Sunday, July 24, 2016

कुनै समय म बाटोमा थिएँ, अहिले त्यही बाटो मेरो इज्जत र पहिचान बनेको छ : अमर सुब्बा

-अर्जुन यावा, राङ्का

जीवनमा सफलता त्यसै हात लाग्दैन। महात्मा गान्धी, अब्दुल कलाम, थोमस एल्वा एडिसन  यस्ता धेरै सफल व्यक्तित्वहरूको नाम छन् जसले धेरै सङ्घर्षपछि मात्रै सफलताको सिखर चुमेका छन्। सङ्घर्ष तथा परिश्रमबिना प्राप्त कुनै पनि कुराको महत्व हुँदैन। त्यो आज पाएर भोलि गुमाउनु पनि पर्ने हुन्छ। न त त्यो पाउँदा हर्ष लाग्नसक्छ न त गुमाउँदा दुःख नै लाग्छ। सङ्घर्ष-परिश्रम गर्नेहरू यो जगतमा सँधै बाँचिरहने पक्कै होइनन्, तर उनको कृति, उनको कार्य अथवा उनले आफ्नो समाज, राज्य र देशप्रति पुर्याएको योगदानसितै उनी बाँचिरहेका हुन्छन्।
सिक्किमेली समाजमा अहिले लोकप्रिय बन्दै अग्रसर रहेको एउटा नाम हो म्याराथनम्यान अमर सुब्बा। हजूर, आदरणीय पाठकवृन्द धावक अमर सुब्बालाई तपाईंहरू धेरैले चिन्नुहुन्छ अनि धेरैले चिन्नुहुन्न। अमर सुब्बाले स्वयंलाई ‘म्याराथनम्यान’-को नामबाट परिचित गराएका छन्। यसको निम्ति उनले झण्डै 12 वर्षसम्म निरन्तर सङ्घर्ष गरेका थिए अनि 2012-मा आएर उनी ‘म्याराथनम्यान’ भनिन थालिए। उनी भन्छन्, ‘पहिले दुःखमा साथ दिनेहरू थिएनन्।’ निश्‍चिय मान्छेले जबसम्म आफ्नो पहिचान बनाएका हुँदैनन् तबसम्म उनीभित्रका उत्कट चाहना, इच्छा, सपना र दृढ सङ्कल्पहरूलाई पनि कसैले जानेका हुँदैनन्। तर जसले आफू एक्लो हुनुको पीडा, अभाव अनि समस्याहरूसित सङ्घर्ष गर्न जान्दछ, जीवनमा उ नै सफल बन्न सक्दछ। त्यसैले त अमर सुब्बालाई पनि आज ‘म्याराथनम्यान’ भनेर जानिन्छन् समाजमा। अर्थात ‘अमर सुब्बा’-को पर्याय बनेको छ ‘म्याराथनम्यान’, जसले सिक्किमलाई धेरै हदसम्म म्याराथनका लागि चिनाउन सकेका छन् अनि सिक्किममा म्याराथन चिनाउने काम गरेका छन्। आज समाजले माया गर्दछ म्याराथनम्यान अमर सुब्बालाई भनौं उनको सङ्घर्ष, उनको परिश्रम, उनको लगनलाई।
वर्ष 2012-मै ‘लिम्का बुक अफ रेकर्डस्’-मा आफ्नो नाम दर्ता गराउन सफल अमर सुब्बाको परिचय पनि वास्तवमै त्यहीदेखि समाजले पाउँदै गयो। 28 सितम्बर 1969-मा जन्मेका सुब्बाले ‘लिम्का बुक अफ रेकर्डस्’-मा रेकर्ड कायम गरेपछि उनी कहिल्यै पछि फर्कैनन्। निरन्तर अघि बढिरहे, बढिरहे। सफलता सधैं हात लाग्ने कुरो पक्कै होइन। कहिले सफलता त कहिले असफलताहरू पनि हात पर्नसक्छन्। तर, त्यस्ता असफलताहरू, साना बाधा र अड्चानहरूले उनलाई निरुत्साह कहिल्यै पारेन। सफलताको सिँडी उक्लिरहेका सुब्बाको रगतमै ‘खेल’ थियो भन्ने लाग्दछ कहिलेकाहिँ। यद्यपि, ‘डोकोमा दूग्ध कहिल्यै अडिन्न’ भन्ने बुझेका सुब्बाले परिश्रम गरे, सङ्घर्ष गरे। पूर्व सिक्किमको ताथङ्चेनमा जन्मेका सुब्बाका परिवार पछिबाट दराप, पश्‍चिम सिक्किममा स्थायीरूपमा बसोबासो गर्दै आइरहेका छन्।
