Friday, December 16, 2016

नोटबन्दी र शीतकालीन सत्र

प्रधानमन्त्री नरेन्द्र मोदीले 8 नोभेम्बरको दिन नोटबन्दीको घोषणा गर्ने बित्तिकै देशभरि नै ठूलो हलचल मच्चिएको थियो। देशदेखि विदेशहरूमा पनि नोटबन्दीको चर्चा हुनथालेको थियो। प्रधानन्त्री मोदीले जुन उद्देश्य राखेर नोटबन्दीको घोषणा गरे, त्यसले पहिले त समग्र देशबासीलाई नै चकित नतुल्याएको होइन। यद्यपि, पछिबाट देशमा बहुमतले यस घोषणालाई स्वीकार गरेको छ। अतः यहाँबाट के बुझिन्छ भने प्रधानमन्त्री नरेन्द्र मोदीले देशको अर्थव्यवस्थामा सुधार गर्न कालोधन, भ्रष्टाचार, नक्कली रुपियाँ र आतङ्कवादजस्ता कुराहरूलाई विकलाङ्ग बनाउने जुन सोच लिएर यो निर्णय लिएका थिए त्यसलाई देशबासीले स्वीकार गरेका छन्। ‘केही दिन समस्या झेल्नुपर्छ, तर प्राधानमन्त्रीले लिएको निर्णय अथवा घोषणा स्वागतयोग्य छ’ भन्ने जनमन्तव्य आइरहेकै छ।
नोटबन्दीको घोषणा गरिएको ठीक 8 दिनपछि शुरू भएको थियो संसद सभा। अघिबाटै सबैले अनुमान लगाएजस्तै संसद सभामा अरु सबै मुद्दाहरूलाई पछि राखेर अहिलेसम्म पनि एउटै कुरामा दुवै सदनका दुवै सभा नोटबन्दीलाई लिएर हलचल हुन नसक्ने अवस्थामा छ। संसदको शीतकालीन सभा शुरूदेखि नै निरन्तर बाधित छ। शीतकालीन सभा शुरू भएको आज 24औं दिन पनि पुनः 14 दिसम्बरसम्मका लागि स्थगित गरिएको छ। शीतकालीन सत्र आगामी 16 दिसम्बरसम्म चल्ने अघिबाटै तय भइसकेको हो। यद्यपि, विपक्षीहरू नोटबन्दीको मुद्दालाई लिएर कुनै सम्झौता गर्ने पक्षमा छैनन्। बिहिबार चलेको सभा पनि विपक्षहरूको व्यवहारकै कारण शुक्रवार अथवा आजसम्मका लागि स्थगित गरिएको थियो भने आज पुनः दुवै सभामा विपक्षीहरूले हङ्गामा मच्याएका कारण आगामी 14 दिसम्बरसम्मका लागि दुवै सभालाई स्थगित गरिदिइएको छ।
संसदसभा हुनु अन्ततः देशहित र देशको विकासका लागि हुनुपर्ने हो। त्यसैले यदि कुनै विषयमा बहशपछि निर्णय लिइनुपर्ने वा बजट पारित गरिनु हो। बहशका लागि पक्ष र विपक्षी दुवैतर्फबाट तर्क राखिनु जरुरी हुन्छ। मूलतः अहिले संसदको दुवै सभा घरिघरि बाधित हुनुको एउटै कारण हो नोटबन्दी। राज्यसभालाई सत्तापक्षले सम्हाल्न नसकिरहेको हो कि भन्ने भान हुन्छ भने लोकसभामा त स्पष्ट छ कि विपक्षीहरूले आफ्नो बहुमतको दबाव पारिरहेका छन्। यसले गर्दा संसद सभा बाधित हुनु भनेको देशको हित र विकासका लागि लिइनुपर्ने साझा निर्णयहरूमाथि पनि बाधा हुनु हो। यसैले संसद सभालाई लिएर सत्तापक्ष त असन्तुष्ट रहने नै हो, तर राष्ट्रपतिसमेत रुष्ट देखिन्छन्। यतिमात्र होइन देशका जनता पनि अहिलेघरि संसद सभाको शीतकालीन सत्रलाई लिएर आक्रोशित बन्न थालेका छन्।
संसद सभामा अहिले जुन मुद्दा उठिरहेको छ नोटबन्दीको, त्यसको समाधान भनेको पक्ष र विपक्ष दुवैमाझ चर्चा, बहश वा तर्कबाटै हुने हो। यसैको निम्ति सत्तापक्षले विपक्षीलाई घरिघरि निम्त्याइरहेको छ। अर्कोतिर यसको ठीक विपरीत विपक्षीहरू संसदमा प्रधानमन्त्री आउनुपर्ने एउटै मागलाई लिएर अडिग रहेका छन्। यता प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई 50 दिन मागेका छन् 70 वर्षदेखि लाग्दै आइरहेको ‘लाइन’ तोड्न अनि देशको विकासगति बढाउन, देशलाई कालोधनमुक्त बनाउन, भ्रष्टाचारी र आतङ्कवादहरूलाई सडकमा उतार्न। नोटबन्दीको 30 दिन पूरा भइसकेको छ। रुपियाँलाई लिएर देशभरि जुन हलचल मच्चिएको थियो, त्यो केही हद समाधान भइरहेको छ। यसका विभिन्न उपायहरू खोजिरहेकै छ सरकारले, जसको निम्ति छुट्टै समिति नै गठन पनि गरेको छ।
प्रधानमन्त्रीले देशबासीसित मागेको 50 दिनबाट रहेको छ हातमा लगभग 20 दिन। अर्थात, दिसम्बरको लगभग अन्तिमसम्म। त्यसअघि नै संसदसभा 16 दिसम्बरको दिन सकिने छ। यद्यपि, अहिलेसम्म नोटबन्दीलाई लिएर कुनै निर्णय हुनसकिरहेको छैन भने अझै 14 दिसम्बरसम्म दुवै सभालाई स्थगित गरिएको छ। रहेको दुई दिनमा संसदले के निर्णय लिने हो त? कतिवटा र के-के बजट पारित होलान् त? के अहिलेसम्म बाधित बन्दै आएको संसदको शीतकालीन सत्रको रहल दुई दिनमा कुनै सकारात्मक निर्णय हुनसक्ला? अथवा एकमहिने लामो अवधिमा जे-जति विषयमाथि चर्चा र निर्णय हुनसक्ने सम्भावना थियो त्यो रहेको दुई दिनमा सम्भव होला? आजदेखि चार दिनपछि पुनः सञ्चालन हुने संसद सभालाई सफल पार्न सरकारले कस्तो गोटी फ्याँक्ने हो? त्यसको निम्ति पर्खनुबाहेक अर्को विकल्प अहिले देखिँदैन। संसद तार्किक निष्कर्षमा पुग्छ भन्ने अपेक्षा देशका नागरिकहरूको रहेको छ।-09.12.2016

सिक्किमको अनुसरण गर्दै केन्द्र

सिक्किमले हरेक क्षेत्रमा नै आफैलाई उदाहरण बनाउँँदै देशको विकासमा योगदान पुर्‍याइरहेको छ। फलस्वरूप देशमा मात्र होइन सिक्किम विस्तारै विश्‍वमै चर्चामा आइरहेको छ। तीमध्ये जैविक खेती एउटा राम्रो उदारहण लिन सकिन्छ। जैविक खेतीको लागि विश्‍वमा पहिलो राष्ट्र क्युबापछि भारतको 22औं राज्य सिक्किमलाई चिन्न थालिएको छ। 18 जनवरी 2016-मा प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किम मै आएर सिक्किमलाई देशको पहिलो जैविक राज्य घोषित गरेका थिए। यो घोषणासितै सिक्किमको चर्चा विश्‍वस्तरमा हुन थालेको हो।
राज्यले गरिरहेका विभिन्न कार्यहरूसितै जैविक खेतीमा पनि देशले सिक्किमलाई अनुसरण गरिरहेको छ। यस क्षेत्रमा केन्द्रले अघिबाट विभिन्न पहल गरिरहेको छ। देशका विभिन्न राज्यहरूमा जैविक खेतीलाई बढावा दिँदै यसको प्रचार-प्रसारको क्षेत्रमा पनि उत्तिकै जोर दिइरहेको छ। गत 27 नोभेम्बर कै दिन मात्र केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री राधा मोहन सिंहले भारत सरकारले देशभरिमा जैविक कृषिलाई बढावा दिरहेको बताएका थिए। वर्तमान स्थितिमा जैविक खेतीको महत्व र उसको लाभलाई ध्यानमा राखेर भारत सरकारले देशभरि जैविक खेतीको महत्व र यसको लाभलाई ध्यानमा राखेर देशभरि नै जैविक कृषिलाई बढावा दिइरहेको छ। सरकारले यसको निम्ति राष्ट्रिय सततः कृषि अभियानअन्तर्गत परम्परागत कृषि विकास योजना (पीकेवीवाइ) र पूर्वोत्तर क्षेत्रको निम्ति जैविक मूल्य शृङ्खला विकास (ओवीसीडीएनईआर) योजनाहरू अघिबाटै शुरू गरिसकेको छ।
शुरू केन्द्र सरकारले जैविक खेतीलाई समतल, पहाडी एवं आदिवासी क्षेत्रहरूमा बढावा दिने योजना बनाएको छ। यी क्षेत्रहरूमा रासयनिक उर्वरक एवं कीटनाशकहरूको प्रयोग थोरै हुने हुनाले यी क्षेत्रहरूलाई चयन गरिएको हो। यस विषयमा गत 27 नोभेम्बरको दिन देहरादूनमा राष्ट्रियस्तरमा जैविक खेती सम्मेलन नै आयोजन पनि गरिएको थियो।
यहाँ स्मरणीय कुरा के छ भने, जैविक कृषिले केवल वायु, जल एवं माटोबाट अत्याधिक रसायन पदार्थहरूलाई कम गर्ने र पर्यावरणलाई पनि स्वच्छ गर्ने मात्रै नभएर यसले लामो अवधिसम्म स्वस्थ अथवा खेतीयोग्य माटोलाई तयार गर्नु र जैव-विविधतालाई विकसित गर्नुसितै संरक्षित गर्नमा पनि सहयोग पुर्‍याउँछ। केन्द्र सरकारको यस पहलअन्तर्गत वर्ष 2015-16 को अवधिमा जैविक प्रमाणअन्तर्गत वर्तमानमा जैविक कृषिको कुल क्षेत्र 14.90 लाख हेक्टरको प्रयोग गरिँदै छ। यद्यपि, कतिपय कृषकहरूले आर्थिक विपन्नताका कारण यसलाई अप्नाउन सकिरहेका छैनन्। यसकारण घरेलू जैविक मण्डी विकासको निम्ति विकेन्द्रीकृत जैविक खेती प्रमाणन प्रणालीअन्तर्गत पीजीएस (पार्टिसिपेटरी ग्यारेण्टी सिस्टम)-भारत कार्यक्रम शुरू गरिसकेको छ।
परम्परागत कृषि विकास योजना (पीकेवीवाई) कार्यक्रम केन्द्र सरकारको पहिलो व्यापक योजना हो जसलाई अहिले एउटा केन्द्रिय प्रायोजित कार्यक्रम (सीएसपी)-को रूपमा शुरू गरेको छ। यस योजनाको कार्यान्वयनप्रति 20 हेक्टेयर समूह आधारमा राज्य सरकारहरूद्वारा गरिने भएको छ। यस योजनाअन्तर्गत कृषकहरूलाई 1 हेक्टरसम्मको वित्तीय सहायता दिइने छ भने 3 वर्षको अवधिसम्म प्रतिहेक्टयर 50,000 रुपियाँ दिइने छ। 2 लाख हेक्टयर क्षेत्रलाई समावेश गर्दै 10,000 समूहहरूलाई बढावा दिने लक्ष्य रहेको छ।
अहिले विश्‍वबजारमा जैविक खेतीको जुन माग बढिरहेको छ, त्यो राज्यको निम्ति चुनौतीजस्तै भइरहेको छ। किनभने सिक्किमलाई जैविक राज्य घोषित  हुने बित्तिकै विश्‍वबजारमा जैविक उत्पादको माग बढेर गएको छ। जैविक उत्पादको मागअनुसार राज्य तथा देशमै पनि उत्पादन हुन सकिरहेको छैन। त्यसैले राज्यसितै केन्द्रले पनि अहिले विभिन्न योजना शुरू गर्दै जैविक खेतीलाई बढावा दिइरहेको छ। निश्‍चितरूपमा यसको फाइदा राज्यले पनि उठाउनसक्नेछ भने अब राज्यका कृषकहरूले पनि आफैलाई यसतर्फ अग्रसर गराउँदै अघि बढ्नुपर्ने देखिन्छ। जैविक कृषि प्रणालीलाई उत्पादनको दृष्टिले मात्र नहेरेर यसलाई पर्यामैत्री  दृष्टिबाट पनि हेर्नुपर्छ। जसलाई अहिले देशले अनुसरण गर्न गइरहेको छ।-02.12.2016

नोटबन्दी र पर्यटन व्यवसाय

सधैं बेरोजगारीको समस्यासित जुझिरहने विश्‍वले समाधानका उपायहरूमध्ये सरकारी नोकरी र औद्योगिक क्षेत्रलाई एकातिर सारिदिनु हो भने पर्यटन व्यवसायलाई नै पहिलो स्थानमा पाउँदछ। देशको सन्दर्भमा हेरिनु हो भने पर्यटन व्यवसाय सबैभन्दा ठूलो उद्योगको रूपमा जानिन्छ। देशको राष्ट्रिय सकल घरेलु उत्पा (जीडीपी)-मा 6.23 प्रतिशत पर्यटन व्यवसाय रहेको छ भने देशको कूल रोजगारको 8.78 प्रतिशत रोजगारी पर्यटन व्यवसायीहरू छन्। वार्षिकरूपमा 5 मिलियन विदेशी पर्यटकहरू आउने भारत ‘विश्‍व यात्रा तथा पर्यटन परिषद’-अनुसार पर्यटनको मुख्य आकर्षक केन्द्र बन्ने भएको छ।
यही कुरालाई यदि सिक्किमको सन्दर्भमा हेरिनु हो भने पर्यटन विभागले मर्यटन मन्त्रालयलाई बुझाएको एउटा रिपोर्टअनुसार 6 लाखअधिक कूल जनसङ्ख्या रहेको सिक्किममा प्रतिमहिना प्रत्येक जिल्लामा 6 हजार पर्यटकहरू आउने गर्छन्। वर्तमानमा देशकै मुख्य पर्यटन केन्द्रको रूपमा लोकप्रिय बन्दै अघि बढिरहेको सिक्किमको निम्ति यो खुशी कुरा स्वीकार्नुपर्छ। सिक्किम सरकारले राज्यको पर्यटन व्यवसाय विकासको निम्ति जुन पहल गरिरहेको छ, राज्यमा प्रतिवर्ष पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुनु पनि त्यसको परिणाम  हो। पर्यटन व्यवसायले देशमा जुन भूमिका निर्वाह गरिरहेको छ ठीक त्यही अवस्था सिक्किममा पनि पाउन सकिन्छ। अथवा, सिक्किमको निम्ति पनि पर्यटन व्यवसाय मुख्य आयश्रोतको माध्यम हो, बेरोजगारी समस्या समाधानको सरल र असल माध्यम पनि।
गएको 8 नोभेम्बर 2016-को दिन प्रधानमन्त्री नरेन्द्र मोदीले 500 र 1000-को नोटबन्दीको जुन धोषणा गरे, अहिले त्यसको चर्चा देशभरि मात्रै होइन विदेशहरूमा पनि चलिरहेको छ। मूलरूपमा कालो धन, नक्कली रुपियाँ, भ्रष्टचार र आतङ्कवादको विरुद्धमा लिइएको निर्णय अहिले समग्रमा देशले स्वीकार गरिसकेको छ। औपचारिकरूपमा अहिले यसको विभिन्न चर्चा-परिचर्चा भइरहेको भए पनि आम मानिस अथवा देशका नागरिकले यसलाई स्वीकार गरिसकेको छ। कतिपय नेताहरूले यसलाई स्वीकार गर्न सकिरहेका छैनन् भने संसदको शीतकालीन सत्रको आठौं दिन आज शुक्रबार पनि नोटबन्दीको मुद्दामा राज्यसभा र लोकसभामा दुवै सदनमा हङ्गामा भएपछि स्थगित गरियो। नोटबन्दीमाथि नै सर्वोच्च न्यायालयले 25 नोभेम्बरमा सुनाउने निर्णय भने 2 दिसम्बरसम्मको लागि स्थगित गरिएको छ। अर्कोतिर नोटबन्दीको यो छोटो अवधीमा देशभरिका ब्याङ्कहरूमा जुन रकम जमा गरिएको छ अनि देशको अर्थव्यवस्थामा जुन परिवर्तन आएको छ त्यो वास्तवमै उल्लेखयोग्य छ। भनौं यो छोटो अवधीको निम्ति अप्रत्याशित नै थियो।
अर्कोतिर, यसले देशलाई नकारात्मक प्रभाव पनि पारिरहेकै देखिन्छ। विशेषगरी पर्यटन व्यवसायको क्षेत्रमा। विश्‍वपर्यटनको क्षेत्रमा भारत जुन प्रगितमापथमा छ अथवा देशको पर्यटन क्षेत्रमा सिक्किमले जुन उचाइ समाएको छ, त्यसमा पनि प्रभाव परिरहेको छ। अघि भनियो, पर्यटन व्यवसाय बेरोजगारी समस्या समाधानको सरल र असल माध्यम हो। नोटबन्दीले ठीक यही कुरालाई अहिले आफ्नो चपेटमा ल्याउने भएपछि देशका साधारण जानता पनि यसको चपेटमा पर्नेहुन्छ।
नोटबन्दीको निर्णयपसितै रुपियाँ जमा गर्ने र निकाल्ने सीमारेखा तय गरिदिइएको छ। नोटबन्दीले आफ्नो लक्ष्यलाई त भेटिरहेकै छ। यद्यपि, पर्यटन व्यवसायलाई यसले जुन प्रभाव परिरहेको छ त्यसले देशका साधारण जनतालाई पनि प्रभाव पारिरहेको छ। पर्यटन व्यवसाय अथवा जुन व्यवसायसित वाहन चालक, होटल, टुर्स एण्ड ट्राभल्स आदि सबैलाई प्रभाव पार्ने हुन्छ। 8 नोभेम्बरको दिन प्रधानमन्त्रीले जुन निर्णय लिएका थिए त्यसले निश्‍चय समग्र देशलाई नै फाइदा पुगेको छ। यद्यपि, यसबाट हुने नकारात्मक प्रभावहरूलाई कसरी समाधान गर्न सकिन्छ? यी कुराहरूलाई पनि उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ।-25.11.2016

