Friday, July 8, 2016

माया

''प्रतीक्षा गर.., मेरी मायालु!
समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ।...''
साँच्चै जीवनले कहिले रुवाउँदो रहेछ, गहिले हँसाउँदो रहेछ। कस्ले सोंचेका होलान् र हाँस्दा-हाँस्दै कत्तिबेला रुनुपर्छ अनि रुँदा-रुँदै पनि आँसु पुछेर एउटा मीठो मुस्कान छोड़नुपर्छ भित्री हृयदबाटै। काश...! यस्ता कुराहरू हामीलाई अघिबाटै थाहा भइदिए यो संसार कहाँ यस्तो हुनेथियो होला त! कहिले-काहीँ हामीले गरिने कल्पना जस्तै ढकमक्क सजिएको हुनेथियो होला हाम्रो जीवन, भनौं यो संसारै। आहा कत्ति रमाइलो हुने थियो नि? तर सोंचेजस्तो र चाहेजस्तो संसार नहुनुले पनि त यो भू-मंडललाई सन्तुलित राखेको छ नि होइन र!
पाउँदा नचाहेका कुराहरूको महत्व कहिलेकाहीँ थाहा नहुँदो रहेछ। तर जब त्यसको अर्थ बुझिन्छ, समयले कहिले-काँही पछि पारिसकेको हुन्छ हामीलाई। अनि यतिबेला एउटा आँखामा आसु र अर्कोमा हाँसो बोकेर सम्झौता गर्नै परेको हुन्छ आफैमा। साँच्चै सोंचेजस्तो नहुँदो रहेछ जीवन। ---
कुरा 2003-4 तिरको हो। उमेर छँदा पढ़न सकिएन। एसो भनौं साथीहरूसित बराली हिँड़ेर स्कूल पढ़ने समयमा ध्यान दिइएन। दुःखले सात किताब पुगियो। त्यो पनि छिचोल्न लाज लाग्न थाल्यो, सँगैका साथीहरू दश किताब छिचोलेर शहरतिर लागिसकेका थिए। त्यतिबेला गाउँमा माध्यमिक तहसम्ममात्रै पढ़ाइ हुन्थ्यो। अहिलेजस्तो सुविधा थिएन।
समय बित्दै जाँदैथियो। गाउँ-घर, खेताला-पात। दौंतरीहरूसित घुम-फिर। भाइ सानै थियो, स्कूल जाने। दिदी शहर पढ़थिन् गाउँबाटै धाएर। परिश्रमी थिई। त्यसैले घरको समस्या बुझ्ने, संगत उस्तै थिए। म दुइ छोरीमा घरकी लाड़ली। कसैले केही भन्न सक्दैन थिए, सायद माया गरेर। के थाहा कहिले काँही माया पनि अभिशाप हुन्छ। म आकाशकी चरी थिएँ, माथि-माथि उड़िहिँड्ने। यस्ता कुराहरूसित के सरोकार र।
उमेरसितै मेरो गाउँ-शहर आउ-जाउको क्रम पनि बढ़िरहेको थियो। पैसा-रुपियाँको खाँचो घरबाट टार्न गाह्रो परिरहेको थियो प्रतिदिन। तर म आफै पनि पूर्ण अवगत भइहालेकी थिइन। लीला, सविना, बिनु, सरला, गीता अरू पनि साथीहरू थिए शहरमा पढ़न बसेका। कोहीबेला अबेर हुँदा त्यतै बस्थें। डेञ्जेङ र भज्र सिनेमा हलमा मन परेको चलचित्र हेर्न लैजाने पनि हुन्थे कहिले-काँही। तर यो क्रम सँधैको निम्ति कहाँ थियो र! एकदिन त साथीहरूले पनि वचन लगाउँने नै हुन्। हो मलाई पनि अप्रत्यक्ष त्यस्तै हुँदै थियो, स्वयंले अनुभव गर्न नसकेको भएपनि। पछि-पछि बुझ्दै गएँ। त्यसैले अब मलाई पनि काम गर्ने मन भयो। तर समस्या थियो मेरो पढ़ाइको। आजको बढ़दो प्रतिस्पर्धात्मक समयमा म जस्तो अल्पशिक्षित युवतीलाई रूपै हेरेर मात्र कसले काम दिन्थ्यो र। त्यसैले होला, अहिले भने मलाई पढ़ाइप्रतिको धोको हुनथाल्यो।
