-अर्जुन यावा’
मानव जीवनले भोगिरहेका कुराहरूले मनमा सधैँ एउटा छुट्टै स्थान बनाएर बाँचिरहेका हुन्छन्। काल-परिस्थिसितै घटेका घटनाहरू जीवनभरि स्मृतिपटमा अमेट रहेका हुन्छन्। कति कुराहरू भित्र-भित्रै एउटा अव्यक्त पीडा बनेर आफैलाई पिरोलिरहने हुन्छन् भने कति प्रस्फुटित भइदिन्छन् खुशीहरू बनेर। ती प्रस्तुटित कुरा वा घटनाहरू तर सधैँ खुशी मात्रै पनि बनिदिँदैनन्, कहिलेकाहिँ आफ्नै निम्ति अभिशाप पनि बनिदिन्छन् भने कहिलेकाहिँ हाम्रो परिचायक पनि बनिदिनसक्दछन्। त्यति हो, आफूभित्रका कुराहरूलाई कसले कसरी व्यक्त गर्छ, त्यसैमा निर्भर रहने कुरा हो यो। प्रिय पाठकवर्गसित यहाँ एक त्यस्तै व्यक्तित्वको परिचय गराउन लागिरहेछु म, जसले आफूले जीवनमा भोगेका कुराहरूलाई आफ्नो परिचायकका रूपमा व्यक्त गर्न रुचाउँछन्। जीवन धान्ने असल माध्यमकारूपमा कुची र रङ्हरूसितै क्यानभाषभरि उतारिदिन्छन् आफूभित्र बाँचिदिइरहेका आफ्ना अनुभवहरूलाई। अनि दिन्छन् परिभाषा त्यससलाई आफ्नो कलाकारिताको। हजूर, उनी हन् डुगा पाण्डाम निवासी चित्रकार कमल श्रेष्ठ (प्रधान), जो हालमा काठमाडौं नेपालमा व्यस्त छन् आफ्नै व्यावशायसित।
चित्रकार श्री कमल श्रेष्ठसित मेरो पहिलो भेट भएको थियो 30 अप्रेल 2016-को दिन ओभिया आर्ट सर्कल (आर्ट ग्यालेरी)-मा। 27 अप्रेलदेखि ओभिया आर्ट सर्कल- गान्तोक र इन्द्र धनुष- नाम्चीको संयुुक्ततामा सिक्किम अकादेमी, गान्तोकद्वारा आयोजित चित्रकला प्रदर्शनीको समापन समारोहमा पुगेको थिएँ। त्यही प्रदर्शनीमा 30 अधिक चित्रकारहरूमध्ये तेस्रो पटक सहभागी बन्न काठमाडौंबाट उपस्थित थिए चित्रकार कमल श्रेष्ठ। सधैँभन्दा यसपटक युवा-चित्रकारहरूको निक्कै बाक्लो सहभागिताले यसपटकको चित्रकला प्रदर्शनीलाई छुट्टै विशेषता दिएको सबैले महशुष गरिरहेका थिए। सबैका चित्रहरू उस्तै, राम्रा-राम्रा, प्रशंसनीय। प्रायः सबैका चित्रहरू कुनै न कुनैले मन छोइहाल्ने। मलाई छाहा छैन चित्र र चित्रकारिताको परिभाषा। राखिएका चित्रहरूमध्ये 28 अप्रेलको दिन चित्रहरू हेर्दै जाँदा एउटा मिक्स मिडिया’-ले मेरा आँखाहरूलाई निक्कैसमय भुलाइरह्यो। 29 अप्रेलको दिन फेरि पुगें। फेरि एकपटक हेरेँ, चित्रकार रहेछन्- कमल श्रेष्ठ। उनका अन्य चित्रहरू पनि रहेछन्। उनका सबै चित्रहरू कुन्नि किन हो छुट्टै किसिमका लाग्ने। चित्रमा हेरिनुपर्ने दृष्यहरू अघिबाटै देखिँदै आइरहेका कुराहरू नै थिए- बालक, चुरोट पिइरहेकी महिला, घर, पहाड-हिमशिखर, खोला यस्तै-यस्तै। तर पनि लाग्थ्यो कुन्नि किन उनका कुचीहरू आफ्नै तरिकाले चल्ने गर्छन्, रङहरू आफ्नै ढङ्गले पोतिन्छन्। एउटा चित्रमा टासिएका थिए बालुवाहरू, साना-साना ढुङ्गाहरू, साना-साना काठका टुक्राहरू अनि थिए चित्रमा खोला र पछिल्तिर पहाड-हिमशिखर। हेर्दा लाग्थ्यो- म कुनै चित्रकारले कोरेको चित्र हेरिरहेको छुइन। कुनै मनमोहक प्राकृतिक दृश्यलाई एक असल फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गरेको सुन्दर प्रिन्ट फोटो नै लागिरहेको थियो।
