-अर्जुन यावा, राङ्का
भौगोलिकरूपमा हेरिँदा राङ्का राज्यको राजधानी गान्तोकको काखैमा छ। राजधानीको नजिकमा रहेको राङ्का तर नेपाली साहित्यको सूचिमा धेरै पछि परिरहेको लाग्ग। 1980-81 तिरै शीतका थोपाहरू’ प्रकाशित तीनजनाको सामुहिक कविता सङ्ग्रभन्दा अघि-पछि पनि पत्र-पत्रिका र कविता सङ्ग्रह प्रकाशित भएका थिए भन्ने धेरैले बताउने गरेका छन्। तर, ती पत्रिकाहरू अथवा कृतिहरू अझै खोजेर निकाल्नु छ। 1980 देखि 2000 बीचमा धेर-थोर काम भएका छन्। कृतिहरू प्रकाशित छन्। 2000 पछि भने नेपाली साहित्यमा राङ्कालाई निकै अग्रसर देखिन्छ। गुणात्मकताको दृष्टिले यस भेकले अझै निक्कै पहाड चड्नुपर्ने भए पनि थोरैमा प्रयास त गरिरहेकै छ, भन्ने लागेको छ। यस भेगबाट प्रकाशित पहिलो कृति कुन हो, त्यो निश्चितरूपमा भन्न नसकिने भए पनि अहिलेसम्मकै नवीन कृति हो युवा कवि निलकमल छेत्रीको मनका भावनाहरू’।
युवा कवि निलकमलसित मेरो प्रत्यक्ष भेट भएको मलाई थाहा थिएन। अर्थात मैले उनलाई चिनेको थिइँन। एउटा गाउँ अर्था तल्लो र माथिल्लो गाउँ। म बर्बिङ वार्ड, निलकमल बलिमान वार्डका। स्कूल एउटा, अर्थात राङ्का उच्चमाध्यमिक स्कूल। जतिबेला हामी थियौं, त्यो बेलाको माध्यमिक स्कूल। फरक- निलकमल र मबीच केही वर्ष अघि-पछि पढेका थियौं। 22 फरवरी 2016-को दिन फोनकल आएको थियो, भाइ निलकमल छेत्री रहेछन्। त्यसपछि परिचय र प्रत्यक्ष भेट भएको हाम्रो। कविता सङ्ग्रह प्रकाशनमा ल्याउने प्रायः तयारी भइसकेको रहेछ।
मैले सकेको र जानेको सुझाउ-सल्लाह दिएँ। भाइले गरेको पहिलो फोनकलको 40 मिनटपछि हाम्रो भेट भएको थियो। 2005-मा आफ्नो पहिलो कृति अस्तित्व’ कथा सङ्ग्रह निकाल्ने जुन असीमित इच्छा थियो मसित, ठीक निलकमल भाइमा त्यही थियो। कथा सङ्ग्रह निकाल्नअघि भूमिका लेखिदिनेको मसित जुन खड़ेरी थियो, भाइ निलकमलमा झण्डै त्यस्तै। त्योबेला बरु भूमिकै लेखाउँदिन सम्झेँ, अनि लेखाइन पनि। फरक- मेरो कृतिमाथि भूमिका लेखिदिने फुर्सद नहुनेहरू धेरै थिए, भाइ निलकमलको भूमिका कै पहिलो अनुरोधलाई त्यही फुर्सदको अभावमा मैले भाइलाई टार्नु भनेको 2005-को म हुनु जस्तै लाग्यो। त्यसैले भूमिका लेख्ने कुरालाई थोरै पर सारेर शुभेच्छा संदेशसम्म लेखिदिउँला भनेँ। कविता कस्तो लाग्छ, त्यतिकुरासम्म लेखिदिने विचार मभित्र थियो। शान्तवनाका शब्दहरूमा यति कुरा भने भाइ निलकमललाई। उनको मनोसाय पनि त्यस्तै-त्यस्तै बुझेँ।
