Sunday, July 24, 2016

देश विकास र सरोकार

मान्छे सधैँ समाजको समग्र विकास चाहिरहेका हुन्छन्। समृद्ध समाज निर्माणको कुरा गरिरहेका हुन्छन्। मान्छे सामाजिक प्राणी हुनुले समाजको समृद्धि र समग्र विकास हुनुपर्छ भनेर चाहनु कुनै आश्‍चर्यको विषय होइन पनि। आश्‍चर्यको विषय भनेको तर चाहेको त्यहि कुराबाट स्वयंलाई वञ्चित राखिनु भन्ने हुन्छ। हामी अथवा मानव समाज ठीक त्यस्तै-त्यस्तै देखिन्छ।
‘समाजको विकास कतिबेला हुन्छ?’ हामी स्वयंले स्वयंलाई यो प्रश्‍न गरे ‘जतिबेला हामी आफैले आफैलाई सहयोग गर्नसक्छौं, जतिबेला हामी सिङ्गो समाज बन्नसक्छौं, जतिबेला समाज एउटा हुन्छ, जतिबेला हामी-हामीमा भेदभाव हुँदैन...’ यस्तै जवाब पाउन सकिएला। हामी जान्दछौं, जबसम्म समाजमा रहेका विभिन्न जात-जाति, साना-ठूला, धनी-गरीब, विभिन्न भाषा-भाषी सबै एक हुुँदैनौं तबसम्म समाजको उत्थान हुनसक्दैन, समाजको विकास हुनसक्दैन। जबसम्म हामी भावनात्मकरूपमा, वैचारिकरूपमा र व्यावहारिकरूपमा एकार्काको नजीक बन्नसक्दैनौं तबसम्म समाज समृद्ध बन्नसक्दैन। यतिकुराको ज्ञान भएरै पनि हामी तर त्यही कुुराबाट वञ्चित छौं। आश्‍चर्यको यो अर्को द्वार हो, जहाँबाट हामी बाहिर छिर्न सकिरहेका छैनौं। अथवा समाज त्यो द्वार छिरेर एउटा पर्खाललाई पछि छोड्न नसक्ने, खुम्चिरहेको अवस्थामा छ अझै पनि हाम्रो समाज।
राष्ट्रपिता महात्मा गान्धीले ‘देशको संस्कृति ती देशका मानिसहरूको हृदय र आत्मामा बसेको हुन्छ’ भनेका छन्। जबसम्म हामी संस्कार-संस्कृतिले एक हुनसक्दैनौं, तब के हामीले हाम्रो समृद्ध र विकसित समाजको कल्पना गर्नसकौंला? राष्ट्रपिता महात्मा गान्धी देशमा एकता चाहन्थे, शान्ति चाहन्थे, अहिंसा चाहन्थे, स्वाधिनतामा बाँचेको हेर्न चाहन्थे। त्यसैको निम्ति लडिरहे। अर्कोतिर, देशको संविधान निर्माता डा. भीमराव अम्बेडकर पनि देशमा शान्ति चाहन्थे, भाइचारा चाहन्थे, समानता चाहन्थे। देशमा जब एकता, अहिंसा, शान्ति, भाइचारा, समानता छाउछ, जब देश र देशवासी स्वाधिन रहन्छ तब विकास आफैआफ हुँदै जान्छ, आफै-आफ समृद्धि छाउँछ। महात्मा गान्धी र डा. भीमराव अम्बेडकरले देखेको सपना अथवा देशप्रतिको लक्ष्य-उद्देश्य पनि अन्ततः त्यहि नै हो। दुवैको उद्देश्य, दुवैको लक्ष्य वा दुवैको सपना अहिले कतिसम्म साकार हुँदैछ? सधैँ ‘अनेकतामा एकता’-को नारा गुञ्जिने धर्मनिरपेक्ष देशमा अहिले विभिन्न जात-जाति, विभिन्न धर्म-संस्कारका हामी साँच्चै ‘हामी’ सकिरहेका छौं?
देशको संविधानले देशका प्रत्येक नागरिकलाई आफ्नो भाषा, साहित्य, संस्कार, संस्कृति, परम्परासितै जातिको जगेडा गर्ने अधिकार दिएको छ। हाम्रो अधिकार नै तर हाम्रो बाधक बनिरहेको छैन? हामी प्रत्येकलाई आफ्नो जातिको संस्कार-संस्कृतिको सुरक्षा गर्ने अधिकार प्राप्छ, र सुरक्षा हुनु पनि पर्छ। हामीलाई आफ्नो भाषाको संरक्षण गर्ने अधिकार संविधानले नै दिएको छ, हामीले गर्नु पनि पर्छ। तर, जब कुरा समाज सुधारको आउँछ, देश विकासको हुन्छ अनि कुरा जब देशको एकता र अखण्डताको आउँछ त्यतिबेला हामी आफ्नो जाति, आफ्नो भाषा र आफ्नो संस्कृति-परम्परादेखि माथि उठ्नसक्नुपर्छ। समाज र देशको विकास र समृद्धिको सन्दर्भमा हामीले आफ्नो जाति र संस्कार दुवैलाई बिर्सनुपर्ने हुन्छ। त्यतिबेला सानो र ठूलो, धनी र गरीब भुुलेर एउटै मुट्ठी बन्नसक्नुपर्छ। संकुचित विचार-भाव र संकुचित व्यवहार हाम्रो निम्ति बाधक बन्नसक्छ। उदाहरणस्वरूप अहिले पहाडमा चलिरहेको बबोर्ड गठनकै विषयलाई हेर्नसकिन्छ। भर्खरै हामीले देशभरि संविधान निर्माताका रूपमा जानिने डा. भीमराव अम्बेडकर दिवस पालन गर्यौं, हामी कति सफल भयौं हाम्रो एकतामा यहाँ? सम्पूर्ण देशवासी चाहे उ तृणमूलस्तरका नागरिक होस चाहे माथिल्लो तहका, देशको संविधानले सबैसित उत्तिकै सरोकार राख्दछ। के प्रत्येक 14 अप्रेलको दिन हामी प्रत्येक देशवासीको मनमा यो भावना उजागर भइरहेको छ? अथवा हामी सधैँ यतिबेला एक हुनसकिरहेका छौं के? किनभने देशको समग्र विकास अनि समृद्दिमा यसकुरोले पनि सरोकार राख्दछ।

No comments:

Post a Comment