तिम्रो निम्ति भनेर

तिम्रो निम्ति भनेर, संसार भुलिदिएँ
तिम्रो निम्ति भनेर घरबार तोड़िदिएँ।
तिम्रै खुशीमा आफूलाई समर्पण गरेथेँ
तिम्रै खुशी चाहँदा-चाहँदै आज एकलो भएँ।

बिर्स्यौ होला तिमले त सँगै बाँच्ने कसम खाएको
बिर्स्यो होला देउराली साक्षी राखी सिन्दुर हालेको
के भूल भयो मबाट त्यस्तो एकफेरि भनिदेउ
कहिले भयौं तिमी पर थाहै पाइन हात छोड़ेको।

भन्थ्यौ कहिले एकलो रातहरू बिताउँदैछु
भन्थ्यौ कहिले मातहरूसित रात बिताउँदैछु
भन्थ्यौ आफ्नो भएर साथ नभए पछि
पिएर धेरै मनका घातहरू म भुलाउँदैछु।

सँगै जिउने बाचा-कसम सबैसबै तोड़ेर
त्यही घात दियौ मलाई प्रेमको उपहार
तोड़ेपछि तिम्रै लागि सबै नाता-सम्बन्धहरू
बाँज्दैछु म यो जीवन एकलो-एकलो भएर।

10.12.2016

केही पल बित्यो


केही पल बित्यो,
केही वर्ष बित्यो
केही घटना घट्यो,
केही समय बित्यो
तिमीसँग जुनी बितेन, जीवन बितेन।

अझै समय छ केही गर्ने
अझै समय छ केही बन्ने
बाँच्छु तिमी साथ नभए नि
हास्छु मनमा चोटै दिए नि।

भुलेको छुइन मधुर मुस्कान
भुलेको छुइन तिम्रो त्यो स्पर्श
घातहरूले धेरैलाई मार्छन् रे
त्यही घातमा बाँचेर म हेर्छु।

10.12.2016

Sunday, November 20, 2016

नोट बन्दपछि अब के हुने?

देशमा मोदी सरकारले 8 नोभेम्बरको दिन देश र देशवासीको हित तथा विकासलाई ध्यानमा राख्दै भ्रष्टचार, कालोधन, आतङ्कवादजस्ता कुराहरूलाई रोक्न पाँचसय र हजारको नोट बन्द गर्ने जुन निर्णय सुनायो त्यसैको चर्चा अहिले देशभरि नै छ। यो निर्णयले देशभित्र मात्र होइन विदेशमासम्म लुकाएर राखेको कालोधनको खुलासा हुने अथवा व्यर्थ हुने निश्‍चित रहेको कुरा चर्चाको विषय छ। यस कुराले केहीपक्ष असन्तुष्ट देखिएका भए पनि अर्को ठूलो पक्षमा खुशी देखिन्छ। यी त भए सिधै कालोधनले कसलाई कस्तो प्रभाव पारिरहेको छ अनि त्यसको प्रतिक्रिया के-कस्तो आइरहेको छ भन्ने विषय। यद्यपि, अर्को एउटा यस्तो पक्ष वा समूह छ जोसित सानो हेलचेक्राइ वा अज्ञानताका कारण आफुमा भएको इमान्दारी र परिश्रमको कमाई पनि व्यर्थ जाने निश्‍चित देखिन्छ।
अहिले हरेक ठाउँ निम्न तहदेखि नेताहरूसितै प्रशासनिक पक्षमा पनि यसैको चर्चा चलिरहेको छ। समग्रमा थोरैले यसको विरोध जनाइरहेका भए पनि अधिकांशले समर्थन नै गरेका छन्। राष्ट्रियस्तरमा पनि हेरिनु हो भने दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, पश्‍चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी,  मायावतीलगायत थोरैले मात्र विरोध जनाइरहेकी छन्। उसो त मानिसहरूले कतिपय निर्दिष्ट सीमारेखासितै बाँधिएर रुपियाँ साट्ने, निकाल्ने र जमा गराउनुपर्ने भएकाले पनि समस्या उठाउनु परिरहेकै छ। यद्यपि, ‘मोदी सरकारले यो समग्र देशवासीको हितमा लिएको निर्णय हो’ भन्ने मन्तव्य दिइरहेका छन्। अथवा, मोदी सरकारले अहिले देश र देशवासीको हितलाई ध्यानमा राखेर जुन निर्णय लिएको छ त्यसमा जनतालाई पूर्ण विश्‍वास छ। आम नगरिकदेखि राजनेताहरू सबैलाई हेरिनु हो भने के बुझिन्छ भने, केन्द्र सरकारले जुन निर्णय लिएको छ त्यो वास्तवमा देशहितमा छ अनि जसलाई यी कुराहरू पाच्य छैन, उनीहरू पनि खुलेर बोल्न सक्ने अवस्थामा छैनन्।
तीनदिनदेखि चलिरहेको लोकसभामा काँग्रेससहित सबै विपक्षी पार्टीहरूले पाँचसय र हजारको नोट अमान्य गर्ने सरकारको निर्णयको मुद्दामाथि कार्यस्थगनको प्रस्ताव लिएर आएका थिए। यस मुद्दालाई लिएर प्रश्‍नकालमा विपक्षीहरूले हङ्गामा पनि मच्याएका थिए। यसबाट कृषक, मजदूरहरू र साना कारोबारीहरूसमेत आम मानिसहरूलाई समस्या भइरहेको विपक्षीहरूको आरोप छ। यसैको विरोधमा ममता र केजरीवालले 17 नोभेम्बरको दिन आरबीआइबाहिर धरनामासमेत नबसेका होइनन्। यद्यपि, जनता वा कृषकवर्गले थोरै समस्या झेल्नुपरे  पनि सरकारको निर्णय स्वीकार्य रहेको खुलस्त पारिसकेका छन्।
माथि भनिएको थियो, यहाँ एउटा त्यस्तो समूह पनि छ जसले आफ्नो सानो हेलचेक्राइ वा अज्ञानताका कारण दुःख पाइरहेका छन्। वास्तवमा उनीहरूले वर्षौंदेखि दुःख गरेर, पसिना चुहाएर भविष्यका लागि भनेर कमाइराखेको सम्पत्ति अहिले व्यर्थ जाने भएकाले चिन्तित छन्। राज्य र केन्द्र सरकारले सचेत गराउँदा-गराउँदै पनि अहिलेसम्म कुनै व्याङ्क खाता नखोल्नेहरू धेरै छन्। दुःख गरेर कमाएको रुपियाँ सय र हजार होइन लाखौंको हिसाबमा पनि रहेको विस्तारै मानिसहरूले उजागर गरिरहेका छन्। अहिले व्याङ्कमा नयाँ खाता खोलेर कर तिरेरै पनि ती रुपियाँहरू जमा गर्न चाहेको खण्डमा पनि यो सम्भव होला त? भन्ने कुराले त्यो समूह अहिले पीडित छ। यसको उपाय वा समाधान के हुन सक्ला? धेरैलाई यसको प्रतीक्षा छ।
अर्को कुरा, मोदी सरकारले पाँचसय र हजार रुपियाँको नोट बन्द गर्ने जुन निर्णय लिएको छ, त्यसको उद्देश्यबारे शुरूमा भनिएको छ। यद्यपि कालोधन, भ्रष्टचार र आतङ्कवादलाई विफल पार्नु, निस्क्रिय पार्नु अनि देशको अर्थव्यवस्थाको सुधारसितै देश र देशवासीको हित र विकास गरिने यो पहल यतिले मात्र सफल होला त? यो अर्को प्रश्‍न यहाँ उठ्न सक्छ। त्यसैले प्रधानमन्त्री नरेन्द्र मोदीले भनिरहेका छन्- ‘यो त एउटा नमूना मात्रै हो।’ अर्थात यस अभियानमा अझ धेरै त्यस्ता पहलहरू हुनसक्छन्, त्यस्ता निर्णयहरू प्रधानमन्त्रीले सुनाउन सक्नेछन् जसले देशको अझ ठूलो समूहलाई ठुलै झट्का लाग्न सक्छ। यदि त्यसो हो भने कालोधन, भ्रष्टचार र आतङ्कवादको विरोधमा अब हुनसक्ने सम्भावनाहरू के-के हुनसक्लान? धेरैको मनमा यस्तो प्रश्‍न उठ्नसक्छ। के सरकारले जमीन, बिल्डिङ, गाडी, सुन-चादिँ जस्ता अचल सम्पत्तिहरू कस-कसको नाममा कति-कति छ, त्यसको लेखाजोखा होला? जाँच वा छानबीन हुनसक्ला भन्ने प्रश्‍न पनि उठ्न थालेको छ। 18.11.2016

सन्दर्भ : अनुसूचित जनजाति

सिक्किमलगायत गोर्खाबहुल क्षेत्र तथा राज्यहरूमा 11 वटा जात-गोष्ठी (भुजेल, गुरूङ, मंगर, नेवार, जोगी, खस, राई, सुनवार, थामी, याक्खा (देवान) अनि धिमाल)-लाई जनजातिको मान्यता दिलाउने माग चलिरहेकै छ। यस सन्दर्भमा सिक्किम सरकारले काम गरिरहेको छ। प्रो बीके रोय बर्मनको अध्यक्षतामा कमिटी गठन गरेर सिक्किमको ऐतिहासिक पृष्ठभूमिसितै 11 जात-गोष्ठीको धार्मिक, सांस्कृतिक, राजनीतिक तथा सबै प्रकारका पृष्ठभूमिको अध्ययन गरेर उनीहरूलाई अनुसूचित जनजातिको मान्यता दिन बलियो आधार प्रस्तुत गर्दै सिफारिस गरिसकेको छ। यसलाई राज्य सरकारले सिक्किम विधानसभामा पेश गरेर केन्द्र सरकारमा पठाइसकेको छ। यसैको आधारमा पनि केन्द्र सरकारले काम गरिरहेको छ।
गोर्खा जातिभित्रका 11 वटा जात-गोष्ठीलाई अनुसूचित जनजातिको मर्यादा दिलाउने विधेयक सम्भवतः यसै वर्ष हुने संसदको शीतकालीन सत्रमा पेश हुनसक्ने सम्भावना प्रबल बनेको छ। यसको लागि संसदीय कार्य राज्यमन्त्री एसएस अहालुवालियाले पनि जनजाति मामिला मन्त्रालयसमक्ष चाप सृजना गरिरहेका छन्। अहालुवालियाले केन्द्रिय जनजाति मन्त्री जोयल ओरमलाई पत्र पठाएर संसदको शीतकालीन सत्र अघिनै पश्‍चिम बङ्गाल, सिक्किम तथा अन्य गोर्खाबहुल इलाका रहेका राज्य सरकारहरूलाई गोर्खा जातिका 11 वटा जात-गोष्ठीलाई अनुसूचित जनजातिको मर्यादा दिने सम्बन्धमा आ-आफ्नो सुझाउ र अनुमोदनहरू पेश गरिसक्ने निर्देश दिने अपील गरेका छन्। यस पत्रमा उनले हिमाचल प्रदेशका मुख्यमन्त्रीले आफ्नो राज्यका गोर्खा समुदायलाई जनजातिको मर्यादा दिने सम्बन्ध अनुमोदन गरेको विषयलाई पनि उल्लेख गरेका छन्। उनले पत्रमा भनेअनुसार, गोर्खा जातिका 11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिने विषयलाई सम्बन्धित राज्यहरूबाट 31 अक्टोबरभित्रै अनुमोदन गराउन आवश्यक छ। जसलाई हिमाचल प्रदेश सरकारले अघिबाटै अनुमोदन गरिसकेको छ।
यता पश्‍चिम बङ्गालको दार्जीलिङ जिल्ला अनि डुवर्स इलाका साथै सिक्किम राज्यमा पनि गोर्खा समुदाय धेरै सङ्ख्यामा बसोबासो गरिरहेका छन्। उत्तर-पूर्वी राज्यहरूका साथै दिल्ली, उत्तराखण्ड आदि स्थानमा पनि गोर्खा जातिको जनसङ्ख्या धेरै छ। अहालुवालियाले पत्रसित हिमाचल प्रदेशका मुख्यमन्त्री वीरभद्र सिंहको अनुमोदन-पत्र पनि गाभेका छन्। 2 अगस्त 2016-को दिन हिमाचल प्रदेशका मुख्यमन्त्री सिंहले जनजाति मन्त्री जोयल ओरमलाई लेखेको पत्रमा भनिएको छ-हिमाचल प्रदेश राज्यमा पनि गोर्खा समुदायको जनसङ्ख्या धेरै छ। जसले पश्‍चिम बङ्गाल, सिक्किम अनि अन्य राज्यमा बसोबासो गर्ने गोर्खा समुदायले सरह आफ्नो संस्कृति, भाषा, ऐतिहासित आधारहरूको अवलम्बन गर्छन्। जसलाई हिमाचल प्रदेश सरकारले पूर्ण अनुमोदन प्रदान गरेको छ।
स्मरण गराइन्छ, गत 14 सितम्बरको दिन मात्रै यी 11 वटा जात-गोष्ठीलाई अनुसूचित जनजातिको मर्यादा दिलाउनको लागि केन्द्रिय जनजाति मामिला विभागकी डाइरेक्टर जेनरल विशु मैनीको अगुवाईमा जनजाति निरीक्षण कमिटीको गठन गरिएको छ। विशु मैनीको अगुवाईमा गठन भएको यस कमिटीले तीन महीनाभित्र सिक्किमलगायत अन्य गोर्खाबहुल राज्यहरूको निरीक्षण भ्रमण गरी गोर्खा समुदायका 11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा प्रदान गर्ने सन्दर्भमा आफ्नो रिपोर्ट सङ्कलन गरी मन्त्रालयसमक्ष पेश गर्नुपर्नेछ। पश्‍चिम बङ्गालको विशेष दार्जीलिङ पहाडका राजनैतिक पार्टीहरूले पनि यस दिशामा केन्द्र सरकारसित वार्ता गर्ने, जनजाति मामिला मन्त्री जोयल ओरमसित भेट्ने साथै चाप दिने कार्यहरू पनि समय-समयमा हुँदै आइरहेको छ। अहिले सबैलाई प्रतीक्षा छ यस वर्ष हुने संसदको शीतकालीन सत्रको, जहाँ 11 वटा जात-गोष्ठीलाई अनुसूचित जनजातिको विधेयक पेश हुने सम्भावना प्रगाड छ।