यस्तै समय मेरो भेट भयो विजय र दिपेश दाजुसित। सविनासित पहिलेदेखि कै परिचित रहेछन् दुवै। सुमधुर धुन बजिरहेको रमाइलो एमजी मार्गमा जड़ान फलामे चौकीमा बसेर शहरको व्यस्ततम रमितामा रमीरहेका थियौं हामी। त्यही भेट भएको थियो हाम्रो। सामान्य परिचयपछि थाहा पाएँ, पेशाले दुवै उकिल रेछन् नयाँ-नयै।
विजय र दिपेश दाजुसितको भेट मेरो निम्ति ‘ढुङ्गा खोज्दा देउता मिले’-झैं भएको थियो। दिपेश दाजुले उनको दोकानमा काम गर्ने प्रस्ताव राखेपछि म भोलिपल्टैदेखि जानथालें। भोलिपल्ट म दिपेश दाजुको घरमै भएको दोकान पुगें तादोङ मेट्रो पोइण्ट, दिपेश दाजुसितै। घरमा बुड़ी आमा र एउटी बहिनी थिइन् समरको स्कूल छुट्टीमा आएकी।
‘रेसिका! वहाँ मेरी आमा। उ चाँही मेरी एउटै बहिनी।’ दिपेश दाजुले चिनाउनु भएको थियो।
‘'आमा! हिँजो भनेको थिएँ नि मैले, उ नै हो। आजदेखि बस्छ। काम जानेकी छैन, तर सिकिहाल्छ।’ मेरो परिचाय गराउँदै भन्नुभएको थियो दिपेश दाजुले। यहाँदेखि शुरू भयो मेरो आफ्नो खुट्टामा उभिने पहल। आखिर सधैं कति बाँच्थे र अरूको भरमा।
---
'आखिर म पनि त मान्छे न थिएँ। मेरो पनि मनै न हो। उसैमाथी मस्त जवान, मस्त तरुणी। जवानीमा जो पनि ढकमक्कै फुल्दो रहेछ। यो म स्वयंबाट चाल पाएकी हुँ। यतिबेला म पनि संसारकी एक सुन्दरी युवती हुँ भन्ने घमण्ड बड्न थालेको थियो मनमा। बेलगाम म उड़िरहेकी थिएँ माथि-माथि। ‘म अल्पशिक्षित हूँ।’ यो कुरा त बिर्सिसकेकी थिएँ। प्रत्येक महिनाको तेस्रो दिनभित्र दिपेश दाजुले मलाई एक सयको दशवटा नोट थमाइदिनुहुन्थ्यो। महिनाको बीच-बीचमा कहिले बीस, कहिले तीस त कहिले पचास रुपियाँसम्म दिनुहुन्थ्यो। ‘घरबाट आउँछौ, राख गाड़ीभारा चाहिन्छ’ भन्नुहुन्थ्यो। कोहीबेला दिउँसो छिट्टै घर आइपुग्नुहुने। चिया-खाजा खायो-खाएन? सोधेर नखाको बेला गाली पनि दिनुहुन्थ्यो। रिस् उठ्थ्यो यतिबेला। फेरी आमाले फकाउनु हुन्थ्यो -'‘नरिसाउनु है, यस्तै छ यसको बानी। मनले खाकोलाई माया पनि गर्छ, गाली पनि गर्छ। तर हाम्रो दिपेशको मन कालो छैन।’ जात-घर्म नमिले पनि आफ्नै छोरीलाई जतिकै माया गर्नुहुन्थ्यो दिपेश दाजुकी आमाले पनि मलाई। त्यसैले वहाँको कुराले सबै कुरा बिर्सिदिन्थें। तर ‘'शहरमा स्वस्थ ठीक रहेन’ भनेर पछिबाट पुर्ख्यौली घर, आफ्नै गाउँ जानु भयो। बहिनी त पहिलै स्कूलको निम्ति होस्टेल गइसकेकी थिई। सुन्दर, चञ्चली, खुल्ला स्वभावकी दिपना जाँदा एकप्रकार शून्य लागेको थियो मलाई। नजाउ पनि त कसरी भन्ने? जानै थियो, त्यसैले उ गई।