30 अप्रेलको दिन तेस्रो पटक पुनः पुगेको थिएँ म प्रदर्शनीमा। समापन समारोह थियो दिउसो एकबजी। त्यसअघि नै चित्रकारितामा रुची राखेर अघि बढ्दैगरेकी मित्र अनुपाले परिचय गराएकी थिइन् चित्रकार कमल श्रेष्ठज्यूसित। उहाँसितको परिचयपछि मात्रै थाहा भयो, काठमाडौंबाट आएका चित्रकार कमल श्रेष्ठको जन्मथलो डुगा-पाण्डाम, पूर्व सिक्किम रहेछ। उनीसितको कुराकानीपछि थाहा भयो- डुगा निवासी श्री एम.बी. प्रधान र श्रीमती पूर्णकुमारी प्रधानका छोरा कमल श्रेष्ठ 22 वर्षअघि नै काठमाडौंतिर लागेका थिए। त्यसअघि अथवा काठमाडौंतिर लाग्नभन्दा धेरैअघि उनी डुगा स्कूलमा तेस्रो श्रेणीमा अध्ययनरत रहँदादेखि नै उनले चित्रकारिता शुरू गरेका थिए। चित्रकारिताको शुरुवात कहिलेदेखि शुरू गर्नुभएको हो?’’ भन्ने मेरो प्रश्नमा उनी भन्छन्, सानोमा इक्जामको समय क्राफ्ट’ बुझाउनुपर्थ्यो। एकपल्ट क्राफ्टको लागि मामा (नन्दकुमार प्रधान, जो अहिले वितेर गइसके)-ले चित्र बनाइदिनुभएको थियो। त्यो क्राफ्ट हेरेर टिचरले कस्ले बनाएको?’ भनेर सोध्नुभएको थियो। त्यतिबेला मैले आफै बनाको’ भनेको थिएँ। त्योबेला मलाई पनि चित्रहरू बनाउन खुब मन पर्थ्यो। मैले आफै बनाएको भनेपछि सरले अर्को चित्र पनि बनाउन लगाउनु भएको थियो। मैले बनाएँ पनि। त्यो चित्रको उहाँले प्रशंसा गर्नुभएको थियो र पछिसम्म राख्नुभएको पनि थियो। त्यहीँबाट शुरू भएको थियो मेरो चित्रकारिताको यात्रा।’’
तपाईंलाई अहिले चित्रकार कमल भनेर चिनिन्छ। अथवा चित्रकारिता तपाईंको परिचय भएको छ। तपाईंको चित्रकारिता त झुटबाटै शुरू भएछ नि, होइन?’’ मेरो यो प्रश्नमा उनी भन्छन्, त्यस्तै भयो। त्यतिबेला झुट बोल्छु भन्ने सोचेको थिइन। क्राफ्टको कुराले सायद झुटो बोल्नु त्यो बेला मेरो बाध्यता थियो। तर, खुशी छु कि अहिले यही नै मेरो परिचय बनेको छ।’’
थोरै बोल्ने, मझौला कदका, हेर्दा गम्भीर लाग्ने कमल श्रेष्ठको व्यक्तित्व वास्तवमै उनका चित्रहरूजस्तै लाग्छन्। काठमाडौंजस्तो व्यस्त शहरमा दुईदशकभन्दा अघिदेखि बसोबासो गर्दै आइरहेका उनी 1994-मै काठमाडौं गएका हुन्। डुगा स्कूलपछि पाण्डाम उच्चमाध्यमिक स्कूलको अध्ययन पूरा गरेपश्चात उनी सिक्किम सरकारको कृषि विभागमा मास्टर रोलमा कार्यरत थिए। मास्टर रोलमै भए पनि सरकारी नोकरी थियो, तर त्यो बेला मास्टर रोलको नोकरीमा उनको मन बाँधिएन। त्यसैले काठमाडौंमा आफ्ना साथीहरू र आफन्तहरू पनि भएकाले लागे उनी काठमाडौंतिरै। काठमाडौं पुगेर उनको चित्रकारिताप्रतिको रूचीले अझ मौलाउने अवसर पायो। परिश्रम र सङ्घर्ष भन्ने जहाँ पनि गर्नैपर्छ’’ भन्ने उनले पनि काठमाडौंमा पुगेर स्वयंलाई चित्रकारकारूपमा स्थापित गराउन कतिसम्म परिश्रम गरे होलान, कति सङ्घर्ष गरे होलान्? त्यो कुरा व्यक्त गर्न गाह्रो होला। अहिले तर उनी काठमाडौंमा चित्र बनाउन पनि सिकाउँछन्। ललितपूर जिल्लामा पर्ने काठमाडौंको झम्सीखेलमा बसोबासो गरिरहेका उनले आफ्नै आर्ट ग्यालेरी’ खोलेर बसेका छन्।
तपाईंले मास्टर रोलकै भए पनि सरकारी नोकरी छोडेर जानुभयो, अहिले चित्रकारिता तपाईंको व्यवशाय छ। जीवन धान्ने माध्यमका रूपमा यसलाई कसरी हेर्नसकिन्छ?’’ भन्ने प्रश्नको जवाबमा उनी भन्छन्, सजिलो छैन। भनौं, सरकारी नोकरी अथवा अन्य विधाजस्तो छैन। अहिलेसम्म तर मेरो व्यवशाय यही छ। यसैबाट जीवन चलिरहेको छ। यसमा राम्रो कुरा के छ भने जीवन धान्ने माध्यम मात्रै होइन यसमा इज्जत छ, सम्मान पनि छ।’’