पिता दिलबहादुर सुब्बा (स्व.) र माता भक्तमाया सुब्बाका सुपुत्र म्याराथनम्यान अमर सुब्बाले ताथङ्चेन हुँदादेखि नै आफ्ना पिताले फूटबल खेकेको हेर्दै आएका हुन्। त्यसैले उनले पनि फूटबल खेले, पछि क्रिकेट पनि खेले। सानैदेखि खेलकुदमा धेरै रुची राखेका सुब्बाले तर शिक्षा क्षेत्रमा आफैलाई अघि बढाउन सकेनन्। उनी भन्छन्, ‘त्यय समय मेरा पापा सिक्किम किङ टीमबाट फूटबल खेल्नुहुन्थ्यो। यो कुरा 1970-कै सशकको हो। मेरो जन्म ताथङ्चेनमा भएको हो। मेरो शिक्षाको शुरूवा पनि त्यहीँबाट भएको हो। त्यतिबेला ‘गार्ड्स स्कूल’ भनिन्थ्यो, सायद त्यही स्कूललाई अहिले ‘वेस्ट पोइण्ट स्कूल’ भनिन्छ। सिक्किम विलयपछि पापा बीएसएफमा भर्ना हुनुभएको थियो। त्यसैले पापा जहाँ-जहाँ पुग्नुभयो म पनि त्यहि- त्यहिँ पुगेँ अनि त्यहिँ-त्यहिँ शिक्षार्जन गरेँ।’
अमर सुब्बा आफ्ना पितासितै ताथङ्चेनदेखि गेजिङ स्कूल पुगे, पेलिङ स्कूल पुगे, त्यसपछि शिलोङ, बेङ्लोर, पञ्जाब जहाँजहाँ पुगे उनका पिता अमर सुब्बा पनि सँगै गए। उनका पिता पछि ‘इन्सपेक्टर’-को पदबाट अवकाशप्राप्त भएका हुन्। यस क्रममा पञ्जाबमा त उनले नोकरीसम्म पाएका थिए, तर भाग्यमा उनको नोकरी गर्ने  होइन एक असल र सफल म्याराथनम्यान बन्ने लेखेको थियो। त्यसैले त उनले हिमालको कठ्यशाङ्ग्रिने ठिहीदेखि समतलको उष्णताले पनि उनको उत्साहत, जोश, परिश्रमलाई छेक्न सकेन। उनी भन्छन्, ‘भाग्य हो या कर्म, कुनै समय म बाटोमा थिएँ, अहिले त्यही बाटो मेरो इज्जत र पहिचान बनेको छ।’
म्याराथनम्यान अमर सुब्बाले मात्रै 23 वर्षको उमेरमा विहाव गरे सुशिला सुब्बासित। 1992-मा विवाह गरेका सुब्बा दम्पतिका दुई सन्तान छन्, आकाश सुब्बा र आशिभ सुब्बा। ‘आशिभको अर्थ के हो?’ भन्ने मेरो छोटो प्रश्‍नको ठोटै उत्तरमा उनी भन्छन्, ‘म पहिलादेखि नै शिवजीको भक्त, त्यसैले आशिभ राखिदिएँ छोराको नाम।’
‘तपाईं म्याराथनम्यान भनेर चिनिनु भएको छ। म्याराथनका समय जीवनमा बिर्सनु नसकिने केही घटना छ?’ भन्ने प्रश्‍नमा उनी भन्छन्, ‘2012-मा जब म लिम्बुक अफ रेकर्ड’-का लागि दौडिरहेको थिएँ त्यो क्षणलाई सँधै सम्झिने गर्छु। लिम्का बुक् अफ रेकर्डका लागि सिक्किमदेखि कालेबुङ, दार्जीलिङ, सिलगढी, दुवर्सका विभिन्न क्षेत्र गरी 17 देखि 23 जनवरी 2012-मा दौड लगाएका त्यस क्षणलाई सम्झना गर्दै भन्छन् ‘त्यसै पनि जनवरीको चिसो अनि सन्दकफू जस्तो ठाउँ। 