एकताको प्रतीक तिहार

भारतलाई धर्महरूको देश भनेर जानिन्छ, जहाँ विभिन्न   जात-जाति र विभिन्न धर्मावलम्बीहरूको बसोबासो छ। त्यसै यहाँ विभिन्न धार्मिक तथा सांस्कृति पर्व-परम्पराहरू पालन गरिन्छन्। धार्मिक थता सांस्कृतिक दृष्टिले यस्ता पर्व-परम्पराहरू विभिन्न जात-जाति तथा धर्मावलम्बीहरू आ-आफ्नै देखिने भए पनि सम्पूर्ण देशवासी सधैँ एक भएर बाँचिरहेका छन्। त्यसैले अनेकतामा एकताको प्रतीक पनि हुन् यस्ता चाड-पर्व-परम्पराहरू, जहाँ कुनै पनि सबैलाई सधैँ एक भएको देख्न सकिन्छ।
भारतको 22औं राज्य हो सिक्किम। भारतीय सांस्कृतिक एवं धार्मिक पर्व-परम्पराहरूसितै विभिन्न जात-जातिमाझको एकताको प्रतीकको राम्रो उदाहरण हेर्न सकिन्छ यहाँ। सिक्किमलाई जसरी सानो र सुन्दर राज्यको रूपमा चिन्न सकिन्छ, त्यसरी नै भौतिक, आध्यात्मिक तथा सांस्कृतिक विकासका साथै विभिन्न जात-जातिको भाषा-साहित्य, संस्कार-संस्कृति, पर्व-परम्पराहरूको पनि विकासका लागि पनि चिन्न सकिन्छ। विभिन्न जात-जाति अनि ती जात-जातिहरूका भाषा-साहित्य, संस्कार-संस्कृति अनि पर्व-परम्पराहरूको संरक्षण हुन जरुरी हुन्छ। यसो भए मात्र हाम्रो अस्तित्व बाँच्ने हुन्छ। यही नै हाम्रो परिचय पनि हो। त्यसैले हाम्रो संस्का-संस्कृति, भाषा-साहित्य तथा पर्व-परम्पराहरू नै बाँचेन भने भोलि हाम्रो अस्तित्व-अस्मिता नै मेटिएर जाने निश्‍चित छ। अघिका वर्षहरूमा राज्यमा यी सबैको संरक्षण-संवर्द्धनका पहलहरू भएको नदेखिए तापनि 1990-को दशकदेखि यी सबले प्रशय पाएका तथ्यहरू प्रशंस्तै छन्। त्यसैले वर्तमानमा सिक्किम विश्‍वमै परिचित बन्दै गइरहेको छ। किनभने त्यसअघिसम्म यी सबैमा पछि रहेको राज्य वा राज्यवासीले आप्नो संस्कार-संस्कृति इत्यादि  धेरै कुराहरू अरुबाट सिक्नुपर्ने अवस्था थियो भने अहिले त्यही कुराहरू राज्य र राज्यबासीहरूले अरुलाई सिकाइरहेका छन्, देखाइरहेका छन्। अहिले यी कुराहरू नै हाम्रो आयश्रोतको माध्यमसम्म बनिरहेको छ राज्यमा।
संस्कार-संस्कृतिसितै जब पर्व-परम्पराको कुरा गर्छौं हामी, हिन्दुहरूको महान पर्व तिहारलाई एउटा उदाहरण लिन सक्छौं। मूलतः नेपाली जातिले मनाउने तिहारलाई पनि राज्यको एकताको प्रतीक पर्वका रूपमा हेर्न सकिन्छ। किनभने, अहिले यो पर्व वा चाड ‘तिहार’-लाई राज्यका लेप्चा, नेपाली र भोटिया तीनै जाति-समुदायले मनाउँदै आइरहेका छन्। अहिले त व्यापारी समुदायकाहरूलेसम्म यो पर्व पालन गर्ने गरेका छन्। उसो त तिहार मात्रै होइन, राज्यमा दशैं-तिहारसितै तीज, लोसर, लोसुङ, होली सबै  पर्व-परम्पराहरू सबै जातिले मिलेर पालन गर्ने गरेका छन्। सबैले खुशी मनाउँछन्, सबैले आपस्तमा शुभकामना लिने र दिने गर्छन्।
अब ध्यान दिनुपर्ने के छ भने यस्ता चाड-पर्वहरूको अवसरमा हामी खुशी त मनाउँछौं। यद्यपि, त्यस समय हामी हाम्रो स्वास्थ्य, हाम्रो पर्यावारण अथवा वातावरणसितै सुरक्षित समाजको निम्ति कतिसम्म सोच्ने गरेका छौं त? विशेष यो तिहारमा हामी दीयो जलाउँछौं, पहिले पटेका पड्काउँथ्यौं जो अहिले राज्यमा प्रतिबन्ध लगाइएको छ, मदिरा सेवन गर्छौं। तिहारलाई प्रकाशको पर्व भनेर पनि जान्दछौं, जसले जीवनलाई प्रकाशमय पार्नुपर्ने हो, उत्साह र उमंगहरू भरिदिनुपर्ने हो। आपस्तमा मैत्री, भाइचार तथा एकता कायम गर्न सक्नुपर्ने हो। यसो हुनसके समाज पनि सुदृड समाजको आसा गर्न सकिन्छ। त्यसैले हाम्रो कर्तव्य हुन्छ कि राज्यमा कायम जातीय एकता र सद्भावनालाई हाम्रो चाड-पर्वहरूले अझ दह्रिलो बनाओस्। सम्बन्धिक विभागहरूले पनि यस्ता चाड-पर्वहरूका समय कुनै अप्रीय घटना नहोस, अभद्र व्यवहार नहोस अनि समाजलाई अशान्त नबनाओस भनेर सक्रिय रहेको पाइन्छ। यसपालीको तिहार सबैको निम्ति शुभ रहोस। वास्तवमै एकताको प्रतीक बनोस।

बडा दशैं : एकताको पर्व


भारतीय सांस्कृति-पर्वहरूमध्ये हिन्धु धर्मावलम्बीहरूको महान पर्व दशैंको छुट्टै विशेषता छ। बडा दशैंलाई हिन्दुहरूको महान पर्वको रूपमा जानिने भए पनि अहिले आएर यसले समाजका हरेक समुदायलाई एकताको शूत्रमा बाँध्ने काम गरिरहेको पनि पाउन सकिन्छ। त्यसैले दशैंको विशेषता बढ्दो छ।
दशैं र दिवाली जस्तो हाम्रो संस्कार-संस्कृतिहरूसित बाँचिआएको हाम्रो पर्वहरूले एकातिर हामीलाई एकताको शूत्रमा बाँच्ने काम गरिरहेको पाउन सकिन्छ, जसको हिन्दु धर्मावलम्बीहरू मात्र नभएर बौद्ध धर्मावलम्बीहरूमा गहिरो छाप बसेको देखिन्छ। हिन्दू धर्मावलम्बीहरूसँगै बौद्ध धर्मालवम्बीहरूले पनि बडा दशैं र दिवालीलाई हर्षोल्लासका साथ मान्ने प्रचलन हाम्रो समाजमा बसिसकेको छ। यसलाई साम्प्रदायिक एकताको दृष्टिले हेर्न सकिन्छ, जो सामाजिक सद्भावना, सुख-शान्ति र विकासका लागि पनि लाभदायक हुन्छ। अर्कातिर, युवा पुस्तामा हाम्रो संस्कार-संस्कृति तथा चाड-पर्वहरूप्रति मोहभङ्ग हुँदै गइरहेको पनि पाइन्छ। यसका कारणहरू अनेकौं हुनसक्छन्, तर युवा समूहलाई मात्र यसको सीधा लाञ्छना लगाउनु उनीहरूप्रतिको अन्याय पनि हुनजान्छ।
दशैंलाई सरल अर्थमा ‘असत्यमाथि सत्यको जित’-को प्रतीकका रूपमा पनि हेरिएको छ। युवावर्गमा भने अहिले दशैंलाई असत्यमाथि सत्यको जितभन्दा पनि हाम्रो संस्कार-संस्कृति, धर्म-परम्परासितै हामीलाई हाम्रोपनको आभाष गराउने पर्व हो, जोसित हाम्रो अस्तित्व बाँचेको छ भन्ने बुझाउन आवश्यक देखिन्छ। दशैं मात्र हाम्रो एउटा त्यस्तो पर्व हो जहाँ हामी जस्तै परिस्थिति-समस्या, जस्तै आपद-विपदमा पनि रम्ने-रमाउने गर्छौं। आपस्तमा कुनै प्रकारको मन-मुटाव भए त्यसलाई पखालेर पुनःमिलनमा बाँधिन्छौं। अरुबेला हामी जतिकै व्यस्त रहेपनि, जति नै टाडा रहेपनि दशैंमा आपस्तमा भेटघाट गर्न र ठूला-बडाबाट आशीर्वाद थाप्न आइपुग्छौं। बडा दशैंको यो अर्को विशेशता पनि हो। यति भएरै पनि यी कुराहरू विस्तारै लोप हुँदैछैन के? भन्ने प्रश्‍न उठ्नसक्छ तपाईं-हाम्रो मनमा।
दशैंको महत्व, यसको सांस्कृतिक पक्ष अनि हाम्रो जीवनसितै यसको सम्बन्ध के छ भन्ने कुराको युवावर्गले यदि बुझेका छैनन् भने त्यसको भागिदारी हाम्रा अग्रजहरू पनि हुनजान्छन्। त्यसैले यसको चेत हाम्रा अग्रजहरूलाई पनि हुनुपर्छ। आफूहरूले सिकेको संस्कार-संस्कृतिको पालना गर्नाले मात्र त्यसतो जोगाड हुन्छ भन्न सकिन्न। एक पुस्तादेखि अर्को पुस्ताले यसलाई अप्नाउँदै लानु अनि हाम्रो संस्कार-संस्कृति तथा चाड-पर्वहरूलाई बचाउनु हो भने हाम्रा अग्रजहरूले यसको जिम्मेवारी उठाउनु पर्छ अनि युवावर्गलाई पनि बाटो डोहोर्‍याउनु पर्ने हुन्छ। आफ्ना छोरा-छोरी, नयाँ पुस्तालाई वैश्‍विक प्रतिस्पर्द्धामा अघि लगाउनुपर्छ, तर आफ्नो धरातल पनि भुल्न दिनुहुन्न। हामी गाउँदेखि शहर, शहरदेखि विश्‍वका कुनै पनि ठाउँमा पुग्नसक्छौं, तर हामीले हाम्रो संस्कार-संस्कृति नै हाम्रो पहिचान हो भन्ने भुल्नु हुन्न। त्यसैले आजको शिक्षित समाजमा पनि हाम्रो ‘संस्कार-संस्कृति त बाउँ-बाजेले जोगाए कै छन् नि’ भन्ने विचार बाँच्नुहुन्न। जिम्मेवारी बोधन हुनुपर्छ युवावर्गमा पनि।
अहिले बडा दशैंको संघार टेकिसकेका छौं हामी। बडा दशैंले गाउँ-शहर सबैतिर हर्षको माहोल लिएर आवोस। यो समय हामी अति नै उत्साहित बन्नेगर्छौं जसले केहीक्षणपछि नै पश्‍चतापको घेरोमा पर्न सकिन्छ। मद-मदिरा, झाइ-झगडा, आपसी मतभेद जस्ता कुराहरूदेखि टाडा रहेकै असल हुने हामीलाई थाहा हुँदैहुँदै पनि कहिलेकाहिँ हामी त्यसैमा फस्नेगर्छौं। यसैले अघिबाटै यस्ता कुराहरूबाट टाडा रहने चेत राखे यस्ता घटनाहरूबाट हामी बाँच्नसक्छौं। नव दुर्गा भवानीले हामी सबैको जीवनमा सुख-शान्ति, खुशियाली, सदभावना जागृत गरावोस। सबैलाई बडा दशैं 2016-को शुभकामना।-07.10.2016

गान्धीको सपना र देश

भारतीय स्वतन्त्रता इतिहासका पन्नाहरू यदि पल्टाएर हेर्नु हो भने महात्मा गान्धीबाहेक सायद अर्को व्यक्ति बिरलै होलान्, जसले विश्‍व समुदायलाई प्रभावित गरेका छन्। अफ्रिका होस् वा अमेरिका, गान्धीको प्रभाव सार्थक परिणाममा देख्न पाइन्छ। माटीर्न लूथर किङ हुन् वा नेल्सन मण्डेला अथवा वर्तमान अमेरिकी राष्ट्रपति बराक ओबामा नै किन नहुन्, यी सबैको सङ्घर्षमा महात्मा गान्धीको आदर्श अनि उनको चिन्तनशीलता देखापर्दछ।
आज महात्मा गान्धी छैनन् तर गान्धी आज पनि उत्तिकै सान्दर्भिक अनि एक विशेष चर्चाका विषय बनेका छन्। आज गान्धी एक चिन्तनका विषय बनेका छन्। आज पनि प्रश्‍न उठ्छ, गान्धीलाई के भन्ने? के गान्धी एक व्यक्ति विशेष हुन् वा एक चरित्र विशेष अथवा गान्धी के एक अर्थ विशेष हुन्? यदि हामीले यी प्रश्‍नहरूको जवाफ खोजे सायद उनीबारे अनेक तथ्य प्रकट होलान्। गान्धीका आन्तरिक चिन्तन वास्तवमा राष्ट्रवादले ओतप्रोत थियो। गान्धीलाई यदि कट्टर राष्ट्रवादी भन्नु हो भने पनि अत्योक्ति नहोला। गान्धीको विचारमा राष्ट्रको अखण्डताको निम्ति सबैभन्दा बाधक तत्व जातिवाद, धर्मवाद र भाषा जस्ता विषयहरू थिए। अतः उनले जातिवाद, धर्मवाद एवं भाषा आदिमा विभाजनको विरोध सायद यस कारण गरेका थिए, किनभने उनी राष्ट्रवादका समर्थक थिए। राष्ट्रिय एकतामा उनको अगाध विश्‍वास थियो।
गान्धीको निम्ति राष्ट्र सर्वोपरि थियो। कति विद्वान्ले त उनलाई अन्तर्राष्ट्रवादको विरोधी पनि ठान्थे भन्ने थाहा पाइन्छ। तर गान्धी राष्ट्रवादसित सम्झौता गरेर अन्तर्राष्ट्रिय मञ्च स्वीकार गर्न चहाँदैनथे।  त्यसैले गान्धीको राष्ट्रवादलाई भारतीय संविधानमा सायद सम्प्रभूताको नाम दिइएको छ। किनभने, गान्धीको राष्ट्रवादसित राष्ट्रको सम्प्रभुताको पर्याप्त समानता पाइन्छ। गान्धी हिन्दीका समर्थक थिए तर अंग्रेजीका विरोधी भने थिएनन्। गान्धी हिन्दी भाषालाई आम जनताको भाषाको रूपमा, देशको सार्वभौमिक भाषाको रूपमा देख्न चहान्थे। गान्धीको सत्यवादिता एवं अहिंसावादले उनलाई महात्मा बनाएको थियो। गान्धी एक महात्मा भए पनि एक प्रखर राष्ट्रवादी सोचका प्रतीक पनि थिए। चारैतिर अराजकता फैलिएको आजको युगमा जातिवादले चरम छोएको, धर्मको ठेकेदारी खुलेको युगमा आज गान्धी भारतीय समाजमात्र नभएर सर्वव्यापी प्रसाङ्गिक बनिसकेका छन्। आज गान्धी प्रेम र सद्भावका पयार्य एवं प्रतिमूर्ति बनेका छन्।
राष्ट्रवादको इतिहासमा प्रायः एक्लो व्यक्तिलाई राष्ट्र निर्माणसित जोडेर हेरिन्छ। उदाहरणको निम्ति इटली निर्माणका निम्ति गेरीबाल्डी, अमेरिकाको स्वतन्त्रताको युद्धसित जर्ज वाशिङटन अनि भियतनामलाई औपनिवेशिक शासनबाट मुक्त गराउने सङ्घर्षमा हो ची मिन्हलाई जोडेर हेरिन्छ। त्यसैले  महात्मा गान्धीलाई भारतले राष्ट्रपिता मानेको छ। गान्धीजीले भारतलाई भोगभूमि नभएर कर्मभूमि मानेका थिए।  स्वयंको जीवन अहिंसा धर्मको पालनद्वारा भारतको सेवामा समर्पित गरेका थिए। उनले साम्प्रदायिक एकता अनि धार्मिक सहिष्णुतामाथि विशेष बल दिएका थिए। सर्वकल्याणकारी नयाँ जीवन पद्धतिको विकासको निम्ति उनी उपनिषद्को ‘तेन त्यक्तेन भुञ्जीथा’ मन्त्र आत्मसात गर्दै नयाँ भारतको सपना देख्दथे।
महात्मा गान्धीले देखेको सपना आज कतिसम्म पूर्ण भयो त अथवा कतिसम्म साकार भयो त? त्यो प्रत्येक भारतीय नागरिकले सोच्नुपर्ने विषय बनेको छ। किनभने राष्ट्रपिता महात्मा गान्धीले देखेको भारतको सपना उनको निम्ति थिएन। अर्कोकुरा, महात्मा गान्धी अहिंसा र राष्ट्रिय एकता विश्‍वास राख्ने कुरा अघि भनियो। देशमा घरिघरि विभिन्न प्रकारका विवादले हामीबीचको एकता तोडने काम गरिरहेको प्रत्यक्ष छ। भनिन्छ ‘भाई फुटे गवार लुटे।’ देश अहिले झण्डै त्यस्तै अवस्थामा बाँचिरहेको छ। देशलाई वर्तमान अवस्थाबाट माथि उठाउन पनि महात्मा गान्धीले देखेको सपनालाई साकाररूप प्रदान गर्दै साम्प्रदायिक एकताको सूत्रमा बाँधिनु आवश्यक छ।-30.09.2016