अब भने दिपेश दाजु आउन अबेर गर्नुहुँदा दोकान र दोकानमा राखिएका दुइवटा टेलीफोन, जेरक्स् मसिन, फ्याक्स मसिन र खुद्रा-खुद्री समानबाहेक केही थिएनन्। त्यसैले सायद दिपेश दाजु र मबीच पनि नजिकपन बढ़न थालेछ, थाहै नपाई। हरेक कुरामा वहाँले मलाई साथ दिनुहुने। मलाई धेरै माया गर्नुहुन्थ्यो। कहिले काँही रिसाएर बेलुकी नबोली दोकान बन्द गरेर फर्किन्थे। बिहान आउँदा चिया-बिस्किट ठिक्क पारिदिनु हुन्थ्यो, तर नबोली अफिसतिर लाग्नुहुन्थ्यो। यो क्रम बड़दै जाँदैथियो हामीमाझ।
---
एक बेलुकी निकै ठूलो दर्के पानी परिरहेको थियो। जून महिना जाँदो, दिन निकै लामो भएपनि साँझ झमक्क परिसक्दासम्म पानी थामिएकै थिएन। कतानिर हो रुख लड़ेर बाटै बन्द भएछ। एउटै ट्याक्सी पनि चलेको थिएन सड़कमा। साथीहरूको कोठामा पुग्नलाई देउरालीसम्म जाने साधनसम्म थिएन। अन्ततः दिपेश दाजुले भन्नुभयो- ‘'आठ बजिसकेछ रेसिका आज यतै बस ल!’
'मैले न त नकार्न सकें, न हुन्छ नै भन्न सकें। नबोली बसिरहें सड़कतिर आशाको दृष्टि फिँजाउँदै। तर सबै निराश मात्रै देखिन्थ्यो। पानी नरहोस्, बाटो नखोलियस्, ट्याक्सी नपाओस्। सायद यस्तै चाहन्थ्यो मेरो मनले। मनले होइन, सायद म नै यस्तै चाहन्थें। त्यसैले मेरो ब्याड सोफामाथी फ्यात्तै फ्याकेर भान्सा कोठातिर लागेकी थिएँ। बाहिरी कोठा दोकान, भित्र दुइवटा कोठा, सानो भान्सा कोठा र भित्रै थियो ‘टोइलेट-वाथरूम’। यत्रो कोठामा बस्ने म र दिपेश दाजुमात्रै। दिपेश दाजुको घरमा पहिलोपल्ट बस्दैथिएँ। यसरी कसैसित म एकलै स्कूल पढ़दा दिनेससँग बसेपश्‍चात यो दोस्रोपल्ट बस्ने आँट गरेकी थिएँ, र बसें त्यतिबेला।
---
बिहान लागेको थियो पहिले कि जुरुक्कै उठेर दोकान, नकरी, दिपेश दाजु, उनका आमा-बहिनी कोही नसम्झी सुट्टै घरतिर जाउँ लागेको थियो सँधैलाई। तर कसरी? घरमा किन नगाको दोकान? भनेर सोधीहाले के जवाब दिने? फेरि अर्को नोकरी मजस्तालाई कसले दिने? मनमा पीर त थियोनै। त्यसैले उठेर चिया पकाएँ अनि दिपेश दाजुलाई पनि पुर्याइदिएँ। तर केही नबोली टेबलमा राखेर फर्किँदै थिएँ -'‘रेसिका! रिसाएकी? आइएम सरी।’ भन्दै उठ्नु भयो दिपेश दाजु।
'‘रेसिका! तिमी विश्‍वास गर-नगर, तर म तिमीलाई साँच्चै माया गर्छु।’ यसै भन्नुभाको थियो त्यतिबेला मेरो हात समाउँदै वहाँले। मैले ठ्याम्मै विश्‍वास गर्न सकिन। गरूँ पनि कसरी र! वहाँ एक उकिल मान्छे, म गाउँकी एक अल्पशिक्षित केटी। मान्छेको रूपले मात्रै केही हुन्न भन्ने कुरा त यतिबेलासम्म मैले पनि बुझ्नथालेकी थिएँ। तर सबैकुरा चट्ट बिर्सेर जान पनि सक्दिनथें। जीवनका कतिपय मोड़हरू यस्ता पनि हुँदा रहेछन्, जहाँ देखेरै पनि हिलो टेक्नै पर्छ पाइतालाले। हो, त्यो दर्के पानी, बन्द सड़क र ट्याक्सीको अभावलाई आड़ बनाएर बसेको रात मेरो निम्ति जीवनको एउटा अविस्मरणीय क्षण थियो, पल थियो। त्यसपछि त मलाई मेरै मनले कहिले रोकेन। जहिले मनलाग्यो, बसिदिन्थें। घरबाट किन नआको आज भनेर सोध्ने कोही थिएनन्।
