहँ, मैले अनुमान लाउन सकिन।

झन्डा
हो झन्डा फहरिएको हेरेर
अनुमान लगाउन गाह्रै रहेछ
हावा कतातिरबाट बग्दैछ?

किनभने हावा
कतैबाट पनि आउन सक्दोरहेछ
अनि झन्डा
कतै पनि फहरिन सक्दोरहेछ।

हावा न हो
कुरा जस्तै त्यो
जता पनि बहकिँदो रहेछ/बग्दो रहेछ
वाहासितै झन्डा
जहिलै पनि फहरिनसक्दो रहेछ।

तर हावा
सँधैं सबैतिर
नरहँदो रहेछ एकनाशे
नबग्दो रहेछ एकैचोटी।

कहाँ विचारेको थिएँ त!

दिशा
आफ्नो-आफ्नै पनि हुँदोरहेछ हावाको
कहीँ वाहा चलिरहेको समय
कतै ठ्याम्मे नचल्न पनि सक्दोरहेछ।

त्यसैले झन्डा हेरेरमात्रै
हावा कता चल्दैछ
भन्न कहाँ सकिँदो रहेछ र?

यत्ति पक्का हो
आज फेरि चल्दैछ हावा
किन कि मेरो घरको धुरीमा
झन्डा फहरिँदैछ, सधैंझै
फर् फर, फर् फर, फर् फर...।
---

-3
थाहै नपाई
कत्तिबेला चल्यो हावा?

झन्डा
हेर त
डन्ठीबाटै उडाइलगेछ।

हावा त पक्कै आएछ नि,
कस्तो हुस्सु हँ म
हावा चलेको थाहै नपाउने!

यो झन्डा
वर्षौंदेखिको हो
आज कसरी झर्यो?

कसरी झर्यो झन्डा
मक्किएको छ डन्ठा भन्थे अरू
खोइ त
भाँचेको हावाले?

जस्ताको तस्तै डन्ठीबाट
कसरी उडायो हँ झन्डा?

झन्डा उडायो हावाले?

कि उडायो विस्वास मनबाट?
---000---

No comments:

Post a Comment