चिया, पहाड र बोनस

प्रत्येक वर्ष महान पर्व दशैं नजिकिनुसितै ‘बोनस’-लाई लिएर पहाडको परिस्थिति गर्मागर्मी हुनेगर्छ। विशेषगरी चियाश्रमिक र मालिक पक्षमाझ बोनसलाई लिएर हुने तर्क-वितर्कले प्रायजसो नै समस्या उत्पन्न हुने गरेको छ। उसो त चिया, चियाश्रमिक र कमान मालिकपक्षमाझको यो समस्या नयाँ होइन। चिया कमानसित सम्बन्धित तीनै विषयमा देखिएका अनेकन समस्याहरूमाथि चर्चा-परिचर्चाका साथमा राष्ट्रिय स्तरमै एउटा मूल मुद्दाका रूपमा पनि उठिसकेको विषय हो। कहिले कमान बन्द, कहिले वेतन बढोत्तरी त कहिले बोनस जस्ता कुराहरू आम बनिसकेका छन्। कुनै एउटा कमानदेखि उठेका यस्ता समस्याहरूको आवाज राष्ट्रिय स्तरसम्म नपुगेका होइनन्। यद्यपि, अहिलेसम्म यी समस्याहरू समाधान हुन सकिरहेको छैन।
अहिले दशैंको लगभग मुखैमा आइपुगेका छौं हामी। ठीकै यही समय अघिका वर्षहरू झैं फेरि बोनसको समस्या अघि आएको छ। अल्केमिष्ट ग्रुप अधीनस्थ दार्जीलिङका तीनवटा चियाकमानहरू क्रमैले धोत्रे, कलेजभेल्ली अनि पेशोक चियाकमानको खास मालिकलाई लिएर पहाडका श्रमिक सङ्गठनहरूसँगै यी तीनैवटा चियाकमानका श्रमिकहरूमा पनि शङ्का-उपशङ्का सृजना हुनथालेको छ। यस विषयमा क्रामाकपाको श्रमिक सङ्गठन, दार्जीलिङ तराई डुवर्स चियाकमान मजदूर युनियनले शीघ्र खुलस्त पार्नुपर्ने माग गरेको छ। यस विषयमा सङ्गठनले हिजैमात्र दार्जीलिङका सह-श्रमायुक्तसमक्ष एउटा ज्ञापन पेश गरेको छ। यसै विषय युनियनका उपाध्यक्ष अशोक राई अनि सह-सचिव सुनिल राईले 12 अगस्त 2016-को दिन सिलगढीस्थित संयुक्त श्रमायुक्त कार्यालयमा अल्केमिष्ट ग्रुप अधीनस्थ तीनवटा चियाकमान नयाँ कम्पनीको हातमा जाने विषय लिएर एक सम्झौता भएको बताएका थिए। यद्यपि, नयाँ कम्पनीले लिएको भनिएका यी चियाकमानहरूमा जति पनि कागज-पत्र आइरहेका छन्, सबै अल्केमिष्टकै नाममा छन्। यसबाट चियाश्रमिक लगायत सबैलाई असमञ्जसमा परिरहेका छन्। एउटा प्रश्‍न यहाँ के उठिरहेको छ भने, कतै कमानको चिया कलकत्तातिर लानको लागि मात्रै यस्तो नाटक गरिएको होइन? सङ्गठनको भनाइ छ, यदि यी तीनवटा चियाबगान अर्को कम्पनीले अधिग्रहण गरेको हो भने यसको पक्का सम्झौता सम्पूर्ण श्रमिक सङ्गठनहरूलाई राखेर गरिनुपर्छ।
यसका साथै प्रत्येक वर्ष झैं आगामी पूजा बोनसलाई लिएर पनि यस्तै प्रकारको हेलचेक्राई हुन्छ भने विभिन्न राजनैतिक तथा गैर राजनैतिक सङ्गठनहरूको अनुमान छ। यदी यसो भएको खण्डमा क्रामाकपाको श्रमिक सङ्गठनले एकलैले भए पनि सडकमा उत्रिने र अवरोध गर्ने भएको छ। श्रमिक पक्ष तथा सङ्गठन पक्षको भनाई छ, आगामी दिनमा यी चियाकमानका श्रमिकहरूले बोनस ठीकसित पाउनु पर्छ। यसका साथै यी चियाकमानका श्रमिकहरूले 20 प्रतिशतभन्दा एक पैसा पनि कम्ति बोनस नथाप्ने अडान स्पष्ट पार्दै विगत केही वर्षदेखिनै पहाडका चियाकमानहरूको वर्गीकरणको नियम हटिसकेको बताएको छ। सबै चियाकमानलाई एउटै वर्गमा राखेर सबैलाई 20 प्रतिशतको दरले बोनस दिने कार्य भइरहेको छ। यसैले यसपालिको पूजा बोनस पनि यी तीनवटा चियाकमानका श्रमिकहरूलाई 20 प्रतिशतको दरमानै बोनस दिनुपर्ने माग उठिरहेको छ।
यहाँ के देखिन्छ भने, प्रत्येकवर्ष चिया श्रमिक र मालिक दुवै पक्षबाट भोगिरहेको समस्या हो बोनस। चिया कमानदेखि उठेको समस्याको समाधानका लागि राज्य र केन्द्रस्तरसम्म यसको आवाज उठाउने पहल भइरहेकै भए पनि समाधान हुन किन सकिरहेको छैन? यस विषयमा भने चिन्ता गर्नुपर्ने देखिन्छ। चियाश्रमिकपक्षको आफ्नै पीडा छ दशैंको, दशैंमा बोनस नपाउनुको पीडासितै गुनासोहरू पहाडभरि फैलिन्छन्। यद्यपि, मालिकपक्षको पीडा छैन होला त? सोधिँदैन कहिल्यै। के मालिक पक्षकाहरूसित कुनै समस्या छैनन् होला त? बिनासित्थै बोनस नदिएका हुन् चियाश्रमिकहरूलाई? पहाडको विकासलाई प्राथमिकता दिन्छु भन्ने राज्य सरकारसितै जीटीएले यस विषय कसको पहल गरिरहेको छ कि छैन? प्रत्यक वर्ष पहाडले झेल्नु परिरहेका समस्याहरूमाथि चिया श्रमिक र कमान मालिक पक्षको आवाजलाई सामुहिकरूपमा उठाउनु पनि आवश्यक देखिन्छ।-2.9.16

पहाडमा असहयोग आन्दोलन

कहिले विकास, कहिले छुट्टै राज्य, कहिले जीटीए त कहिले जनजातिको मुद्दामाझ मुसा-बिरालो खेलिरहेको पहाड कहिले पनि कुनै मुद्दामा एक हुन सकेको छैन। यति खुलस्त छ, जबसम्म समग्र पहाड अथवा एउटा मञ्चबाट सबै राजनैतिक पार्टी र नेताहरूको सामुहिक स्वर उठ्दैन, तबसम्म कुनै पनि उद्देश्य पूरा हुन सम्भव देखिँदैन। यस्तो स्थितिमा अहिले गोर्खा जनमुक्ति युवा मोर्चाले आज फेरि गोर्खाल्याण्डको प्रसङ्ग उठाउँदै राज्य सरकारविरूद्ध असहयोग आन्दोलन शुरू गर्ने चेताउनी दिएको छ। यसमा गोर्खा जनमुक्ति युवा मोर्चा कतिसम्म सफल बन्ला त? त्यो पनि सङ्कास्पद नै छ। किनभने गोर्खाल्याण्ड सयवर्षभन्दा पूरानो मुद्दा हो भन्ने जानिएको कुरा हो। समुद्र उर्लिए झैं पहाडबासीहरू उर्लिएर राज्य र केन्द्रसमक्ष शक्ति प्रदर्शनसम्म अघिबाटै गरिएको हो। ‘गोर्खाहरूको दुःख मेरो दुःख हो’ भनेर प्रधानमन्त्री नरेन्द्र मोदीले समग्र पहाडलाई आश्‍वासित नपारेका होइनन्। उनले त्यसो भन्नुको मूल तात्पर्य के थियो? त्यो अझैसम्म प्रष्टिएको छैन। यतिमात्रै होइन गएको विधानसभा चुनाउअघि मोदीले पहाडका 11 जाति समुदायलाई जनजातिको मान्यता प्रदान गर्ने विषयमा पनि नबोलेका होइनन्।
गोर्खा जनमुक्ति युवा मोर्चाले अहिले केन्द्र सरकारले पनि 2019-भन्दाअघि नै संसदमा गोर्खाल्याण्डको विधेयक ल्याएर पारित गर्नुपर्छ भन्ने पनि माग गरिरहेको छ। गोर्खा जनमुक्ति युवा मोर्चाले आफ्नो धारावाहिक कार्यक्रमअनुसार, पहिला जुलूस निकालेको थियो भने उक्त जुलूसले शहरका विभिन्न स्थानमा ‘वी वाण्ट गोर्खाल्याण्ड’-को नारा लगाउँदै परिक्रमा गरेको थियो। यसपछि जनसभा राखेको थियो। जनसभालाई सम्बोधन गर्दै युवा मोर्चा नेता एवं जीटीएका सभासद प्रकाश गुरूङले देशमा धेरैवटा राज्यहरू रहेको र ती राज्यहरूमा रहेका सबै जाति-सम्प्रदाय पूर्णरूपले सुरक्षित रहेको बताएका थिए।
केन्द्रिय जनजाति मामिला मन्त्री जीएल ओरामले 4 सितम्बरको दिन मात्रै ‘11 जात-गोष्ठीको मुद्दा एक पाइला अघि छ’ भनेका थिए। प्रधानमन्त्री मोदीले अघिबाटै सम्बोधन गरिसकेको जनजातिको मुद्दालाई केन्द्रिय मन्त्रीद्वारा पुनः उठाइनुलाई अहिले 2019-को चुनाउलाई केन्द्र गरिएको हुनसक्ने चर्चा चलिरहेको छ। विभिन्न पार्टीबीच जनजातिको मुद्दाले चर्चा पाइरहेको भए पनि मूलत यसले 2019-को चुनाउमा गोर्खा जनमुक्ति मोर्चालाई फाइदा पुर्‍याउने उद्देश्य त होइन! भन्ने अडकलबाजी पनि भइरहेको छ। अर्कोतिर, 11 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउने मुद्दालाई पार लगाउने पक्षमा रहेपनि ठीक यतिबेला मोर्चा छुट्टै राज्यको मुद्दामा अग्रसर छ। मोर्चा प्रमुख विमल गुरुङले आगामी 11 सितम्बरको दिन शिक्षकहरूसित सभा बस्ने बताउँदै गोर्खाल्याण्डको आन्दोलनलाई अब कसैले रोक्न सक्दैन भनेर 5 सितम्बरको दिन खुलस्त पारिसकेका छन्। यहाँ प्रश्‍न के उठ्छ भने, मोर्चाले कुनै एउटा मुद्दामा अगिड रहेर अघि बढ्नु उचित हुने थिएन र?
विकास बोर्डको मुद्दा पहाडको अर्को मुख्य मुद्दा हो। यस मुद्दाको सन्दर्भमा पहाडलाई विभाजित गरिनु हो भने तीन समूहमा भेटन सकिन्छ। पहिलो- विकास बोर्ड हुनुपर्छ भन्ने, दोस्रो- विकास बोर्ड हुनुहुँदैन भन्ने अनि तेस्रो जे भए पनि ठीकै छ भन्नेहरूको समूह। जो होस, बोर्ड गठन भइरहेको छ, नभएकाहरूले माग उठाइरहेका छन्। राज्य सरकार पनि अहिले विकास बोर्ड गठनको पक्षमा छ। जातिको विकास र उत्थानको निम्ति बोर्ड गठनको पक्षमा एउटा पक्ष भए पनि अर्कोपक्षले बोर्ड गठनद्वारा राज्य सरकारले पहाडलाई टुक्राउने आरोपसितै विरोध गरिरहेको छ। बोर्ड गठनको पक्ष-विपक्षको कुरालाई पर राखेर बोर्ड गठन र गोर्खाल्याण्डको मुद्दामाझको सम्बन्धलाई हेरिनु हो भने यो फाइदाजनक देखिन्छ। यद्यपि, कुरा टुङ्गिन्छ हाम्रो एकतामा।
गोजमुमोले अहिले अघि बढाउन चाहेको मुद्दा गोर्खाल्याण्डलाई क्रामाकपाले पनि उठाइरहेको छ। गोर्खाल्याण्डको निम्ति यो ‘प्लस पोइण्ट’ मान्न सकिन्छ। यदि पहाडका सबै क्षेत्रीय पार्टीहरू यसरी नै एउटै स्वरमा आउनसके असम्भवलाई सम्भव पार्न सकिने आशा गर्न सकिन्छ। विकास बोर्डमाथि राज्यले पहाडलाई जात-जातमा विभाजित गरिरहेको आरोप लागिरहेको कुरा अघि भनियो। यद्यपि, सबै जातिको विकास बोर्डहरू पनि सामुहिक स्वरमा अघि बढ्न सके पहाडका सबै जातिहरू गोर्खाल्याण्डको निम्ति एक रहेको प्रष्ट हुनसक्छ। चाहे गोर्खाल्याण्डको मुद्दा होस चाहे जनजातिको मुद्दा, ‘एकता नै बल हो’ भन्ने मूलमन्त्र अप्नाउनु नै पहाडको निम्ति फलदायी बन्नसक्ला अनि हाम्रो बुद्धिमता पनि दर्शिएला कि! असहयोग आन्दोलनले मात्रै हाम्रो उद्देश्य, हाम्रो लक्ष्य कतिसम्म पार लाग्ला? चर्चा गरेकै असल होला।-9.9.16

आमा...


सधैंभरि तिम्रै यो नाउ
यसरी नै बोलाउन पाउ
भोक लाग्दा माम खान
तिर्खा लाग्दा पानी पाउ।

जाड़ो हुँदा तिमीले भन्थ्यौं
तातो नाना लाउन आउ
भोक मलाई लाग्दा पनि
भन्थ्यौं माम खान आउ।

तिमीलाई नि भोक लाग्थ्यो होला
तिर्खा पनि त लाग्थ्यो होला
नाच्न, गाउन, घुम्न, रमाउन
तिमीलाई नि रहर लाग्थ्यो होला।

बिर्सिदियो तिमीले त आफ्नै रहरहरू
भुलिदियौ तिमीले त भोक र प्यासहरू
मेटाइदियौ तिमीले त इच्छा-चाहनाहरू
त्यसैले आमाभन्दा माथि छैन कोही अरू।
-20.11.2016

Friday, August 19, 2016

भाषा आन्दोलन र भाषिक एकताको कुरा


नेपाली भाषाले भारतीय भाषाको मान्यता पाएको 24 वर्ष पूरा भयो। 20 अगस्त 1992-मा को दिन नेपाली भाषा भारतीय संविधानमा अन्तर्भुक्त हुँदा हामीमा खुशीको कुनै सीमा थिएन। स्वभाविक पनि हो, किनभने 36-37 वर्षसम्मको लामो आन्दोलनपछि प्राप्त सफलतामा खुशी को नहोला र! लगभग चार दशक लामो सङ्घर्षमात्र थिएन त्यहाँ। भनिन्छ एकतामा बल हुन्छ। त्यस सफलताको पछि पनि सम्पूर्ण भारतीय नेपाली भाषीहरूको एकता थियो। भाषालाई जातीय अस्तित्व र चिन्हारीको रूपमा पनि हेर्ने गरिन्छ, जसले आफ्नो जाति कति समृद्ध छ, कति विकसित छ भन्ने बोध पनि गराउँदछ। भाषाले जोडन पनि सक्छ र भाषाले तोडन पनि सक्छ। देहरादुनबाट 1955-56 देखि शुरू भएको नेपाली भाषा मान्यताको आन्दोलनले समग्र भारतीय नेपालीहरूलाई जोड्ने काम गरेको थियो। त्यसैको परिणामस्वरूप 20 अगस्त 1992-मा संसद सभाले नेपाली भाषा मान्यताको प्रस्तावलाई पारित गरेपछि 31 अगस्तको दिन राष्ट्रपतिले हस्ताक्षर गरेका थिए।
नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन धेरै भाषा आन्दोलकहरूले उल्लेखनीय योगदान पुर्याएका थिए। यसबाहेक डा. सुनीतिकमार च्याटर्जीले पनि नेपाली भाषालाई संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्त गर्न सकिनेछ भनेर 1956-मा आफ्नो सिफारिश दिएका थिए भने डा. पारसमणि प्रधानले साहित्य अकादमी, नयाँ दिल्लीद्वारा नेपाली भाषालाई भारतको विकसित भाषा भनी मान्यता दिलाउन अगुवाई गरेका थिए। नेपाली भाषा मान्यताका लागि 1965-मा राष्ट्रपतिलाई स्मारक-पत्र पठाइएको थियो भने त्यसपछि नेपाली भाषामा पठन-पाठन शुरू भयो अनि साहित्य अकादमी, दिल्लीले मान्यता पनि दियो। यद्यपि, संवैधानिक मान्यता भने पाएको थिएन। त्यसैले 1972-मा ‘अखिल भारतीय नेपाली भाषा समिति’-को जन्म भयो। यो समितिको माध्यमद्वारा नेपाली भाषालाई संवैधानिक मान्यताका लागि ठूलो संघर्ष गरिएको थियो। यसैबीच सिक्किम 1975-मा भारतमा विलय भयो, जसले नेपाली भाषा मान्यताको अभियानलाई ठूलो टेवा पुग्यो। 1977-78 मा सिक्किमलगायत पश्‍चिम बङ्गाल र त्रिपुरा राज्य विधासभामा पारित गर्दै नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गर्नुपर्छ भनेर केन्द्रमा प्रस्ताव पुर्याएको थियो। त्यसअघि नै 21 फरवरी 1967-मा रतनलाल ब्राह्मानले लोकसभामा नेपाली भाषाको संवैधानिक मान्यताका लागि पहिलोपल्ट संविधान संशोधन बील प्रस्तुत गरेका थिए। यसका लागि भारतीय नेपाली राष्ट्रिय परिषद, अखिल भारतीय नेपाली भाषा समिति, सक्किम साहित्य परिषद आदिको ठूलो योगदान थियो। त्यही वर्ष डुवर्सको कालचिनीमा भारतीय नेपाली राष्ट्रिय परिषद-ले दोस्रो सभा राखेपछि फरवरी 1991-मा देशभरिबाट प्रधानमन्त्रीलाई टेलीग्राम पठाइएको थियो। यतिमात्रै होइन, 176औं भानु जयन्तीलाई देशभरि नै ‘नेपाली भाषा माग दिवस’-को रूपमा पालन गरियो भने 1991-को भानु जयन्तीलाई ‘भारतीय नेपाली भाषाः एकता दिवस’-को रूपमा पालन गरिएको थियो। यहाँसम्म आइपुग्दा के बुझिन्छ भने भाषा मान्यता प्राप्त गर्नु वास्तव मै हाम्रो एकताको परिणाम थियो।
यति लामो सङ्घर्षपछि भाषा मान्यता प्राप्त भए पनि उद्देश्य पूरा भयो त? भन्ने लाग्छ अहिले। किनभने भाषा मान्यताको निम्ति जसरी हामीमा एकता नै बल हो भन्ने देखिएको थियो, त्यो अहिले देखिँदैन। उसो त भाषाको सम्दर्भमा एकताको कुरा खटकिएको विषय मान्न सकिन्छ। सन् 1908-मा ‘माधवी’ पत्रिकाले भाषा शुद्धिको आग्रह लिएर प्रकाशित भएको थियो। भाषा शुद्धिको प्रसङ्ग उठ्ने बित्तिकै भाषिक एकता र मानकीकरणको कुरा आइहाल्छ। मानकीकरणको अभाव हामी अहिले पनि छँदैछौं। पारसमणि प्रधानदेखि नै उठिरहेको यो आवाज अर्थात समस्या अझै जटील बन्दै गइरहेको छ। यस्ता समस्याका रूपमा देखिएका विषयहरू हुन् आञ्चलिकताको प्रभाव, जातीयताको प्रभाव, परिवेशको प्रभाव आदि। अर्को कुरा नेपाली भाषालाई एउटा विकासशील भाषाको रूपमा हेर्न सकिन्छ। जब विकासशील भाषाको कुरा हुन्छ तब मानकीकरणको सम्भवना पनि कम हुन्छ। त्यसैले नेपाली भाषामा प्रविष्टि निर्धारणको मानक पनि तयार गर्न जरुरी हुन्छ।
एकातिर नयाँ पिढीहरूमा नेपाली भाषाप्रतिको मोहभङ्ग देखिन्छ भने भाषा शुद्धि, मानकीकरण वा भाषित एकताको जटील समस्या बन्दै गइरहेको अवस्था छँदैछ। यसको समाधानका लागि चर्चा, सभा, गोष्ठी र सम्मेनलनहरू नभएका होइनन्। यद्यपि, यहाँ अहिले देखिएको अभाव भनेको भाषिक एकताको कमी नै हो। यसका पछाडि पनि धेरैवटा कारणहरू हुनसक्छन्, जस्तै अहं अथवा ‘इगो’। भाषा विकासका लागि पनि पहलहरू हुँदै नभएका होइनन्। राष्ट्रियस्तरसम्म नेपाली भाषाको विकासलाई ध्यान दिइएको छ, जसका लागि पुरस्कारहरू पनि छन्। तर, जबसम्म हामीमा  ‘इगो’ रहन्छ, तबसम्म हामी विकसित बन्दैनौं। ‘इगो’ विद्वताको, ‘इगो’ मान-सम्मानको, ‘इगो’ यश-नामको। अर्को कुरा हाम्रो सम्पर्कको भाषा नेपालीले संवैधानिक मान्यता पाउनलाई हाम्रा अग्रजहरूले दिलोज्यान लगाए। मान्यता पाएपछि अहिले हामी टुक्रा-टुक्रा भइरहेका छौं। त्यसैले भाषाले संवैधानिक मान्यता पाएको छ भनेर गर्व गर्ने दिवसभन्दा भाषाको विकास कसरी गर्नुपर्ने भन्ने विषयमा चिन्तन गर्नुपर्ने दिवसको रूपमा 20 अगस्तलाई पालन गर्न सकिए हाम्रो चिन्हारी, हाम्रो अस्तित्व रहला, हाम्रो भाषा बाँच्ला अनि बाँच्ला हाम्रो जाति। त्यसैले फेरि समग्र भारतीय नेपाली भाषी एउटै मञ्चमा उभिएर एउटै आवाज उठाउन जरुरी हुन्छ भाषिक एकताको, मानकीकरणको।-19.08.2016