---
'‘रेसिका खाउ न।’ खाँदै गरेको आफ्नो हातको गाँस दिँदै दिपेशले भनेका थिए। हो यतिबेला दिपेश मात्रै भन्न थालेकी थिएँ। कहिँ-कतै अधिकार जमाउन थालेकी थिएँ दिपेश दाजुमाथि। अनि त कहिले काँही अलिक अबेर गरी आउँदा रिसाएर ‘किन ढिलो आको, कहाँ गाको थियौ?’ भनिदिन्थें। दिपेश चुप लागेर सरासर भित्र पस्थे। अनि म बुझ्थें, कि त साथीहरूसित गफ हाँकेर, कि त केही तरल पिएर आएका हुन्थे।
---
'‘रेसिका! हामी बिहे गरौं है?’ भनेका थिए एकदिन अचानक मलाई दिपेशले। मैले केही जवाबै दिइनँ। पछि फेरि आमा आउनुभयो। त्यसपछि कहिले तीनैबजी दोकान बन्द गरेर घरतिर जाने, कहिले एघारबजीतिर मात्रै खोल्ने त कहिले खोल्दै नखोल्ने क्रम रोकियो। ठीक समयमा दोकान खोल्ने र ठीक समयमा बन्द गर्थें।
किन हो कुन्नि, मलाई अब काम गर्न मनै लाग्न छोड्यो। यस्तैमा एकदिन हामीमाझ भनाभैरी चल्यो। आमाले उसलाई खुब कराउनु पनि भयो रमलाई सम्झाउनु भयो सँधैझैं। रिसको बेला आमाकै छेउमा पनि मैले ‘तिमी’ नै भनिदिएछु दिपेशलाई। पछि पो थाहा पाएँ। त्यसपछि भने म दुइ-तीन दिन देउराली नै बसें साथीहरूसित। सविनाकैमा आएर पनि दिपेशले मलाई सम्झाएका थिए- ‘हेर रेसिका, तिमी यति सानो कुरामा किन रिसाउँछौं। म त तिमीलाई साँचो माया गर्छु। मैले तिम्रो पढ़ाई, खानदान केही हेरेको छुइन। फेरि किन तिमी मदेखि तर्किन्छौ?’
हो उसले यसै भनेका थिए। एकदिन एम.जी मार्गमा दिनेससित भेटेपछि बेलुका रिसाएका थिए ऊ। त्यसैको निहुमा मैले पनि '‘आफू त कुन-कुनसित बत्तीस दारा देखाएर मस्किन्दै हिड़दा हुन्छ त।’ भनिदिएकी थिएँ। दिनेस उही थियो जसँग म पहिलोपल्ट एकलै बसेकी थिएँ। तर अहिले त्यस्तो केही थिएन। बस् बजारमा भेटें, बोलिदिएँ। यसमा मेरो गल्ति के भयो? उसँग हिँड़ने कोही पनि हुनसक्छ। सायद उसको पनि गल्ति थिएन। तर हुनको लागि गल्ति नै हुनुपर्दैन रहेछ। बस् हामीलाई पनि ठूलो कारण चाहिएन, हामी आपस्तमा पर भयौं। यो कुरा हो 2005-को अन्तिमतिरको।
---
2006-मा म नाम्ची गएकी थिएँ मामाघर। भर्खरै मोबाइल परेको थियो मेरो हातमा। कसैको उपहार। एकदिन बिहानै फोनकल आयो, '‘हेलोे रेसिका! कहाँ छौ?’
'‘नाम्चीमा। तपाईं को बोल्नु भएको?’ उत्तरसितै प्रश्न गरें मैले।
'‘ल! म पनि नाम्ची नै आउँदैछु।’ मेरो प्रश्‍नको उत्तर पाइन मैले। कुरा टुङ्गियो। म सौरभसित थिएँ। आहले मैदानसम्म पुगेर फर्किन्दै थियौं। नाम्ची अस्पताल आइपुग्दा उसले सोध्यो-'‘अघि फोन गर्ने को हो?’