पुस्तक निस्कियो। कवि निलकमलको एउटा सपना पूरा भएको छ। त्यसैले यतिबेला खुशीको कुनै सीमा थिएन। 13 जुलाई 2016-को दिन नेपाली साहित्य परिषद, सिक्किमद्वारा आयोजित भानु जयन्तीको अवसरमा मनन केन्द्रमा अन्य कृतिहरूसितै निलकमल छेत्रीको मनका भावनाहरू’ पनि लोकार्पित भयो। अर्था लोकलाई अर्पण। लोक अर्थात मनका भावनाहरू’ कविता सङ्ग्रह अब उनको रहेन। यो त नेपाली साहित्य समाजको भयो। यसलाई कस्लो कसरी हेर्ने र लिने हो त्यो तपाईंहरूसितै छ। अहिले उनका कविताहरू कस्ता छन् त्यतिमात्रै लेख्ने प्रयास गरिरहेको छु, नितान्त मेरो विचार।
कविता के हो? सबैले आ-आफ्नै परिभाषा दिएका छन्। अहिले कवि निलकमल भाइका कविताहरूलाई हेरेपछि कविता मनका भावहरू व्यक्त गर्ने असल र सहज माध्यम हो जस्तो लाग्छ। उसो त साहित्यकै सबैभन्दा विकसित विधा भनेर जान्न सकिन्छ कवितालाई। अहिले कवितामा कला र शिल्प हुनुपर्छ भन्छन् अहिले धेरै। कवितामा कवि निलकमलका भावपक्षलाई मात्रै सर्सर्ती हेर्ने विचार गरेँ। मलाई लागेकोभन्दा कवि निलकमलका कविताहरू तपाईंलाई निश्चय फरक लाग्न सक्छन्। तपाईंका विचारमा उनका कविताहरू कस्ता छन्? त्यो तपाईंहरूकै जिम्मा नि, हुन्छ?
यहाँ मलाई लागेका कुराहरू केही कवितांश उदाहरणसितै -
कवि निलकमलले पहिलो कविता संग्रहको नामै राखिदिएका छन् मनका भावनाहरू। यहाँबाट पनि प्रष्ट हुन्छ, उनका कविताहरू उनीभित्र ओतप्रोत भावनाहरूकै परिणाम हुन्। त्यसैले लाग्छ, भाइ निलकमलले मनभित्रका कुरा-भावनाहरूलाई कविता बनाएर पाठकसमक्ष राखिदिइसकेपछि पाठकवर्गले उनलाई सहजै बुज्नसक्नेछन्। कवितामा कला र शिल्पसितै विचार भइदिएका भए कविताले भन्न चाहेका कुराहरू बुझ्न थोरै परिश्रम अवश्य गर्नुपर्ने हुन्थ्यो। विचारभन्दा कविले आफ्ना भावना-हरू नै राखिदिन रुचाएका छन्। त्यसैले उनका कविताहरू सरल, सहज छन् अनि छन् सामान्य कुराहरू, सामान्य विषयवस्तु। उनका कविताहरूमा पाइने मूल स्वर भनेको सामाजिक पक्षहरू नै हुन्। माया-ममता, दुःख-वेदना, पीडा-व्यथा, जातीय चेत, माटोको माया, संस्कृति संरक्षण, प्रकृति प्रेम आदि निलकमलका कविताहरूमा पाउन सकिन्छ। कवितालाई तर उनी मनका भावनाहरू मात्रै मान्दैनन्। कवितालाई उनी जीवनको आधार पनि स्वीकार्छन् कवितामै। त्यसैले कविताको पुकार शीर्षक कवितामा उनी भन्छन्-
कविता नै जीवन जिउने आधार जस्तो लाग्छ मलाई यहाँ !!
माया-प्रेम प्राकृतिक छ। धेरैले कविता लेखन त्यहीबाट शुरू गरेको पाउन सकिन्छ। कवि निलकमलका कविताहरूमा पनि यी कुराहरू प्रशस्तै पाउनसकिन्छ। धेरै तर वेदनाले पोलेको पाइन्छ उनलाई। उपहार कवितामा त्यस्तै भाव हेरौं उदाहरण-
जब यस संसारबाट बिदा लिने समय आउँछ
तब यो बाँकी जीवन पनि उपहार छ तिमीलाई !!