पुरस्कार र स्वच्छ मानसिकता

स्वच्छताको क्षेत्रमा फेरि एकपल्ट सिक्किमलाई पुरस्कार प्राप्त भएपछि हामी समग्र सिक्किमेको छात्ती गर्वले प्रफुल्लित भएको छ। गान्तोक महानगरपालिकाका मेयर शक्तिसिंह चौधरीले 10 अगस्तको दिन मात्रै ‘देशकै स्वच्छ शहर पुरस्कार’ ग्रहण गरेका छन्। यो पुरस्कार गान्तोक शहरका लागि प्राप्त भएको हो। स्वच्छतामाथि गान्तोक शहरले यसअघि पनि ‘क्लिनेस्ट हिल स्टेशन’-का लागि ‘सफाईगिरी’ जस्तो पुरस्कार पाइसकेको छ भने पश्‍चिम जिल्लाले पनि अघिबाटै स्वच्छता पुरस्कार पाइसकेको छ। स्वच्छताकै लागि 11 अगस्त 2016-कै दिन पश्‍चिम जिल्लाको लिङ्चोम स्कूललाई ‘स्वच्छता च्याम्पियन पुरस्कार’ प्राप्त भएको छ।
अतः राज्य सरकारले राज्यको चौतर्फी विकाससितै स्वच्छताको निम्ति गरिरहेका पहलहरूबारे जुन कुराहरू प्रकाशमा आइरहेका छन् त्यसको परिणाम पनि सकारात्मक आइरहेका छन्। राज्यलाई प्राप्त पुरस्कारहरूले यस कुरोको प्रमाण दिँदछ। यति भएरै पनि तर हामी ढुक्क रहन सक्दैनौं। किनभने शहर स्वच्छ बन्नु-बनाउनु र पुरस्कार पाउनु मात्रै राज्य सरकारले स्वच्छतामाथि वर्षौंदेखि गरिरहेको पहलको उद्देश्य होइन। पुरस्कार पाउनु भनेको लक्ष्य प्राप्तिको सङ्केत पनि अवश्य होइन। यसले त आफ्नो कार्यगतिमा तीव्रता ल्याउन सकौं भन्ने उत्साह दिने हो, ऊर्जा प्रदान गर्ने हो अनि सबैभन्दा महत्वपूर्ण कुरा स्वच्छताको सन्दर्भमा आफ्नो धरातलीय अवस्था के छ अनि हामीले निर्वाह गर्नुपर्ने जिम्मेवारी के-के हुन् भन्ने कुराको बोध गराउँदछ। कारण, कुनै पनि कुरा प्राप्त गर्नुभन्दा त्यसलाई बचाइराख्नु चुनौतीपूर्ण हुन्छ। स्वच्छताको क्षेत्रमा सिक्किमले अहिले बुझ्नुपर्ने महत्वपूर्ण कुरा भनेको पनि यही हो।
स्वच्छताको क्षेत्रमा सिक्किमलाई अहिलेसम्म जे-जति पुरस्कारहरू प्राप्त भइरहेका छन्, मूलतः शहरकेन्द्रित छन्। शहरलाई मात्र पूर्णरूपमा स्वच्छ राख्नु पूरा राज्य स्वच्छ हुनु हो भन्ने धारणा यदि राखिन्छ भने त्यो सरासर गतल हो। उसो त सिक्किमका गाउँहरूलाई स्वच्छताको क्षेत्रमा प्रेरित गरिरहनु पर्ने आवश्यकता उत्ति देखिँदैन। पहाडी भेग, चारैतिर हरियाली, जनसङ्ख्याको दृष्टिले पनि देशकै सानो राज्य। त्यसैले फोहोर-मैलासित गाउँ-घरलाई कुनै भय छैन भने अर्कोतिर केही वर्षयता राज्य सरकारकै प्रेरणामा प्रत्येक ग्राम पाञ्चायत एकाइहरूले स्वच्छतामा ध्यान दिइरहेको छ। त्यसैले स्वच्छता कै कुरा गर्ने हो भने राज्यले मूलतः शहरहरूलाई नै केन्द्रित गर्नुपर्ने देखिन्छ।
शहर र स्वच्छताको कुरा उठिसकेपछि राज्य सरकारले गरिरहेको पहलहरू भने बिर्सनु हुन्न। स्वच्छतासितै सम्बन्धित हरियाली अनि यी दुवैसित सम्बन्धित पर्यटनलाई पनि केन्द्र गरेर सरकारले काम गरिरहेको कुरा प्रिण्ट र इलेक्ट्रोनिक मीडियाहरूको माध्यमद्वारा आम मानिससम्म पुगिरहेकै छ। अहिले सन्दर्भ उठेको छ स्वच्छताको। स्वच्छताका लागि राज्यका प्रत्येक शहरहरूमा शहरी विकास एवं आवास विभाग (यूडी एण्ड एचडी) अनि नगरपालिकाहरूले सराहनीय कार्य गरिरहेको छ। उदाहरणका लागि गान्तोक महानगरपालिकाले गान्तोक शहर वरिपरिका प्रायः वार्डहरूका प्रत्येक घर अनि प्रत्येक घरमा बसोबासो गर्ने प्रत्येक किरायदारहरूलाई दुई-दुईवटा ‘डस्टविन’ प्रदान गरेको छ भने प्रत्येक बिहान ‘यूडी एण्ड एचडी’ फोहोर प्रबन्धनका लागि वाहन पठाउने गरेको छ। नगरपालिकाले शहरी क्षेत्रमा प्रत्येक परिवारबाट मासिक एक सय रुपियाँ शूल्क उठाइरहेको छ। यद्यपि, शहरी क्षेत्रका सबैतिर यो नियम लागू गरिएको भने पाइँदैन। जे होस्, स्वच्छताका लागि यस्ता धेरै सराहनीय कार्यहरू भने अवश्य भइरहेका छन्।
अब ध्यानदिनु पर्ने के छ भने स्वच्छताको क्षेत्रमा हाम्रो धरातलीय वास्तविकता के हो? अघि माथि नै भनियो, हामीले निर्वाह गर्नुपर्ने जिम्मेवारी के-के हुन्? त्यसको हामीलाई बोध हुनुपर्छ। त्यसो हुन सक्यो भने मात्रै अहिलेसम्म हामीलाई (सिक्किमलाई) प्राप्त पुरस्कारहरूको गरिमालाई बचाइराख्नु सकिने छ। अहिले हाम्रो निम्ति चुनौती भनेको पनि यही हो। किनभने गान्तोकको एमजी मार्ग नवीकरणपछि ‘यहाँ थुकेको पाइयो भने 50 रुपियाँ अनि धुम्रपान गरिएको पाइयो भने 2 सय रुपियाँ स्पट फाइन’ भनिएको थियो। त्यो केही हदसम्म व्यवहारमा पनि देखियो। त्यसले मानिसहरूमा एउटा सन्देश पनि गयो, यहाँ यसो गर्नु हुँदैन भनेर। यद्यपि, राज्यकै मुटु मानिने राजधानी गान्तोकको वरिपरिका वार्डहरू अथवा वरिपरिका शहरहरू हामीले अझै पनि ध्यान दिन आवश्यक छ। राज्य सरकारले प्लास्टिक बोतलमा लगाएको प्रतिबन्ध; भीआइपी, सरकारी, निजी वा ट्याक्सी सबै वाहनमा अनिवार्यरूपमा ‘गार्वेज ब्याग’ राखिनुपर्ने; पोलेथिन वा प्लास्टिक क्यारी ब्यागमा प्रतिबन्ध जस्ता कुराहरू राज्यमा कतिसम्म व्यावहारिक हुँदैछन्? ध्यानयोग्य विषय हुन्। सबैभन्दा अहम विषय, हाम्रो मानिसकतामा यी सबै कुराको चेत कहिले भरिने हो! त्यसैले स्वस्थ जीवनको निम्ति स्वच्छ समाज र स्वच्छ राज्यको निम्ति आजैदेखि हाम्रो मानसिकतालाई पनि स्वच्छ राखौं र स्वच्छ अभियानमा लागि परौं।-12.08.2016

पत्रकारिता, रोजगारी र जिम्मेवारी

वर्तमान सिक्किमेली पत्रकारिता जगत निक्कै नि विकासको सिँड़ी उक्लिसकेको छ। विकासकै सन्दर्भमा यदि राषट्रिय जगतसित तुलनात्मक दृष्टिले हेरिनु हो भने जसरी भौगोलिकरूपमा सिक्किम सानो छ, त्यसरी नै पत्रकारिता जगतको विकास पनि त्यहीअनुरूप पाउन सकिएला। स्वभाविक पनि छ। किनभने सानो राज्यमात्रै होइन यहाँको भौगोलिक बनावटी, देशका अन्य भागसितको सम्पर्क माध्यम, अन्तरराष्ट्रिय सीमा सबैकुरालाई ध्यानमा राखिनु हो भने पनि सिक्किम धेरै संवेदनशील क्षेत्रमा पर्ने कुरा नकार्न सकिन्न। त्यसैले यी कुराहरूको प्रभाव राज्यले झेल्नुपर्ने हुन्छ।
पत्रकारिता भन्ने बित्तिकै हामी त्यो माध्यम बुझ्नसक्छौं, जसले समाजका कुराहरू समाजबाटै लिएर समाजकै निम्ति सम्प्रेश गरिरहेको हुन्छ। विश्‍व इतिहास र राष्ट्रको कुरालाई पर सारेर सिक्किमकै सन्दर्भमा हेरिनु हो भने पनि सिक्किममा पत्रकारिता जगतको यात्रा शुरू भएको लगभग 6 दशक मात्रै हुँदैछ। यद्यपि, स्व. काशीराज प्रधानको समय (1957)- तिरदेखि शुरू भएको सिक्किमेली पत्रकारिता जगतलाई नियाल्नु हो भने वर्तमान निक्कै उज्यालो देखिन्छ। पत्रकार वा पत्रकारिताको मुख्य उद्देश्य भनेको व्यक्ति वा समाजलाई कुनै कुरा अर्थात घटनाविशेषको अवगत गराउनु, जानकारी गराउनु भन्ने बुझिए पनि अहिले आएर यसलाई व्यावसायीको दृष्टिले धेरै हेर्ने गरिन्छ। समयको माग भन्न सकिएला यसलाई। त्यसैले अहिले पत्रकारिता व्यावसाय सूचनाको माध्यमसितै देशका अन्य भागहरूमा जस्तै रोजगारीको असल माध्यम पनि बन्दै गइरहेको छ।
सिक्किमेली पत्रकारिताको इतिहासको प्रवेश विन्दुको कुरा अघि भयो। यो 6 दशकको यात्रा पनि त्यति छोटो भने पक्कै होइन। ‘लेटर पेस्ट’-को समयदेखि सिक्किमेली पत्रकारिता जगतले अहिले देशको ‘डिजिटल यात्रा’-मा पनि उत्तिकै सहयात्री बनिरहेको छ वर्तमानमा। भौगोलिक परिस्थितिका कारण देशका अन्य राज्यहरूसरह प्रतिस्पर्द्धा गर्न नसकेको होला सिक्किमले, तर सिक्किम आफै पनि देशमा हरेक क्षेत्रमा एक उदाहरण बनिरहेको विश्‍वसामु उदाहरणहरू धेरै छन्। तीमध्ये पत्रकारिता जगतलाई नै पनि लिन सकिन्छ। भनिन्छ, सिक्किमको पत्रकारिता जगतले विकासको यो सिँडी यतिसम्म उक्लिनलाई तर असल प्रशासनिक व्यवस्थाकै प्रतीक्षा गर्नुपरेको देखिन्छ। विकासक्रमको इतिहासलाई हेर्नु हो भने यति कुरा प्रष्ट हुन्छ। किन भने पत्रकारिताको लगभग 60 वर्षको यात्रा तय गरिसक्दा पनि सिक्किममा दैनिक समाचार प्रकाशन नै पनि दुई दशक पूरा हुनसकेको छैन। झण्डै दुई दशकअगिदेखि मात्रै सिक्किमको पत्रकारिता जगतले विकासको सिँडी उक्लिन शुरू गरेको पाइन्छ। त्यहाँदेखि यता नै एक-एक गर्दै दैनिक समाचार पत्रहरू प्रकाशनमा आउन थाल्यो, स्थानीय क्याबल लाइनहरूद्वारा समाचार प्रशारण हुन थाल्यो अनि डेड दशकको अघि-पछिदेखि मात्रै यहाँको तक्निकीय विकास भएर आउन थाल्यो। यसरी सिक्किममा पत्रकारिताको विकाससितै रोजगारीको अवसर पनि फराकिलो बनिरहेको छ।
यो व्यावसायले जब रोजगारीको अवसरको रूपमा फस्टाउन थाल्यो तब शुरूका लगभग चार दशकसम्म पनि यसलाई आफ्नो रहर, योग्यता र कतिपय स्थितिमा बाध्यतामा पनि पत्रकारिता गरिरहेको अवस्थाबाट माति उठ्दै गरेको पाउन सकिन्छ अहिले पत्रकारितालाई। त्यसैले पत्रकारिताप्रति युवा जमातले व्यावसायी शिक्षार्जन गर्न थाले, तालिमहरू लिन थाले। सिक्किमेली पत्रकारिता जगतको निम्ति यो खुशीको कुरा मात्रै होइन आवश्यकता पनि हो। किनभने, पत्रकारितालाई व्यावसाय मात्र होइन तर जिम्मेवारीको रूपमा पनि स्वीकार्न सक्नु हाम्रो निम्ति चुनौति पनि बनेको छ। जबसम्म हामी रहर, कर वा बाध्यताले अथवा अन्तिम विकल्पका रूपमा मात्र यस व्यावसायलाई अप्नाउने गर्छौं तबसम्म हामीमा जिम्मेवारी बोध हुँदैन। देशकै मेरुदण्ड थाम्ने चौथो स्तम्भका रूपमा स्वीकारिएको पत्रकार देशको विकास र सुरक्षाको दृष्टिले पनि जिम्मेवार रहेका हुन्छन्।
सिक्किमको सन्दर्भमा हेरिनु हो भने तीन-तीनवटा अन्तर्राष्ट्रिय सिमानाले घेरेर राखेको राज्य हो। त्यसैले सिक्किमलाई देशकै एक संवेदनशील राज्यको रूपमा हेरिने गरिन्छ। राष्ट्रसितै अन्तर्राष्ट्रिय फोकसमा छ सिक्किम भन्न सकिन्छ यस हिसाबले। अतः यहाँ बसेर पत्रकारिता गर्नलाई पनि स्वयंमा राज्यको विकाससितै राष्ट्र सुरक्षाको दृष्टिले पनि जिम्मेवारीबोध हुन आवश्यक हुन्छ। यसको निम्ति पत्रकारहरू पनि पूर्ण व्यावसायी बनेर अघि आउन जुरी हुन्छ।
अर्को कुरा, प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले डीएभीपीको लागि समाचार पत्रहरूलाई कतिपय प्रवधानहरू तय गर्दै विज्ञापनको भोल्युम बढाएर पत्रकारिताको विकासका लागि सहयोग पुर्याइरहेको छ भने कर्मचारी भविष्य निधि अनिवार्य गरेर पत्रकारहरूको पक्षमा पनि उल्लेख्य काम भएको छ। यद्यपि, पत्रकारहरूको वेतनलाई लिएर भने समयानुकुल अथवा सन्तोषजनक देखिँदैन, जो भविष्यमा चर्चा हुँदै जाने विश्‍वास गर्न सकिन्छ। अहिलेलाई भने पत्रकारिता जगतको जुन विकासक्रम चलिरहेको छ राज्यमा त्यसलाई अझ तीव्रता दिँदै राज्यको विकास र देशकै सुरक्षाको निम्ति हामी सत्यकुराको उजागर गर्दै स्वयं संवेदनशील रहेर जिम्मेवारी बन्नसक्नु वर्तमान आवश्यकता भएको छ। -29.07.2016