‘'भन्न जरुरी छ?’ उस्टै प्रस्न गरें।
'‘छैन। तेत्तिकै नि।’ उ पन्सियो।
‘'उसो भए किन चासो! तिमी आफ्नो कामसित काम राखे। के तिमी मदेखि असन्तुष्ट छौ?’ फेरि प्रश्‍न गरेकी थिए।
‘छैन।’ छोटो उत्तर थियो उसको।
‘'म हिँजो कसैको थिए, तिमीलाई थाहा छ। भोलि कसैको हुन सक्छु, नहुन पनि सक्छ। आज तिमीसित यो सडक नापिरहेछु।...’
‘'हिड़ जाऊ!’ मेरो कुरा काट्दै भन्यो उसले।
‘'कहाँ?’ प्रश्‍न गरे।
'‘सँधैको ठाउँ। कहाँ र घर।’ छड्के हेर्दै भन्यो।
‘'एकछिन बजार घुमौन।’ मेरो प्रस्ताव थियो। उसले पनि केही भनेन। हामी बजार घुम्दै थियौं। सौरभ केही किन्नु छ, पर्खँदै गरल भनेर दोकानतिर लागेको थियो। म जोरथाङ जाने सडकको मुखैनेर उभिरहेकी थिएँ। मेरो छेउमा एउटा कार रोकियो। ऐना खोलियो। म तीनछक्क परें। दिपेश रहेछ। भन्दै थिए -'‘के हो फोन किन स्वीचअफ गरेकी, फेरि फोन गर्छ भनेर? कि म आउँदैछु भनेको पत्याइनौ?’
अघि आउँदैछु भन्ने त दिपेश पो थिएछ। अहिले थाहा पाएँ। मोबाइल हेरें, सायद बेट्री सकिएछ, स्वीचअफ थियो। दिपेश भन्दै थिए- '‘हिँड़ जाऊ गान्तोक। आमाले पनि ल्याएरै आउनु भन्नु भएको छ। हामी बिहा गरौं।...’
कारको अघिल्लोपटिको देब्रे दैलो खोलिन्दै थियो। म हतार ओह्रालो सिँड़ी झरें। कतै नहेरी सिड़ी-सिड़ी छिटो-छिटो झरेर सोझै सौरभको रूम पुगें। रूममा सौरभका कलेजका साथीहरू थिए, सबै गए।
---
नाम्चीबाट झण्डै एकमहीनापछि गान्तोक फर्किए। सविनाले पहिलो खबर दियो पन्द्रह दिनमात्रै भएछ दिपेशले बिवाह गरेको। भन्दै थिई सविना -'‘हेर रेसिका, तेरो भाग्य फुटेको। दिपेश दाजुलाई कस्तो-कस्तो केटीले मनपराउँदा पनि दिपेश दाजु भने तेरो पछाड़ि लाग्नुभयो। तैंले ठूलो गल्ति गरिस्।’
साँच्चै हो रहेछ। आज मसित के छैन, पैसाको कुनै कमी छैन। एक चुट्कीको भरमा पाँच-दश हजार खस्छ। जहाँ भनेपनि गाड़ी आइपुग्छ लिनलाई। आमा-बाउ, भाइ-बहिनी सबलाई पुगिसरी छ। तर मसित माया गर्ने खै को छ? आज म एकएक गर्दै सम्झिरहेछु, दिनेस, दिपेश, सौरभ, निखिल, अर्पण, सञ्जय अरू कत्ति आए-गए जीवनमा माया गर्नेहरू। आज हरेक दिन, हरेक रात त्येही मायाको खोजीमा छु। कहिले गाउँ त कहिले शहर, शहरका हरेक गल्लि, होटल र रेस्टुराँहुँदी माया खोजीरहेकी छु। रङ्गीन सपना यथार्थमा खोजीहिँड़छु निलो आकाशमा। तर कहाँ पाइँदो रहेछ र खोज्दा माया? किन्न सकिने भए माया पैसाको तन्ना ओछ्याइदिन्थे, बिछ्यौना लगाइदिन्थे। काश! संसारमा सबैथोक किन्न सकिने भए...।
कहिले हँसाउँछ, कहिले रुवाउँछ,
आँसु र हाँसोको संगम पनि गराउँछ।... 
मनमनै सम्झें, माया यस्तै हो सबैका निम्ति?
---000---
-24.06.2013

No comments:

Post a Comment