Friday, July 8, 2016

प्रार्थनाहरूमा हाम्रो देश...

-अर्जुन ‘'यावा’
मन्दिरमा दिनको प्रथम उज्यालोसितै
शंख र घण्टी बज्छ/बज्दै आएको छ/बजिरहेछ
हो बज्नुपर्छ, बिर्सिइनु हुन्न।
पिँढीदर पिँढी मन्दिरमा शंख-घण्टी बजिरहेछ/बज्नुपर्छ
आरती, भजन, किर्तन हुनुपर्छ।
शान्ति, भाइचारा र एकताको
प्रार्थनामय दश औंला जोडिनुपर्छ
ऊँ मन्त्रोच्चारण हुनुपर्छ/ भइरहेछ
गीता र वेद पढिइन्दैछ/ पढिइनुपर्छ।
...
गुम्पामा प्रत्येक बिहान, मध्यान्न र साँझपख
ऊँ मने पेमे पद्मे हूँ-को उच्चारण भइरहेकै छ
108-माला जपिन्दै छन्/जपिनुपर्छ
हो, हरेक दिन माने घुमिइरहेकै छ/पर्छ
हरेक दिन ग्यालिङ बजिरहेछ/बज्नुपर्छ
शान्ति, भाइचारा, एकताको पाठ पढिनुपर्छ
बुद्धम, शरणम, गच्छामी- गाइनुपर्छ
प्रत्येक बिहान यहाँ पोस्तक पाठ गरिनुपर्छ।
...
गिर्जा घरहरूमा हरेक बिहान
पास्टर, फादर, ब्रदर र सिस्टरका ओंठहरू
प्रार्थनाका शब्दहरू गाउँछन्
वृद्धदेखि साना बालकसम्म
थाहा छैन, कहिलेदेखि पवित्र बाइबल पाठ गरिरहेछन्
शान्ति, शान्ति अनि शान्ति...
हे ईश्वर! गल्तिहरूमा हामी अज्ञानीलाई क्षमा देऊ
यहाँ एकता र अखण्डताको भावना सिर्जना गरिदेऊ।
...
हो, यहाँ हरेक बिहान, हरेक साझँ र हरेक दिन
मन्त्रोच्चारण हुन्छ/गरिन्छ यसरी नै शान्तिको
मनोकामना राखिन्छन् अनेकतामा एकताको।
हो यहाँ हरेक बिहान, हरेक साँझ, हरेक दिन
वेद पढिन्छ, पोस्तक पाठ हुन्छ, बाइबल र कुराण खोलिन्छन्
हो यही त हो हाम्रो महान देश
धर्महरूको देश/घर्मनिरपेक्षताको देश।
...
सायद भन्लान कसैले यहाँ,
गर्लान कसैले प्रश्न यहाँ
खै त देश यहाँ, खै त राष्ट्र यहाँ?
भन्लान कसैले यहाँ
प्रार्थनाहरूमा देशलाई खोज
एकता र अखण्डताको राष्ट्र खोज।
...
कसैले यदि प्रश्‍न गरे भनिदिने छौं हामी
'‘हे ईश्वर! हाम्रो राष्ट्रप्रति कृपा गर’- होइन
‘'हे ईश्वर! यी संयुक्त राज्यहरूप्रति कृपा गर’- जस्तै
देशलाई प्रार्थनाहरूमा टुक्राउनु पर्दैन, परेको छैन यहाँ।
...
हो, इतिहाँस घरिघरि दोहोरिने छैन यहाँ
कुनै शिखको आपदमा गुलाबसिंह चुप लाग्ने छैन
शिखहरू कसैको दुःखमा मुक दर्शक बन्ने छैनन् अब।
प्रार्थनाहरूमा नहराउने, यो हो धर्मनिरपेक्षताको देश
वेद-गीता, पोस्तक, कुराण र बाइबलसितै
‘इण्टिग्रेशन’-का कुराहरू खोजिहरनु पर्नेछैन अब।
* * *
20.11.2011, गान्तोक

No comments:

Post a Comment