Friday, July 29, 2016

सेतु जस्तो लाग्छ आफैलाई : पत्रकार जोशेफ लेप्चा

-अर्जुन यावा
सिक्किमेली पत्रकारिता जगतले जोशेफ को हुन् भन्ने राम्ररी जानिसकेको हो, जसलाई 12औं कञ्चनजङ्घा कलम पुरस्कारले सम्मान जनाइसकिएको छ 17 जुलाई 2016-को दिन। अढाई दशकअघिदेखि पत्रकारिता जगतमा प्रवेश गरेका लेप्चाले साप्ताहिक समाचार पत्रदेखि काम गर्न थालेका थिए भने पछि आफै साप्ताहिक समाचार पत्रका सम्पादकको अनुभव पनि बटुलीसकेका हुन्। त्यसपछि उनले स्थानीय दैनिक नेपाली समाचार पत्रहरूमा पनि कार्य गरिसकेका हुन्। धेरैवर्षयता उनी ‘दैनिक जागरण’ जस्तो लोकप्रिय राष्ट्र हिन्दी दैनिकका सिक्किम संवाददाता हुन्। सिक्किमेली पत्रकारिताको निम्ति यो पनि एउटा पाटो मान्न सकिन्छ जहाँ हामी गर्व मान्न सक्छौं। रिनाक पूर्व सिक्किममा जन्मेका जोशेफ लेप्चाले पत्रकारिता जगतमा जसरी स्वयंलाई सफल पत्रकारका रूपमा परिचित गराएका छन्, उसरी नै साङ्गठनिकरूपमा पनि एक जिम्मेवार कार्यकर्ताका रूपमा सबैका प्रीय छन्। प्रेस क्लब अफ् सिक्किमसितै धेरै वर्षदेखि आबद्ध रहेर काम गरिसकेको उनी चारवर्षसम्म अथवा दुईवटा कार्यकालसम्म प्रेस क्लब अफ् सिक्किमको महासचिवको पदमा बसेर काम गरिसकेका हुन्। 19 जुलाई 2016-को दिन सँगै बसेर एक-एक कप चिया पिउँदै उनको 25 वर्षको अनुभवबाट केही झलकहरू बुझ्ने अवसर प्राप्त भएको थियो मलाई, जोसँग मैले भर्खर-भर्खर औपचारिकरूपमा पत्रकारिता शुरू गरिरहेको बेला 2007-8 मा ‘समय दैनिक’ नेपाली समाचर पत्रमा सँगै काम गर्ने अवसर पाएको थिएँ। उनै वरिष्ठ पत्रकारसितको कुराकानी पाठकवर्गमा राख्ने प्रयास हो यो। यतिबेला हामीसित थिए वरिष्ठ पत्रकार विजय बान्तवा, जसले मलाई पहिलोपल्ट समाचार लेख्न सिकाएका हुन् 1997-98 तिर अनि छापिएका थिए मेरा शुरूका समाचारहरू उनको साप्ताहिक समाचार ‘हिमगिरि’-मा।
---
मेरो पहिलो प्रश्‍नको जवाबमा प्रेस क्लब अफ् सिक्किमको कार्यकारी समितिमा रहेर गरेका कार्यहरूबारे उनी भन्छन्, ‘‘यसको माध्यमबाट पत्रकारितालाई अलिकति फस्टाउने, सही बाटोमा डोहोर्याउने र भुलेका कुराहरूलाई कार्यनवयन गर्ने अनि लागु गर्ने योजनाहरूलाई हामीले व्यावहारमा उतार्न सक्यौं। पत्रकारिता आफ्नो ठाउँमा छँदैछ, त्यसको साथै हामीले हाम्रो ऐक्यवद्धता, ‘कन्सोलिडेटेड जर्नलिज्म’ अथवा ‘कन्सोलिडेटेड जर्नलिस्ट’ भन्ने कुरा आउँछ। त्यसको लागि पनि हामीले एउटा राम्रो अवस्था प्रेस क्लब अफ् सिक्किमद्वारा बनायौं। यसबाट हामीले पत्रकारहरूलाई एकजुट बनाएर धेरैवटा कामहरू गर्ने मौका पायौं।’’
12औं कञ्चनजङ्घा कलम पुरस्कारले सम्मानित भएकोमा खुशी व्यक्त गर्दै यसो भन्छन् पत्रकार लेप्चा, ‘‘यो एउटा साँच्चै गरिमामय क्षण थियो मेरो निम्ति। यसले मलाई भविष्यमा मैले गर्नुपर्ने कार्यहरूका निम्ति जिम्मेवारी बोध गराएको छ। पत्रकारिताको क्षेत्रमा मैले अझै धेरै कार्यहरू गर्नुपर्छ भन्ने बोध गराएको छ।’’
सिक्किमको वर्तमान पत्रकारिता जगतको अवस्थाबारे बोल्दै भन्छन् उनी, ‘‘यो पाली संयोगले मैले पत्रकारिता गरेको पनि 25 वर्ष पुगेको थियो। मेरो पत्रकारिता जीवनको यो सिल्भर जुब्ली नै भनौं। मैले 22 नोभेम्बर 1991-मा औपचारिक रूपमा सामेल भएर पत्रकारिता शुरू गरेको हुँ। त्यसताक हाम्रा गोविन्द प्रसाद अनाथ जी हुनुहुन्थ्यो, उहाँको ‘स्वतन्त्र समाचार’ साप्ताहिक समाचार पत्रिका प्रकाशित हुन्थ्यो गान्तोकबाट। मैले त्यसमा सहसम्पादक र संवाददादाता दुवैरूपमा काम गर्नुपर्थ्यो। त्यो बेला अहिलेको जस्तो व्यवस्थित ढङ्गमा बजार व्यवस्थापन, विज्ञापन भन्ने कुराहरू थिएनन्। हामी आफैले आफ्नै प्रकारले सोच बनाएर काम गर्नुपर्थ्यो र त्यतिबेला मैले एउटा मौका के पनि पाएँ भने समाचार पत्र निस्किसकेपछि म आफै पनि बेच्ने गर्थेँ। त्यसबाट मैले मान्छेहरूको वा पाठकवर्गको ‘फिटब्याक’-हरू पाउथेँ। पाठकहरूले ‘यो कुरा राम्रो लाग्यो, तपाईंहरूबाट यो कुरा मन परेन, यो कुरालाई यस्तो गरेको भए राम्रो हुने थियो’ भन्ने प्रतिक्रियाहरू जान्न पाउथेँ। ती कुराहरूलाई हामीले समाचार पत्रमा समावेश गर्न सक्थ्यौं। संशोधन वा सुधारहरू गर्ने अवसर पाइन्थ्यो। त्यसबाट एउटा राम्रो वातावरण सिर्जना गर्दथ्यो। त्यसैले पाठकवर्गबाट ‘फिडब्याक’ वा प्रतिक्रिया लिनुपर्दो रहेछ भन्ने लाग्थ्यो।’’
यी कुराहरू वर्तमानमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले पनि बुझ्न आवश्यक लाग्छ उनलाई। त्यसैले उनी भन्छन्, ‘‘अहिले ‘मास कम्युनिकेशन’-मा समाचार सम्प्रेशनका कुराहरू, समाचार संकलन गर्नु वा ‘रिपोर्टिङ’ गर्नु, लेख्नु, समाचार सम्पादन गर्नु सिकाइन्छ तर मलाई लाग्छ यी पक्षहरू पनि सामेल गरिए एकजना पत्रकारले पाठकसँग सोझो संवाद गर्ने र सम्पर्क गर्ने माध्यम पनि हुनेछ। समाचार पत्र बिक्रीको माध्यमबाट मैले त्यो पनि अनुभव लिएको थिएँ।’’
वर्तमान पत्रकारिता गजतको अवस्थाबारे उनको विचार बुझ्ने मेरो जिज्ञासामा पत्रकार जोशेफ लेप्चा आफूले पत्रकारिता शुरू गर्दाको सम्झना गर्दै भन्छन्, ‘‘त्यो समय ‘लेटर पेस्ट’-को थियो, जहाँ एक-एकवटा शब्द बटुलेर, मिलाएर एउटा ‘पेज’ (पृष्ठ)-बनिन्थ्यो। एकदिनमा एउटा समाचार पत्र निकाल्नु सम्भव पनि थिएन। त्यसैले प्रायः साप्ताहिक समाचार पत्रहरू नै थिए। अर्को कुरा, त्यो बेला तक्निकीय संसाधनको कमी थियो। फोन पनि थोरै पत्रकारहरूले मात्र राख्ने गर्थे। यसो हुनाले हामीले स्थानीय समाचारहरूलाई नै धेरै प्राथमिकता दिनुपर्ने हुन्थ्यो, रेडियोको माध्यमद्वारा समाचारहरू संकलन गर्ने गर्थ्यौं। तक्निकीयरूपमा सायद 2004 देखि सिक्किममा अलिकति परिवर्तन आयो। दैनिक समाचार पत्रहरू प्रकाशित हुन थालेको थियो। लगभग यहाँदेखि नै सूचना प्रौद्योगिकीको क्रान्ति शुरू भयो। सिक्किम पनि त्यस क्रान्तिमा समावेश भयो। अहिले सिक्किमको वर्तमान अवस्था जो देखिरहेका छौं, त्यो एकदमै राम्रो छ। पत्रकारिता पेशा मलाई लाग्छ प्रगतिशील छ। अहिलेको जुन रफ्तार छ त्यसले अरु कतिपय आयामहरू बद्लिएर जाला तर पत्रकारिताले अन्य पेशाहरूभन्दा पनि राम्रो र स्तरीयता आर्जान गर्छ भन्ने मलाई विश्‍वास लागेको छ।’’
वर्तमानमा युवाहरूका लागि रोजगारको अवसरको रूपमा पत्रकारिता पेशाबारे आफ्नो मन्तव्यमा उनी भन्छन्, ‘‘यहाँ कुरा भइसकेको छ कि यो पेशा प्रगतिशील छ। अर्कोकुरा प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि आभार व्यक्त गर्न चाहन्छु कि उनको सरकारले डीएभीपी (डाइरेक्टोरेट अफ एड्भर्टाइजिङ एण्ड पब्लिसिटी)-को लागि समाचार पत्रहरूलाई अङ्क दिएर त्यसको आधारमा विज्ञापनको भोल्युम पनि बढाउने प्रावधान राखिदिएको छ। त्यसमा ईपीएफ (इम्प्लोइज प्रोभिडेण्ट फण्ड अथवा कर्मचारी भविष्य निधि) पनि मुख्य अङ्कमा पर्दछ। ईपीएफ लागु गरेको ‘पेपर हाउस’-लाई अलिकति बेसी ‘भोल्युम’ भएको विज्ञापन दिने प्रावधान समावेश गरिएको छ। यसबाट स्पष्ट हुन्छ कि भविष्यमा पत्रकारहरूले ईपीएफसितै पत्रकारिता गर्न पाउनेछन्। उसो त ‘समय दैनिक’ नेपाली समाचार पत्रले अघिबाटै ईपीएफ लागु गरिसकेको छ। यो नै सिक्किममा ईपीएफ लागु गर्ने पहिलो समाचार पत्र पनि हो। अबउसो भने ईपीएफ ‘मेण्डेटोरी’ भनौं अनिवार्य जस्तै भएको छ। त्यस्ले गर्दा हाम्रा जति पनि ‘वर्किङ जर्नलिस्ट’-हरू छन् उनीहरू सबैका निम्ति यो एउटा राम्रा खबर हो। यसबाहेक जहाँसम्म वेतनको सन्दर्भ छ, यसमा पनि भविष्यमा सरकारले ‘स्ट्रिमलाइन’ गर्दै, सुव्यवस्थित गर्दै लानेछ भन्ने विश्‍वास गर्न सकिन्छ। हुनसक्छ यसबारे केन्द्र सरकारले कुनै ‘पोलिसी’ नै अप्नाउन सक्ला। अथवा यस विषय हामीले राज्य र केन्द्र सरकारसित माग राख्न पनि सक्छौं।’’
यसबारे अहिले कुनै पहल गरिएको छ/छैन भन्नेबारे पत्रकार लेप्चा भन्छन्, ‘‘उसो त ‘जर्नलिस्ट वेलफेयर फण्ड’ (पत्रकार कल्याण कोष)-को पनि कुरा चलिरहेको छ र व्यक्तिगतरूपमा भए पनि मैले सूचना अनि जनसम्पर्क विभागका मन्त्री श्री एके घतानीबाट प्रतिवद्धता पाएको छु, त्यसमा ‘जर्नलिस्ट डेभलोपमेण्ट फण्ड’ या ‘वेलफेयर फण्ड’ राखिने भएको छ। त्यसमा के छ भने विभागहरूबाट जति पनि विज्ञापनहरू जानेगर्छ त्यसबाट दुई प्रतिशत त्यो ‘जर्नलिस्ट डेभलोपमेण्ट फण्ड’ या ‘वेलफेयर फण्ड’-मा सोझै जान्छ। यो एउटा हाम्रो माग छ। त्यसो गर्दा सरकारको तर्फबाट जुन विज्ञापनबाट 2 प्रतिशत काटिन्छ, त्यो थाहा पनि हुँदैन र यता जर्नलिस्टहरूका लागि कल्याण कोष पनि बढ्नेछ।’’
वर्तमान प्रेस क्लब अफ् सिक्किमका कार्यकारिणी समितिले गरिरहेको कार्यहरूबारे उनी भन्छन्, ‘‘कनिष्ठ र वरिष्ठ पत्रकारहरू जो छन् म उनीहरूबीचको सेतु जस्तो लाग्छ आफैलाई। उहाँहरूले पुरस्कार वितरणलाई लिएर जुन नयाँ ‘ट्रेण्ड’ नै भन्छु म, शुरू भएको छ त्यो राम्रो हो। कञ्चनजङ्घा कलम पुरस्कारलाई सँधैभरि एउटा सीमाभित्र राख्नु उचित नहोला, किनभने सिक्किम सानो ठाउ भए पनि अहिले यहाँको पत्रकारिताले ‘प्रोफेसनलिज्म’-को विकास गर्दैछ। उसो त 25 वर्षअघि सिक्किममा पत्रकारिता भन्ने व्यावसाय थिएन।  गाउँमा जाँदा बुढा-पाकाहरूले ‘के गर्दैछस्?’ भनेर सोद्धा मैले ‘पत्रकारिता गर्दैछु’ भन्ने जवाब दिन्थेँ। त्यतिबेला ‘तेरो काम सोधेको हौ, रुची होइन’ भन्ने गर्थे मलाई। अहिले त्यस्तो छैन। अर्को कुरा, सिक्किम सानो भए पनि राष्ट्रियस्तरमा हेर्दा तीन-तीनवटा छिमेकी राष्ट्रको सीमाले घेरेको हुनाले ‘सेन्सिटिभ’ छ। विकासको दृष्टिले हेरिनु हो भने सिक्किम भारतमै एक उदाहरण बनिरहेको छ। त्यसैले पनि सिक्किम अहिले राष्ट्रिय-अन्तर्राष्ट्रिय ‘फोकस’-मा छ। त्यसैले यहाँका समाचारहरू राष्ट्रिय-अन्तर्राष्ट्रिय समाचारहरू हुनसक्छ। त्यसको लागि ‘प्रोशेसनल जर्नलिस्ट’-हरू हुन आवश्यक छ। भविष्यमा यसमा भविष्य उज्ज्वल छ जस्तो लाग्छ अनि पत्रकार र पत्रकारिताको यो स्वर्णिम क्षणजस्तो लाग्छ। पत्रकारितामा अघि बढ्न चाहनेहरूको यात्रा साँच्चै सुगम छ।’’
आफूपछिकाहरूलाई सुझाउ के राख्न चाहनुहुन्छ त? भन्ने मेरो प्रश्‍नमा उनी भन्छन्, ‘‘हामी भन्छौं डाक्टरको पेशा ‘नोवल प्रोफेसन’ हो। त्यो भन्दा पनि अथवा अन्य संवेदनशील पेशाहरू भन्दा हाम्रो यो पेशा अति नै संवेदनशील पेशा हो। मैले एउटा सानो ‘फर्मुला’ बनाको छु, एउटा मन्त्र जस्तो, मेरो अहिलेसम्मको अनुभवमा।’’ उनी भन्छन्, ‘‘त्यो हो ‘सार’ अथवा एस.एस.आर.। एस-बाट सेन्सिटिभ, ए-बाट अथेन्टिक र आर-बाट रेस्पोन्सिबल। त्ययैले यति भन्न चाहन्छु ‘बी सेन्सिटिभ, बी अथेन्टिक एण्ड बी रेस्पोन्सिबल’, किनभने सेनाले हाम्रो सीमा, हाम्रो देश सुरक्षा गरेका छन् अनि हाम्रो पनि त्यतिकै जिम्मेवारी छ। हामीले राष्ट्रविरोधी पत्रकारिता गर्यौं भने अथवा हामी सेन्सिटिभ, अथेन्टिक अनि रेस्पोन्सिबल बन्न सकेनौं भने देशलाई सिमानापारीको भन्दा पनि सिमानावारीको खतरा बढ्ने हुन्छ। देशको अन्तरिम सुरक्षालाई लिएर हामीमा दायित्वबोध हुनुपर्छ। मलाई लाग्छ, हामीपछिको पिढीका पत्रकार भाइ-बहिनीहरूले यसलाई गम्भीररूपले लिनुपर्नेछ। काम गर्न सजिलो र फरक होला तर अति नै संवेदनशील पनि छ।
---
मैले पत्रकार जोशेफ लेप्चालाई फोनमार्फत ‘‘आकाशवाणी गान्तोकद्वारा प्रसारित हुने कार्यक्रम सिक्किम दर्पणको निम्ति कुराकानी गर्नुछ, रेकर्ड गर्छु’’ भनेको थिएँ।
‘‘समय कति लाग्छ?’’ सोध्नुभएको थियो मलाई।
‘‘पाँच/दश मिनट हो। धेरै लाग्दैन।’’ भनेको थिएँ। नाट्यकला, चलचित्र अभिनय, मञ्च सञ्चालन, हास्यकला उनीभित्र रहेका यस्ता धेरै कला-प्रतिभामाथि चर्चा गर्नै छ। यतिबेला तर त्यो पाँच/दश मिनटको निम्ति बसेका थियौं हामी। हाम्रो अघि राखिएका बिस्किटहरू अनि चियाका तीनवटा कप अघि कतिबेला खालिएछन्, थाहै भएन हामीलाई। हामी निस्क्यौं एमजी मार्गतिर। (29 जुलाई 2016-को समय दैनिकबाट)
---000--- 

