Friday, July 8, 2016

गाड़ी बिस्तार गुड़ाउनुहोला

गाड़ी बिस्तारै गुड़ाउनुहोला हजूर
सड़कमा
हामी डोको र कचिया बोक्नेहरू नि हिँड्छौं।

थाहा छ हामीलाई पनि
सड़कको
ओल्लो छेऊ
पल्लो छेऊ
र सड़कमाझ...
जताततै खाड़ल खाड़ल परेका छन्
थाहा छ।

खाड़लहरूमा
खाड़लहरूमा जमेका छन् पानी जताततै
हो
थाहा छ त्यो पनि।
तर..!
हिँड़ सड़कमा बाध्य छौं हजूर।
तपाईं
गर्मीमा एसीको शितल पाउन
अनि
हिउदको तातो हावासितै
ह्वात्तै एक्कैचोटी
नाक
मुख
आँखा र पूरै मुहार भनौं..,
शरीरै छोप्नेगरी आउने
धुलोबाट बाँच्न
कालो ऐना उठाएर
गुड़नुहुन्छ गाड़ीमा।
तपाईंलाई
न धुलोको डर
न हिलोको डर
न त त्यो सड़कका खाल्डाहरूको मैलो पानीले
छ्याप्पै
निथ्रुक्कै हुनेगरी भिजाउने डर
अनि
न त चिसो सिरेटोको
न त तातो ‘लू’- कै डर।
त्यसैले हजूर
सड़कमा गाड़ी गुड़ाउँदा
यत्ति बुज्नुहोला
सड़कमा गाड़ी मात्रै गुड्दैनन्।
सड़कमा
धुलो,
हिलो,
मैलो पानी,
चिसो रिसेटो
र तातो ‘लू’
मौसमानुसार सप्पै झेल्न बाध्य
चर्चरी कुर्कुच्चा फुटेकाहरू पनि
हिड़िरहेका हुन्छौं
डोको र कचियासितै
घाँस र दाउरा बोक्नेहरू नि
हिँड़िरहेका हुन्छौं।
नभए एत्ति बुझ्नुहोला
तपाईं आफ्ना पिता-पूर्खाले थन्क्याएको
काँटा, कोदालो, फ्याउरी र हलो बोकेर
असारमा खेत पस्न सक्नुहुन्छ?
पसिना ह्वास्स गनाउने
हाम्रो शरीरमा
तपाईंको गाड़ीले छ्यापिदिएको
पानी सहीदिउँला हामी
भन्नुस
तपाईंलाई आफ्नै शरीरको पसिना मन पर्छ के?
महाशय
गाड़ी बिस्तारै गुड़ाउनुहोला
सड़कमा,
डोको र कचिया बोक्ने हामी
चर्चरी कुर्कुच्चा चर्किएकाहरू पनि
त्यही सड़कमा हिँड़छौं।
---000---

अर्जुन यावा -13.04.2016, 12.28 राती

No comments:

Post a Comment