12 हजार फीटभन्दा माथिको उँचाइ, जहाँ ‘-10’ देखि ‘-15 डिग्री’-को मुटु नै कक्र्याउने चिसो। मलाई त दौड लगाइरहेकोले जाडोको महशुस भएन होला, तर मेरा ती तमाम शुभचिन्तकहरू बिहानको 6 बजीको चिसोमा मलाई पर्खेर बसेका थिए। त्यो म बिर्सन सक्दिन, किनभने मेरो निम्ति त्यो सबैभन्दा ठूलो सम्मान थियो, प्रेरणा थियो, आदर थियो।’ उनी अझ भन्छन्, ‘त्यस्तो चिसोमा पनि मलाई पर्खेर बस्नेहरूमध्ये कसैले सोधेका थिए मलाई ‘तपाईं अमर सुब्बा होइन?’ अनि मलाई प्रेरणा, प्रोत्साहनस्वरूप अङ्गालो हालेर आँखाबाट खसालेका थिए आँशु..., मेरो निम्ति त्यो भन्दा ठूलो श्रद्धा के हुन सक्छ? त्यो कहिल्यै भुल्नसक्दिन।’ यतिबेला गान्तोकको मुटुमा बसेर ‘फस्ट फ्लस’-को चुस्की र ‘गुड डे’-को स्वाद लिँदै मसित कुरा गरिरहेका म्याराथनम्यानको मुहारमा मेरा यी दुई नयनले 2012-को अमर सुब्बालाई देखिरहेका थिए।
आप्नो पिताको जागिरे जीवनसितै घरि पूर्व घरि पश्‍चिमतिर भौंतारिहिँडेका अमर सुब्बाले पहिले ‘जीवनमा के हुने? के गर्ने?’-को चिन्ता लिएका थिएनन्। उनी भन्छन्, ‘हामीले सत्य लुकाउनु हुँदैन। म पहिला धुम्रपान सेवन गर्थेँ, मदिरा सेवन पनि गर्थेँ। जीवनका लागि केही सोचेकै थिइन।’ तर, जतिबेला जीवन अर्थात सुन्दर भविष्यका लागि र यो समाजका लागि केही गर्नुपर्छ भन्ने उनको चेत खुल्यो, त्यो बेला निक्कै ढलो भइसकेको थियो। किनभने सानै उमेरमा विवाह गरिसकेका थिए। उनीसित पारिवारिक जिम्मेवारी थियो। तर भविष्य अनिश्‍चित नै। यति भएर पनि अमर सुब्बाले हार खाएनन्।
यतिबेला जीवनमा केही त गर्नैपर्छ भन्ने सोच बनाएका सुब्बालाई रुपियाँको खाँचो थियो, सम्पत्तिको आवश्यकता थियो। त्यसैले आफ्ना पितासित आफ्नौ पुर्ख्यौली जमीन मागे। उनका पिताले त्यसलाई ‘पुर्ख्यौली चिनो’ भनेर जमीन नदिएका भए अमर सुब्बाले त्यो जमीन बेच्न सक्ने थिएनन् अनि अमर सुब्बा आज ‘म्याराथनम्यान’ बन्ने थिएनन्। उनी भन्छन्, ‘म के गर्दैछु भन्ने पापालाई थाहा थिएन। म त बस केही बन्न चाहन्थेँ त्यो समय। तर मेरो जिन्दगीलाई अघि बढाउन मैले राखेको मेरो प्रस्तावलाई स्वीकार्नु भयो। यसरी मेरो सफलतामा पापाले पनि योगदान पुर्याउनु भएको छ।’