Sunday, July 24, 2016

अनलाइन शोपिङ र बजार

एउटा समय थियो, जतिबेला मानिसहरू एकथोक पाउनलाई अर्को थोक दिनुपर्ने चलनमा अथवा ‘बार्टर सिस्टम’-मा थिए। न पैसा-रुपियाँ थियो न बजार-व्यवस्था। त्यसैले इशापूर्व 6 हजार तिरैदेखिको यो चलन लामो समयसम्म बाँचिरह्यो। इशापूर्व 6 हजारदेखि इशापूर्व 2 हजारसम्म आइपुग्दा ‘स्टोन एज’-को समापनसितै मानस सभ्यतामा पनि विकास हुँदै आयो। त्यसैले पैसा-रुपियाँको कुनै चलनसम्म नरहेको समय ‘बार्टर सिस्टम’ मानव समाज विकासको पहिलो खुड्किलो थियो सायद। एकप्रकार अवसादको अवस्थाबीच 1930-को दशकमा यसले अझ लोकप्रियता पाएको थाहा पाइन्छ। त्यसअघि नै किन-बेच तथा बजार व्यवस्थाको शुरू भइसकेको हो। पछि बजार व्यवस्थादेखि पनि यसले अझ विकसित रूप लिँदै गयो, जहाँ शुरू भयो अनलाइन शपिङ।
मान्छे सँधै रहेक कुरामा छिटो र सहज माध्यमको पछि लागिरहेका हुन्छन्। भनौं सुखउपभोगी हुन्छन् मान्छे। त्यसैले मान्छेलाई सुविधा र सुखउपोगले दास बनाउँदै लगिरहेको छ। ‘बार्टर सिस्टम’-देखि नै विकासको खुड्किलो चड्दै आइरहेको मान्छेले अहिले कोठाभित्रै बसेर संसार चियाउन थाले। घरभित्रै हरेक सुविधा उपलब्ध हुन थाल्यो। यहाँसम्म कि उसले आफूलाई चाहिएका सामाग्री किनमेलका लागिसम्म बजार पुगिरहनु नपर्ने भयो। 1990-को दशकदेखि विशेष तीव्ररूप लिइरहेको अनलाइन शपिङले यी कुराहरूलाई जतिजति सम्भव पार्दै लग्यो, उति नै ‘बजार’-को भविष्य पनि संकटमय बन्दै गइरहेको देखिन्छ। त्यसैले ‘अन लाइन शपिङ’ र ‘बजार’-बीच अहिले चलिरहेको व्यापारिक होडले मानव समाजलाई कुन दिशातिर अग्रसर गराइरहेको छ? त्यो भविष्यले बताउला। यद्यपि, विश्‍वबजारले बिस्तारै आफ्नो संकटको आभाष गरिरहेको ज्ञात हुन्छ। फलस्वरूप, अनलाई शपिङको प्रभावलाई नियन्त्रण गर्न विभिन्न वेबसाइडहरूसितै ‘गुगल’-को प्रयोगमा समेत प्रतिबन्ध लगाउन थालिएको छ।
अहिले चीनमा यू टुब, जी मेल, ब्लगर, म्याप लगायत फेसबुक तथा ह्वाट्सएपको प्रयोगमा समेत अघिबाटै प्रतिबन्ध लगाइसकिएको छ भने क्रिमीया, क्युबा, इरान, उत्तर कोरिया, स्वीडेन, सिरिया, पाकिस्तान तथा अरब जस्ता राष्ट्रहरूले पनि गुगल, जीमेल तथा यू टुबहरूको प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ। भर्खरै मात्र भारतमासम्म ह्वाट्सएपमाथि प्रतिबन्ध लगाइनुपर्ने प्रश्‍न उठेको हो, यद्यपि सर्वोच्च न्यायालयले यस मागलाई खारेज गरिसकेको छ।
अहिले यूरोप महादेशमा पनि गूगलमाथि औंला उठ्न थालेको छ। यूरोपीय कमीशनले गूगललाई स्पष्टसँग अनलाइन शपिङमा आफ्नो अनावश्यक प्रभाव समाप्त गरोस् भनेको छ। कमीशनको भनाईअनुसार, गूगलको सर्च रिजल्टले केही खास कम्पनीहरूलाई बढावा दिइरहेछ,जसबाट बजारमा गलत प्रभाव परिरहेछ। यूरोपीय कमीशनले आफ्नो जाँचमा अनलाइन शपिङको अवधिमा गूगलको सर्च रिजल्टमा केही विशेष कम्पनीहरूको उपस्थिति अन्य कम्पनीहरूको भन्दा अधिक प्रभाव देखिने गरेको बताएको छ। गूगलमाथि उसले प्रतिद्वन्दी सर्च इञ्जनमा जानीबूझी तक्निकी समस्याहरू सिर्जना गरिरहेको पनि आरोप छ।
यूरोपीय यूनियनका प्रतिस्पर्धा आयुक्त मार्गे्रट वेस्टेयरले गूगललाई आफ्नो प्रतिस्पर्धीहरूलाई रोक्ने कुनै अधिकार नरहेको भनेकी छन्। यूरोपियन कमीशनअनुसार, गूगलले धेरै नयाँ प्रोडक्ट्स लिएर आएको छ, जसबाट हाम्रो जीवनमा ठूलो बदलाव आएको छ तर यसले गूगललाई अन्य कम्पनीहरूलाई अघि बढ्नदेखि रोक्ने कुनै अधिकार दिँदैन। गूगलमाथि पहिलेदेखि नै एन्ड्रोयड अपरेटिङ सिस्टमद्वारा आफ्नो प्रभावको गलत प्रयोग गरेको पनि बताइएको छ। यस मामिलामा गूगलले अनलाइन शपिङको पूरा परिभाषा नै परिवर्तन गरिदिएको बताइरहेको छ। यसबाट यूरोपीय मानिसहरूको जीवनमा धेरै परिवर्तन आएको तथा प्रभाव परेको छ।
अब अनलाइन शपिङ र बजारबीचको प्रतिस्पर्द्धासितै विकासको यो शृङ्खला कुन दिशातिर जाने हो? हेर्दै जानु छ। समयले बताउला नै।-15.07.2016

जीटीए गठनको चार वर्षनजीक

2 अगस्त 2016, गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रीेसन (जीटीए) गठनको चार वर्ष पुग्दैछ। अहिले पनि तर ‘छुट्टै राज्य कि विकास?’ भन्ने प्रसङ्गमा पहाडबासी अलमल्लै परिरहेको अवस्थामा छ। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा पहिला उठाउने श्रेयमा सँधै हानथाप भइरहेको अवस्था देखिन्थ्यो पहाडमा। अहिले पहाडमा प्रभावशाली देखिएका तीन राजनैतिक दलमध्ये पुरानो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-का पूर्व अध्यक्ष सुवास घिसिङले सन् 1980-मा अलग राज्य गोर्खाल्याण्डकै मागलाई अघि राखेर पहाडमा 28 महीनाको संघर्षपूर्ण आन्दोलन गराएका थिए। यही मुद्दालाई अघि सारेर लड्दै आइरहेको घरिघरि दावी गर्दै आइरहेकै हो गोरामुमोका वर्तमान अध्यक्ष मन घिसिङको नेतृत्वमा पनि।
सुवास घिसिङले पछि ‘छैटौं अनुसूचि’ थापेर त्यसैलाई छुट्टै राज्यको लक्ष्यसम्म पुर्याउने ‘डमरु’-को संज्ञा पनि दिएका हुन्। 2007-मा फेरि छुट्टै राज्यकै मूल मुद्दा बोकेर स्थापित गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले एकसमय समुद्र उर्लिएझैं समग्र पहाडलाई गोर्खाल्याण्डकै लागि जनान्दोलनमा उर्लाएको थियो। उसले फेरि गोर्खाल्याण्डसम्म पुग्ने ‘सिँडी’ भनेर जीटीएका लागि त्रिपक्षीय सम्झौता-पत्रमा हस्ताक्षर गर्यो। 2015-मा फेरि अलग जिल्ला कालेबुङको मूल मुद्दासितै चुनाव घोषणा-पत्रमा छुट्टै राज्य गोर्खाल्याण्डलाई प्राथमिकता दिँदै डा. हर्कबहादुर क्षेत्रीको नेतृत्वमा जन आन्दोलन पार्टी (जाप) अस्तित्वमा आएको थियो। चुनावमा गोजमुमोसित पछि रहेपछि उसले त जिल्लाको मुद्दालाई पनि अघि बढाउने जिम्मेवारी गोजमुमोलाई नै सुम्पिएपछि छुट्टै राज्यको मुद्दालाई उसले अघि लगाउला भन्ने विश्‍वास गर्ने ठाउँनै देखिन्न।
मुख्यमन्त्री ममता ब्यानर्जीको पहाड भ्रमणको अवधी गोरामुमो अध्यक्ष मन घिसिङलाई उत्तर बंगाल स्पोर्टस् एण्ड गेम्स डेवलपमेन्ट बोर्डको उपाध्यक्ष मनोनित गरिएको छ। त्यसपछि मन घिसिङले अलग राज्य गोर्खाल्याण्डको मुद्दा पनि त्यही उपाध्यक्षको पदसित साटेको गोजमुमोले आरोप लगाइरहेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर क्षेत्री अघिबाटै पहाडको समस्या समाधानको लागि राज्य सरकारसित मिलेर काम गर्ने पक्षमा छँदैछन्। राज्य सरकार अथवा मुख्यमन्त्री ममता ब्यानर्जीले ‘बङ्ग भङ्ग होबेना’ भनिसकेकी छन्।
अर्कोतिर, पहाडको विकासका लागि गोजमुमो राज्यसित मिल्नैपर्छ भन्ने समाचार पत्रहरूको माध्यमद्वारा 28 जूनकै दिनमात्र दार्जीलिङ हिल तृणमूल कंग्रेस नेत्री शारदा राईले सल्लाह दिएकी छन्। उनले ‘यदि दार्जीलिङ पहाडको सर्वाङ्गीण विकास गरिनु अनि पहाडको बेरोजगारी समस्या समाधान गर्नु हो भने जीटीए वा गोजमुमोले राज्य सरकारसित मिल्नैपर्छ’ भनेकी छन्। उनले राज्य सरकारसित मिलेपछि पहाडका सम्पूर्ण समस्या समाधान भएर जाने पनि बताएकी थिइन्।
त्यसअघि 27 जूनको दिन जीटीएमा सबै विभाग हस्तान्तरण नगरिएकोमा प्रश्‍न गर्दै विमल गुरुङले मुख्यमन्त्रीलाई ज्ञापन पठाएका थिए। जीटीएका कार्यकारी सभासद रोशन गिरीले जीटीए गठनको 4 वर्ष पूरा हुनलाग्दा पनि राज्य सरकारले भूमि अनि भूमि सुधार विभाग, सूचना एवं सांस्कृतिक विभाग, फूड एण्ड सप्लाई, अग्निशमन विभाग, पञ्चायत अनि ग्रामीण विकास विभागलगायत अन्य विभागहरू हस्तान्तरण नगरेको बताएका थिए। त्यसैले मुख्यमन्त्रीलाई विमल गुरुङले ज्ञापन पठाएको गिरीले अवगत गराएका थिए।
गोजमुमोले पनि छुट्टै राज्यसम्म पुग्नलाई विकास नै जरुरी छ भनिसकेकै हो, तर अहिलेसम्म पनि विभाग नै हस्तान्तरण नगरेपछि पहाडको विकास होला के? पहाडबासीले अब के आशा गर्नुपर्ने, छुट्टै राज्य गोर्खाल्याण्डको? कि त्यही छुट्टै राज्यका लागि लडन पहाडलाई सक्षम बनाउन गोजमुमोले आवश्यक भनेको विकासको आशा गर्नुपर्ने? दुई अगस्तको दिन जीटीए गठनको 4 वर्ष पूरा हुनेछ।
यस्तोमा के राज्य सरकारले रहेका विभागहरू जीटीएलाई हस्तान्तरण गर्ला? पौह्रो पीडितहरूले राहतसम्म पाउनबाट वञ्चित बनिरहेका पहाडबासीले विकासको मुख देख्न पाउलान्? फेरि, पहाडलाई नेतृत्व गरिरहेका राजनैतिक दल र नेताहरू आपस्तमा आरोप-प्रत्यारोप लगाउनमै व्यस्त छन्। अहिले फेरि  गोजमुमो समर्थित सांसद एसएस अहालुवालिया भर्खरै मात्र राज्य मन्त्री बनेका छन्। यही अवसरमा अहिले विपक्षी पार्टीहरूले उनलाई गोर्खाल्याण्डको मुद्दालाई अघि लगाउने सल्लाह दिइरहेका छन्। उसो भए के अब पहाडको विकास गरिने हो कि भारतभरि छरिएर बसेका नेपाली वा गोर्खालीहरूको अस्तित्व र चिन्हारी भनिँदै आइरहेको गोर्खाल्याण्ड? अहिले जनता थुप्रै प्रश्‍नै-प्रश्‍नहरूबीच रणभुल्लमा परिरहेका छन्।

देश विकास र सरोकार

मान्छे सधैँ समाजको समग्र विकास चाहिरहेका हुन्छन्। समृद्ध समाज निर्माणको कुरा गरिरहेका हुन्छन्। मान्छे सामाजिक प्राणी हुनुले समाजको समृद्धि र समग्र विकास हुनुपर्छ भनेर चाहनु कुनै आश्‍चर्यको विषय होइन पनि। आश्‍चर्यको विषय भनेको तर चाहेको त्यहि कुराबाट स्वयंलाई वञ्चित राखिनु भन्ने हुन्छ। हामी अथवा मानव समाज ठीक त्यस्तै-त्यस्तै देखिन्छ।
‘समाजको विकास कतिबेला हुन्छ?’ हामी स्वयंले स्वयंलाई यो प्रश्‍न गरे ‘जतिबेला हामी आफैले आफैलाई सहयोग गर्नसक्छौं, जतिबेला हामी सिङ्गो समाज बन्नसक्छौं, जतिबेला समाज एउटा हुन्छ, जतिबेला हामी-हामीमा भेदभाव हुँदैन...’ यस्तै जवाब पाउन सकिएला। हामी जान्दछौं, जबसम्म समाजमा रहेका विभिन्न जात-जाति, साना-ठूला, धनी-गरीब, विभिन्न भाषा-भाषी सबै एक हुुँदैनौं तबसम्म समाजको उत्थान हुनसक्दैन, समाजको विकास हुनसक्दैन। जबसम्म हामी भावनात्मकरूपमा, वैचारिकरूपमा र व्यावहारिकरूपमा एकार्काको नजीक बन्नसक्दैनौं तबसम्म समाज समृद्ध बन्नसक्दैन। यतिकुराको ज्ञान भएरै पनि हामी तर त्यही कुुराबाट वञ्चित छौं। आश्‍चर्यको यो अर्को द्वार हो, जहाँबाट हामी बाहिर छिर्न सकिरहेका छैनौं। अथवा समाज त्यो द्वार छिरेर एउटा पर्खाललाई पछि छोड्न नसक्ने, खुम्चिरहेको अवस्थामा छ अझै पनि हाम्रो समाज।
राष्ट्रपिता महात्मा गान्धीले ‘देशको संस्कृति ती देशका मानिसहरूको हृदय र आत्मामा बसेको हुन्छ’ भनेका छन्। जबसम्म हामी संस्कार-संस्कृतिले एक हुनसक्दैनौं, तब के हामीले हाम्रो समृद्ध र विकसित समाजको कल्पना गर्नसकौंला? राष्ट्रपिता महात्मा गान्धी देशमा एकता चाहन्थे, शान्ति चाहन्थे, अहिंसा चाहन्थे, स्वाधिनतामा बाँचेको हेर्न चाहन्थे। त्यसैको निम्ति लडिरहे। अर्कोतिर, देशको संविधान निर्माता डा. भीमराव अम्बेडकर पनि देशमा शान्ति चाहन्थे, भाइचारा चाहन्थे, समानता चाहन्थे। देशमा जब एकता, अहिंसा, शान्ति, भाइचारा, समानता छाउछ, जब देश र देशवासी स्वाधिन रहन्छ तब विकास आफैआफ हुँदै जान्छ, आफै-आफ समृद्धि छाउँछ। महात्मा गान्धी र डा. भीमराव अम्बेडकरले देखेको सपना अथवा देशप्रतिको लक्ष्य-उद्देश्य पनि अन्ततः त्यहि नै हो। दुवैको उद्देश्य, दुवैको लक्ष्य वा दुवैको सपना अहिले कतिसम्म साकार हुँदैछ? सधैँ ‘अनेकतामा एकता’-को नारा गुञ्जिने धर्मनिरपेक्ष देशमा अहिले विभिन्न जात-जाति, विभिन्न धर्म-संस्कारका हामी साँच्चै ‘हामी’ सकिरहेका छौं?
देशको संविधानले देशका प्रत्येक नागरिकलाई आफ्नो भाषा, साहित्य, संस्कार, संस्कृति, परम्परासितै जातिको जगेडा गर्ने अधिकार दिएको छ। हाम्रो अधिकार नै तर हाम्रो बाधक बनिरहेको छैन? हामी प्रत्येकलाई आफ्नो जातिको संस्कार-संस्कृतिको सुरक्षा गर्ने अधिकार प्राप्छ, र सुरक्षा हुनु पनि पर्छ। हामीलाई आफ्नो भाषाको संरक्षण गर्ने अधिकार संविधानले नै दिएको छ, हामीले गर्नु पनि पर्छ। तर, जब कुरा समाज सुधारको आउँछ, देश विकासको हुन्छ अनि कुरा जब देशको एकता र अखण्डताको आउँछ त्यतिबेला हामी आफ्नो जाति, आफ्नो भाषा र आफ्नो संस्कृति-परम्परादेखि माथि उठ्नसक्नुपर्छ। समाज र देशको विकास र समृद्धिको सन्दर्भमा हामीले आफ्नो जाति र संस्कार दुवैलाई बिर्सनुपर्ने हुन्छ। त्यतिबेला सानो र ठूलो, धनी र गरीब भुुलेर एउटै मुट्ठी बन्नसक्नुपर्छ। संकुचित विचार-भाव र संकुचित व्यवहार हाम्रो निम्ति बाधक बन्नसक्छ। उदाहरणस्वरूप अहिले पहाडमा चलिरहेको बबोर्ड गठनकै विषयलाई हेर्नसकिन्छ। भर्खरै हामीले देशभरि संविधान निर्माताका रूपमा जानिने डा. भीमराव अम्बेडकर दिवस पालन गर्यौं, हामी कति सफल भयौं हाम्रो एकतामा यहाँ? सम्पूर्ण देशवासी चाहे उ तृणमूलस्तरका नागरिक होस चाहे माथिल्लो तहका, देशको संविधानले सबैसित उत्तिकै सरोकार राख्दछ। के प्रत्येक 14 अप्रेलको दिन हामी प्रत्येक देशवासीको मनमा यो भावना उजागर भइरहेको छ? अथवा हामी सधैँ यतिबेला एक हुनसकिरहेका छौं के? किनभने देशको समग्र विकास अनि समृद्दिमा यसकुरोले पनि सरोकार राख्दछ।