ओयल, एक्रेलिक, पोस्टर र मिक्स मिडियामा रङ र कुचीहरूसित रमउन रुचाउने चित्रकार कमलले यसपालीसित तेस्रोपल्ट प्रदर्शनीमा भाग लिन सिक्किम आएका थिए। सिक्किममा चित्र-प्रदर्शनीको लागि आउँदाको आफ्नो अनुभवबारे सोधिएको एउटा प्रश्नमा उनी भन्छन्, सिक्किममा आउँदा स्थानीय साथीहरूले राम्ररी सहयोग पुर्याइरहेका छन्। म सिक्किमबाहिर बसेकाले हुनसक्छ, सबैको राम्रो सहयोग पाइरहेको छु। खुशी लाग्छ।’’
सिक्किममा तेस्रोपल्ट चित्रकारिता प्रदर्शनीमा सहभागिता जनाइसक्नुभएको छ। चित्रकारितामा सिक्किमको भविश्य कस्तो देख्नुहुन्छ त?’’ भन्ने प्रश्नमा उनी भन्छन्, सबैबाट राम्रो साथ छ, स्थानीयहरूबाट पनि प्रशंसा पाइरहेको छु। सबैले चित्रहरू राम्रो रहेछ भनेर प्रेरित गरिरहेका छन्। यसपालीको प्रदर्शनीमा मेरो पाँचवटा चित्रहरू बिक्री पनि भए। तर पाँचैवटा चित्र राज्यबाहिरका दर्शकहरूले किनिदिएका छन्। स्थानीयहरूबाट किनिएको छैन। सिक्किममा धेरै पैसा छ, तर स्थानीयहरूबाट चित्रकारहरूले भनेजस्तो प्रोत्साहन पाउन सकेका छैनन्। मलाई लाग्छ स्थानीयहरूले पनि प्रशंसासितै चित्रहरू किनिदिए यहाँका युवा चित्रकारहरूले प्रोत्साहन पाउने थिए’’ उनी भन्छन्।
यसपालीको चित्र-प्रदर्शनमा चित्रकार कमल श्रेष्ठको सबैभन्दा धेरै पाँचवटा चित्र बिक्री भएको हो। चित्रकारहरूलाई प्रेरणा, प्रोत्साहन, उत्साहका लागि चित्रहरू बिक्री हुनु जरुरी हुन्छ भन्ने कलमको विचारमा राज्य सरकारको पक्षबाट पनि यसमा पहलन हुनुुपर्ने र स्थायी आर्ट ग्यालेरी हुन जरुरी छ। उनी भन्छन्, राज्यमा एउटा राम्रो आर्ट ग्यालेरी भए यहाँका युवा भाइ-बहिनीहरूलाई उत्साह हुनेथियो। ग्यालेरीमा स्थानीय चित्रकारहरूका चित्रहरू राख्न सकिनेछ। राज्य वा देश बाहिरबाट आएका पर्यटक अथवा कोही पनि आउँदा स्थानीय कलाकारिता देखाउन सकिनेछ। त्यो भन्दा पनि महत्वपूर्ण कुरा यहाँको कलाकारिताको संरक्षण गर्न सकिन्छ। त्यसैले सिक्किममा पनि एउटा राम्रो आर्ट ग्यालेरी हुन आवश्यक छ।’’ स्मरणीय कुरा के छ भने, 30 अप्रेलकै दिन मात्रै चित्र-प्रदर्शनीको समापन समारोहलाई मुख्य अतिथिको आसनबाट सम्बोधन गरिरहेकी संस्कृति एवं धरोहर विभाग सचिव श्रीमती निमा लाडेन इथेन्पाले राज्य सरकारले सिक्किम विधानसभा अघिपटि एउटा आर्ट ग्यालेरी’ स्थापना गर्ने भएको जानकारी गराएकी छन्।
श्रीमती सुमिता प्रधान र एकमात्र सन्तान सुमल प्रधानको सानो र सुखी परिवारका धनी चित्रकार कमल भन्छन् चित्रकारिता मेरो निम्ति जीवन धान्ने असल माध्यम हो, आधार हो। हामीले जीवनमा जो भोगिरहेका हुन्छौं, ती कुराहरू कुनै न कुनैरूपमा बाहिरिन खोजिरहेका हुन्छन्। त्यसैको एउटा माध्यम हो चित्र।’’ उनी आफ्ना चित्रहरूलाई जति माया गर्छन् त्यति नै माया आफ्ना परिवारलाई पनि गर्छन्। त्यसैले त छोराको नाम पनि राखिदिए दुवैले सुमल’। अर्थात सुनिताको सु’ र कमलको मल’-बाट भयो छोराको नाम सुमल’। आफ्ना गुरुसित बोलेको सानो झुटबाट शुरू भएर सफलताको सिँडी चढिसकेका चित्रकार कमल श्रेष्ठलाई उत्तरोत्तर प्रगतिको कामना।
---000---
No comments:
Post a Comment