म्याराथन अथवा खेल गजतमा सुरक्षित ‘करियर’-सितै इज्जत, मान-सम्मान पनि छ भन्ने विश्‍वास राख्ने अमर सुब्बा ‘तपाईंले म्याराथनमा के पाउनु भयो र के चाहिँ गुमाउनु भयो त?’ भन्ने प्रश्‍नमा भन्छन्, ‘के गुमाएँ र के पाएँ..! यो राम्रो प्रश्‍न गर्नुभयो’ भन्दै ‘उसो त धेरै कुरा अघिबाटै गरिसकियो यहाँ। यसमा गुमाएका कुराहरू पनि भए जस्तै पापाले पुर्ख्यौली जमीन नदिनु भएको हो भने त्यो जमीन आज हुन पनि सक्थ्यो अनि नहुन पनि सक्थ्यो।’ भन्छन्। उनी अझ भन्छन्, ‘अघि भनेको थिएँ ‘पहिले बाटोमा थिएँ म, अहिले त्यो बाटो नै मेरो परिचय बनेको छ’, यसले गर्दा यो समाज, यो राज्य, यो देशले नै मलाई माया दिएको छ, इज्जत दिएको छ। सबैभन्दा ठूलो तर मैले एकजना नकारात्मक विचार भएको, नकरात्मक व्यवहार भएको अमर सुब्बालाई गुमाएको छु अनि सकारात्मक विचार भएको अमर सुब्बा पाएको छु।’ सकिन लागेको ‘फस्ट फ्लस’-को सुरुपसितै मलाई हेर्दै उनी, स्वयंलाई ‘सफल’ मात्रै होइन एक ‘असल’ म्याराथनम्यान बनाउन चाहने बताउँछन्।
सफलताको श्रेय दिनपरे कस-कसलाई सम्झनुहुन्छ यतिबेला भन्ने मेरो प्रश्‍नमा उनी भन्छन्, ‘सप्पैको नाउँ लिएर सकिन्न। हजारौं छन्। विभिन्न सङ्घ-संस्था छन्, विभागीय अधिकारीहरू छन्, सरकार छ। सरकारद्वारा त मलाई राज्य दिवसमा खेल सम्मानले नै प्रोत्साहित गरेको छ। धेरै छन्।’ युवा खेलाडीहरूलाई सन्देशस्वरूप उनी भन्छन्, ‘खेलकुदले मानव मस्तिष्कसितै शरीरलाई स्वस्थ राख्छ। यसमा इज्जत छ, सम्मान छ। यसमा ‘करियर’ छ। त्यसैले कुनै पनि खेल क्षेत्रलाई अप्नाउनु राम्रो हो। एक असल र सफल खेलाडी बन्नलाई हामीमा इमान्दारी, मेहेनत र लगनशीलता हुन जरुरी छ’, उनी भन्छन्।
स्मरणीय, म्याराथनम्यान सुब्बाले लिम्का बुक अफ रेकर्डस्मा नाम गर्दा गराउन सफल बनेपछि धेरैवटा प्रतियोगिताहरूमा भाग लिए अनि सफलताहरू हात पार्दै गए। उनले 2012-मा ‘एयरटेल हैदरबाद म्याराथन’-मा 42 किलोमिटरको दूरूत्व सफलतापूर्वक पूरा गरेका थिए भने 2012-मै ‘अल इण्डिया अल्ट्रा म्याराथन बङ्गलोर’-मा 100 किलोमिटरको दूरुद्व पूरा गर्दै 10औं स्थानमा आउन सफल बनेका थिए। यसरी नै नोभेम्बर 2014-मा 6010 मिटरको ‘माउण्ट तिङजिङखाङ सिक्किम हिमालय’-को आरोहण गरेका थिए भने 2014-मै बङ्लोरमा सम्पन्न ‘अल इण्डिया 12 आवर स्टेडियम म्याराथन च्यालेञ्ज’-मा 96 किलोमिटरको दूरी पूरा गर्दै तेस्रो स्थानमा आउन सफल बनेका थिए। 2015-मा उनी महाराष्ट्रमा सम्पन्न ‘रगेडियन अब्सटेकल्स् रेस’-का विजेता हुन् भने 2016-मा मात्रै उनी ‘अल इण्डिया 12 आवर स्टेडियम म्याराथन च्यालेञ्ज’-मा 95.6 किलोमिटरको दूरी पूरा गर्दै पाँचौं स्थानमा आएका छन्। अहिले पनि उनी यस्तै धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूका निम्ति तयारीमा व्यस्त छन्। म्याराथनम्यान अमर सुब्बालाई सँधै सफलताको कामना।-19.07.2016 (20 जनवरी 2016-को समय दैनिकबाट।)

No comments:

Post a Comment