कवि निलकमल माटोको माया छ, संस्कृतिको चेत पनि छ। जातीय चिन्हारी, अस्तित्व र अस्मिताको निम्ति वर्षौंदेखि दार्जीलिङ पहाडबाट लड्दै आइरहेको छुट्टै राज्यको लडाईंले कवि निलकमललाई पनि छोएको छ। त्यसैले त उनी लेख्छन्-
गोर्खाली हौं गोर्खाली हामी सब एक हौ गोर्खाली
छुट्ने छैन साथ हार्मो जन्म जन्मको छ नाता हाम्रो!! -(गोर्खाली हौं हामी)
गोर्खाली अथवा नेपाली विश्वमा वीर जाती भनेर चिनिएको जाती। कस्तै आपद परेपनि कहिल्यै पछि सर्दैनन् भन्छन् उनी कवितामा यसरी-
छातिमा गोलि खानु परे पनि
....तयार छौ हामी गोर्खाली। -(गोर्खाली हौं हामी)-बाट।
तर कहिले यसरी कोलम नारी हृदयलाई पनि छाम्न पुग्छन् कवि निलकमल। अनि छोरीप्रतिको समाजको भेदभावपूर्ण व्यवहारप्रति उनी व्यङ्ग गर्छन् कवितामा। संविधानले छोरा र छोरीलाई बराबरीको अधिकार दिएको छ। हामी सजिलै भनिदिन्छौं, छोरा र छोरी दुवै बराबरी हुन्। तर, के हाम्रो सोच, हाम्रो मन, हाम्रो व्यवहारमा पनि हामी त्यस्तै देखिन्छौं त? हामीसामु यो एउटा प्रश्न बनेर उभिएको छ। कवितामा कवि निलकमलको कलम कलिकै छ, तर समाजका हरेक विषयमा उनी सचेत छन्। समाजले खुल्लारूपमा छोरा र छोरीप्रतिको भेदभाव नगरेको भए पनि कहिँ न कहिँ व्यवहारले देखाइहरेको छ हामीभित्रको भाव। कविले त्यही कुरालाई दर्शाउने प्रयास गरेको पाइन्छ छोरी हुँ म हजूरहरू कै कवितामा। प्रश्न गर्छन् उनी कवितामा यसरी-
छोरी हुँ म हजूरहरू कै, फेरि किन गर्छन् मलाई हेला
घरको लक्ष्मी भन्छौ फेरि किन गर्छौ घृणा मलाई !!
कवितामा कतै जिन्दगीको परिभाषा दिन्छन् उनी, कतै जीवनप्रतिको दर्शनका कुराहरू पनि गर्छन्। त्यसैका उदाहरणस्वरूप हेर्न सकिन्छ जिन्दगी, जीवन आदि कविताहरू। उनका कविताहरू कतै गेयात्मक लाग्छन्। तिर्खा कविताको एक हरफ यस्तो छ-
कस्तो तिर्खा लाग्यो आज मलाई
तिर्शुलीको चिसो पानी पिउन् पाए हुन्थ्यो
बर्षौपछि यो मुटुमा एउटा घाउ भै सकेछ
तिम्रै हाथले मलम लाउन पाए हुन्थ्यो !!
तर कविलाई कतै हतोत्साही देखिन्छ, जीवनप्रतिको मोहभङ्ग पो हो कि भन्ने लाग्छ कवितामा उनलाई। जीवनसित उनी निराश छन्। हारेका छन् जीवनसित उनी। कवितामा हेरौं उनलाई-
न खोज्नु है मलाई बसन्त ऋतुको हृयालिमा
म त उजाड मरुभूमिमा हराई सकेछु !!
नस्म्झिनु है मलाई कुनै खुसियालीमा
म त दु:ख र आँसुको सागरमा पो डुबी सकेछु !! न खोज्नु मलाई-बाट।
यति भएरै पनि फेरि उनीभित्र एउटा आशा त्यान्द्रो बाँचिरहेकै छ। त्यसैले उनी भन्छन्-
तिमी आउने आसैमा त्यो भीडमा पनि
तिमीलाई नै पर्खी रहेकोछु म !! -(पर्खाइमा तिम्रो-बाट।)
कवितामा उनी आफ्ना मनका भावनाहरूसितै आत्मकथा पनि पोख्न चाहेका छन्। भावना तबसम्म बाँचिरहन्छ, जबसम्म स्वयं जीवित हुन्छौं। तर लेखिएका कुराहरू सँधैं बाँचिरहन्छ। त्यसैर त आफ्नै कथा लेख्न रुचाउँछन् कवितामा कतै उनी। अर्को शब्दमा, उनी कविता किन लेख्छन् भन्ने कुरा पनि उनका कविताले नै प्रस्ट्याएको पाउन सकिन्छ यसरी-
पोखी रहेछु आफ्नो कथा यो कवितामा
मनका केहि भावनाहरू कोरिदिएको छु यो कवितामा !! -(मेरो आफ्नै कथा)
कवि कहिले कवितामा निक्कै गहिरिएका छन्। एकजना रोगीलाई उभ्याएर आफूभित्रको नास्तिक विचार यसरी पोखेका छन् उनले। कवितामा निखारता नदेखिए पनि विचारमा उनलाई पोख्त पाउन सकिन्छ।
पुछेर आँसु सकिन कहिले मनको मन्दिर जलेपछि
पुजेर ढुगा पाईन जीवन जिउनु रोगले भित्र भित्रै मारी सकेपछि !! -(रोगीको आवाज)
कवि कहिले माया-प्रेमका कुरा गर्छन् अनि कहिले त्यही माया-प्रेम र विछोडको पीडा पोख्छन् कवितामा भने उनीभित्र देशप्रेमको भाव पनि उत्तिकै बाँचेको छ, अथवा देशप्रेमले उनी ओत-प्रोत छन्। त्यसैर त उनी सम्झन् शहीदको त्यागलाई अनि लेखिदिन्छन् कवितामा यसरी-
महान हुन ती जवानहरू, जो देशका निम्ति आफ्नो परिवरबाट टाडा छन्
महान हुन ती शहीदहरू, जसले यस देसको निम्ति आफ्नो प्राण त्यागेका छन!! -(हाम्रा सहीदहरू)
कवितामा कतै भाइ निलकमल हताश छन्, कतै उत्साहित, जागरुक छन्। यसो भनौं, उनी समय र परिस्थितिसितै कविता लेख्छन् अर्थात लेखेका छन्। उनका कविताहरूमा पाउन सकिने सबैभन्दा सबल पक्ष मलाई लागेको उनी समाजप्रति चिन्तित छन्। समाजका हरेक स्थितिसित उनी नजिकमा छन्। अर्को कुरा समाजलाई हामीले केही त दिनै पर्छ भन्ने उनको चाहना कविताहरूले बोलिरहेको पाइन्छ। त्यसैले त्यसैले भाइ निलकमलले भविष्यमा अझ राम्रा-राम्रा कविता लेख्दैजानेछन्। पहिले कविता लेख्नु रहर’ हुन्छ। रहरले नै कृति निकालिन्छ। रहर’ पछि कर’ बनिदिन्छ। यो कुरा भाइ निलकमलले पनि अहिले नै बुझ्नुपर्ने हुन्छ।
अर्कोकुरा, साधनाले उनीसितै उनका कविताहरू पनि निखारिने कुरामा विश्वास राख्नुपर्छ। अध्ययनसितै लेखनमा निरन्तरता उत्तिकै आवश्यक हुन्छ। अध्ययन/साधनाबिनाको सिर्जना फिक्कै लाग्न सक्छन्। त्यसतो साहित्यबाट सायद समाजले केही पाउला कि नपाउला? विचार्नुपर्ने हुन्छ अनि साहित्य केको लागि र कसको लागि लेख्दैछु? भन्ने कुरामा पनि हामी अघिबाट सचेत रहनै पर्ला। कविता स्वतः समाजका लागि भइदिनु र समाजका लागि भनेर पूर्वयोजनामा लेखिनुले जुन दिशा पक्रँदछ कविताले पार्थक्य अवश्य पाउँछ समाजले त्यहाँ। कवि निलकमललाई पहिलो कृति मनका भावनाहरू-का लागि बधाई दिँदै भविष्यका लागि शुभकामना।-23.07.2016 (समय दैनिक)-बाट
No comments:
Post a Comment