कुनै समय म बाटोमा थिएँ, अहिले त्यही बाटो मेरो इज्जत र पहिचान बनेको छ : अमर सुब्बा

-अर्जुन यावा, राङ्का

जीवनमा सफलता त्यसै हात लाग्दैन। महात्मा गान्धी, अब्दुल कलाम, थोमस एल्वा एडिसन  यस्ता धेरै सफल व्यक्तित्वहरूको नाम छन् जसले धेरै सङ्घर्षपछि मात्रै सफलताको सिखर चुमेका छन्। सङ्घर्ष तथा परिश्रमबिना प्राप्त कुनै पनि कुराको महत्व हुँदैन। त्यो आज पाएर भोलि गुमाउनु पनि पर्ने हुन्छ। न त त्यो पाउँदा हर्ष लाग्नसक्छ न त गुमाउँदा दुःख नै लाग्छ। सङ्घर्ष-परिश्रम गर्नेहरू यो जगतमा सँधै बाँचिरहने पक्कै होइनन्, तर उनको कृति, उनको कार्य अथवा उनले आफ्नो समाज, राज्य र देशप्रति पुर्याएको योगदानसितै उनी बाँचिरहेका हुन्छन्।
सिक्किमेली समाजमा अहिले लोकप्रिय बन्दै अग्रसर रहेको एउटा नाम हो म्याराथनम्यान अमर सुब्बा। हजूर, आदरणीय पाठकवृन्द धावक अमर सुब्बालाई तपाईंहरू धेरैले चिन्नुहुन्छ अनि धेरैले चिन्नुहुन्न। अमर सुब्बाले स्वयंलाई ‘म्याराथनम्यान’-को नामबाट परिचित गराएका छन्। यसको निम्ति उनले झण्डै 12 वर्षसम्म निरन्तर सङ्घर्ष गरेका थिए अनि 2012-मा आएर उनी ‘म्याराथनम्यान’ भनिन थालिए। उनी भन्छन्, ‘पहिले दुःखमा साथ दिनेहरू थिएनन्।’ निश्‍चिय मान्छेले जबसम्म आफ्नो पहिचान बनाएका हुँदैनन् तबसम्म उनीभित्रका उत्कट चाहना, इच्छा, सपना र दृढ सङ्कल्पहरूलाई पनि कसैले जानेका हुँदैनन्। तर जसले आफू एक्लो हुनुको पीडा, अभाव अनि समस्याहरूसित सङ्घर्ष गर्न जान्दछ, जीवनमा उ नै सफल बन्न सक्दछ। त्यसैले त अमर सुब्बालाई पनि आज ‘म्याराथनम्यान’ भनेर जानिन्छन् समाजमा। अर्थात ‘अमर सुब्बा’-को पर्याय बनेको छ ‘म्याराथनम्यान’, जसले सिक्किमलाई धेरै हदसम्म म्याराथनका लागि चिनाउन सकेका छन् अनि सिक्किममा म्याराथन चिनाउने काम गरेका छन्। आज समाजले माया गर्दछ म्याराथनम्यान अमर सुब्बालाई भनौं उनको सङ्घर्ष, उनको परिश्रम, उनको लगनलाई।
वर्ष 2012-मै ‘लिम्का बुक अफ रेकर्डस्’-मा आफ्नो नाम दर्ता गराउन सफल अमर सुब्बाको परिचय पनि वास्तवमै त्यहीदेखि समाजले पाउँदै गयो। 28 सितम्बर 1969-मा जन्मेका सुब्बाले ‘लिम्का बुक अफ रेकर्डस्’-मा रेकर्ड कायम गरेपछि उनी कहिल्यै पछि फर्कैनन्। निरन्तर अघि बढिरहे, बढिरहे। सफलता सधैं हात लाग्ने कुरो पक्कै होइन। कहिले सफलता त कहिले असफलताहरू पनि हात पर्नसक्छन्। तर, त्यस्ता असफलताहरू, साना बाधा र अड्चानहरूले उनलाई निरुत्साह कहिल्यै पारेन। सफलताको सिँडी उक्लिरहेका सुब्बाको रगतमै ‘खेल’ थियो भन्ने लाग्दछ कहिलेकाहिँ। यद्यपि, ‘डोकोमा दूग्ध कहिल्यै अडिन्न’ भन्ने बुझेका सुब्बाले परिश्रम गरे, सङ्घर्ष गरे। पूर्व सिक्किमको ताथङ्चेनमा जन्मेका सुब्बाका परिवार पछिबाट दराप, पश्‍चिम सिक्किममा स्थायीरूपमा बसोबासो गर्दै आइरहेका छन्।
पिता दिलबहादुर सुब्बा (स्व.) र माता भक्तमाया सुब्बाका सुपुत्र म्याराथनम्यान अमर सुब्बाले ताथङ्चेन हुँदादेखि नै आफ्ना पिताले फूटबल खेकेको हेर्दै आएका हुन्। त्यसैले उनले पनि फूटबल खेले, पछि क्रिकेट पनि खेले। सानैदेखि खेलकुदमा धेरै रुची राखेका सुब्बाले तर शिक्षा क्षेत्रमा आफैलाई अघि बढाउन सकेनन्। उनी भन्छन्, ‘त्यय समय मेरा पापा सिक्किम किङ टीमबाट फूटबल खेल्नुहुन्थ्यो। यो कुरा 1970-कै सशकको हो। मेरो जन्म ताथङ्चेनमा भएको हो। मेरो शिक्षाको शुरूवा पनि त्यहीँबाट भएको हो। त्यतिबेला ‘गार्ड्स स्कूल’ भनिन्थ्यो, सायद त्यही स्कूललाई अहिले ‘वेस्ट पोइण्ट स्कूल’ भनिन्छ। सिक्किम विलयपछि पापा बीएसएफमा भर्ना हुनुभएको थियो। त्यसैले पापा जहाँ-जहाँ पुग्नुभयो म पनि त्यहि- त्यहिँ पुगेँ अनि त्यहिँ-त्यहिँ शिक्षार्जन गरेँ।’
अमर सुब्बा आफ्ना पितासितै ताथङ्चेनदेखि गेजिङ स्कूल पुगे, पेलिङ स्कूल पुगे, त्यसपछि शिलोङ, बेङ्लोर, पञ्जाब जहाँजहाँ पुगे उनका पिता अमर सुब्बा पनि सँगै गए। उनका पिता पछि ‘इन्सपेक्टर’-को पदबाट अवकाशप्राप्त भएका हुन्। यस क्रममा पञ्जाबमा त उनले नोकरीसम्म पाएका थिए, तर भाग्यमा उनको नोकरी गर्ने  होइन एक असल र सफल म्याराथनम्यान बन्ने लेखेको थियो। त्यसैले त उनले हिमालको कठ्यशाङ्ग्रिने ठिहीदेखि समतलको उष्णताले पनि उनको उत्साहत, जोश, परिश्रमलाई छेक्न सकेन। उनी भन्छन्, ‘भाग्य हो या कर्म, कुनै समय म बाटोमा थिएँ, अहिले त्यही बाटो मेरो इज्जत र पहिचान बनेको छ।’
म्याराथनम्यान अमर सुब्बाले मात्रै 23 वर्षको उमेरमा विहाव गरे सुशिला सुब्बासित। 1992-मा विवाह गरेका सुब्बा दम्पतिका दुई सन्तान छन्, आकाश सुब्बा र आशिभ सुब्बा। ‘आशिभको अर्थ के हो?’ भन्ने मेरो छोटो प्रश्‍नको ठोटै उत्तरमा उनी भन्छन्, ‘म पहिलादेखि नै शिवजीको भक्त, त्यसैले आशिभ राखिदिएँ छोराको नाम।’
‘तपाईं म्याराथनम्यान भनेर चिनिनु भएको छ। म्याराथनका समय जीवनमा बिर्सनु नसकिने केही घटना छ?’ भन्ने प्रश्‍नमा उनी भन्छन्, ‘2012-मा जब म लिम्बुक अफ रेकर्ड’-का लागि दौडिरहेको थिएँ त्यो क्षणलाई सँधै सम्झिने गर्छु। लिम्का बुक् अफ रेकर्डका लागि सिक्किमदेखि कालेबुङ, दार्जीलिङ, सिलगढी, दुवर्सका विभिन्न क्षेत्र गरी 17 देखि 23 जनवरी 2012-मा दौड लगाएका त्यस क्षणलाई सम्झना गर्दै भन्छन् ‘त्यसै पनि जनवरीको चिसो अनि सन्दकफू जस्तो ठाउँ। 12 हजार फीटभन्दा माथिको उँचाइ, जहाँ ‘-10’ देखि ‘-15 डिग्री’-को मुटु नै कक्र्याउने चिसो। मलाई त दौड लगाइरहेकोले जाडोको महशुस भएन होला, तर मेरा ती तमाम शुभचिन्तकहरू बिहानको 6 बजीको चिसोमा मलाई पर्खेर बसेका थिए। त्यो म बिर्सन सक्दिन, किनभने मेरो निम्ति त्यो सबैभन्दा ठूलो सम्मान थियो, प्रेरणा थियो, आदर थियो।’ उनी अझ भन्छन्, ‘त्यस्तो चिसोमा पनि मलाई पर्खेर बस्नेहरूमध्ये कसैले सोधेका थिए मलाई ‘तपाईं अमर सुब्बा होइन?’ अनि मलाई प्रेरणा, प्रोत्साहनस्वरूप अङ्गालो हालेर आँखाबाट खसालेका थिए आँशु..., मेरो निम्ति त्यो भन्दा ठूलो श्रद्धा के हुन सक्छ? त्यो कहिल्यै भुल्नसक्दिन।’ यतिबेला गान्तोकको मुटुमा बसेर ‘फस्ट फ्लस’-को चुस्की र ‘गुड डे’-को स्वाद लिँदै मसित कुरा गरिरहेका म्याराथनम्यानको मुहारमा मेरा यी दुई नयनले 2012-को अमर सुब्बालाई देखिरहेका थिए।
आप्नो पिताको जागिरे जीवनसितै घरि पूर्व घरि पश्‍चिमतिर भौंतारिहिँडेका अमर सुब्बाले पहिले ‘जीवनमा के हुने? के गर्ने?’-को चिन्ता लिएका थिएनन्। उनी भन्छन्, ‘हामीले सत्य लुकाउनु हुँदैन। म पहिला धुम्रपान सेवन गर्थेँ, मदिरा सेवन पनि गर्थेँ। जीवनका लागि केही सोचेकै थिइन।’ तर, जतिबेला जीवन अर्थात सुन्दर भविष्यका लागि र यो समाजका लागि केही गर्नुपर्छ भन्ने उनको चेत खुल्यो, त्यो बेला निक्कै ढलो भइसकेको थियो। किनभने सानै उमेरमा विवाह गरिसकेका थिए। उनीसित पारिवारिक जिम्मेवारी थियो। तर भविष्य अनिश्‍चित नै। यति भएर पनि अमर सुब्बाले हार खाएनन्।
यतिबेला जीवनमा केही त गर्नैपर्छ भन्ने सोच बनाएका सुब्बालाई रुपियाँको खाँचो थियो, सम्पत्तिको आवश्यकता थियो। त्यसैले आफ्ना पितासित आफ्नौ पुर्ख्यौली जमीन मागे। उनका पिताले त्यसलाई ‘पुर्ख्यौली चिनो’ भनेर जमीन नदिएका भए अमर सुब्बाले त्यो जमीन बेच्न सक्ने थिएनन् अनि अमर सुब्बा आज ‘म्याराथनम्यान’ बन्ने थिएनन्। उनी भन्छन्, ‘म के गर्दैछु भन्ने पापालाई थाहा थिएन। म त बस केही बन्न चाहन्थेँ त्यो समय। तर मेरो जिन्दगीलाई अघि बढाउन मैले राखेको मेरो प्रस्तावलाई स्वीकार्नु भयो। यसरी मेरो सफलतामा पापाले पनि योगदान पुर्याउनु भएको छ।’
म्याराथन अथवा खेल गजतमा सुरक्षित ‘करियर’-सितै इज्जत, मान-सम्मान पनि छ भन्ने विश्‍वास राख्ने अमर सुब्बा ‘तपाईंले म्याराथनमा के पाउनु भयो र के चाहिँ गुमाउनु भयो त?’ भन्ने प्रश्‍नमा भन्छन्, ‘के गुमाएँ र के पाएँ..! यो राम्रो प्रश्‍न गर्नुभयो’ भन्दै ‘उसो त धेरै कुरा अघिबाटै गरिसकियो यहाँ। यसमा गुमाएका कुराहरू पनि भए जस्तै पापाले पुर्ख्यौली जमीन नदिनु भएको हो भने त्यो जमीन आज हुन पनि सक्थ्यो अनि नहुन पनि सक्थ्यो।’ भन्छन्। उनी अझ भन्छन्, ‘अघि भनेको थिएँ ‘पहिले बाटोमा थिएँ म, अहिले त्यो बाटो नै मेरो परिचय बनेको छ’, यसले गर्दा यो समाज, यो राज्य, यो देशले नै मलाई माया दिएको छ, इज्जत दिएको छ। सबैभन्दा ठूलो तर मैले एकजना नकारात्मक विचार भएको, नकरात्मक व्यवहार भएको अमर सुब्बालाई गुमाएको छु अनि सकारात्मक विचार भएको अमर सुब्बा पाएको छु।’ सकिन लागेको ‘फस्ट फ्लस’-को सुरुपसितै मलाई हेर्दै उनी, स्वयंलाई ‘सफल’ मात्रै होइन एक ‘असल’ म्याराथनम्यान बनाउन चाहने बताउँछन्।
सफलताको श्रेय दिनपरे कस-कसलाई सम्झनुहुन्छ यतिबेला भन्ने मेरो प्रश्‍नमा उनी भन्छन्, ‘सप्पैको नाउँ लिएर सकिन्न। हजारौं छन्। विभिन्न सङ्घ-संस्था छन्, विभागीय अधिकारीहरू छन्, सरकार छ। सरकारद्वारा त मलाई राज्य दिवसमा खेल सम्मानले नै प्रोत्साहित गरेको छ। धेरै छन्।’ युवा खेलाडीहरूलाई सन्देशस्वरूप उनी भन्छन्, ‘खेलकुदले मानव मस्तिष्कसितै शरीरलाई स्वस्थ राख्छ। यसमा इज्जत छ, सम्मान छ। यसमा ‘करियर’ छ। त्यसैले कुनै पनि खेल क्षेत्रलाई अप्नाउनु राम्रो हो। एक असल र सफल खेलाडी बन्नलाई हामीमा इमान्दारी, मेहेनत र लगनशीलता हुन जरुरी छ’, उनी भन्छन्।
स्मरणीय, म्याराथनम्यान सुब्बाले लिम्का बुक अफ रेकर्डस्मा नाम गर्दा गराउन सफल बनेपछि धेरैवटा प्रतियोगिताहरूमा भाग लिए अनि सफलताहरू हात पार्दै गए। उनले 2012-मा ‘एयरटेल हैदरबाद म्याराथन’-मा 42 किलोमिटरको दूरूत्व सफलतापूर्वक पूरा गरेका थिए भने 2012-मै ‘अल इण्डिया अल्ट्रा म्याराथन बङ्गलोर’-मा 100 किलोमिटरको दूरुद्व पूरा गर्दै 10औं स्थानमा आउन सफल बनेका थिए। यसरी नै नोभेम्बर 2014-मा 6010 मिटरको ‘माउण्ट तिङजिङखाङ सिक्किम हिमालय’-को आरोहण गरेका थिए भने 2014-मै बङ्लोरमा सम्पन्न ‘अल इण्डिया 12 आवर स्टेडियम म्याराथन च्यालेञ्ज’-मा 96 किलोमिटरको दूरी पूरा गर्दै तेस्रो स्थानमा आउन सफल बनेका थिए। 2015-मा उनी महाराष्ट्रमा सम्पन्न ‘रगेडियन अब्सटेकल्स् रेस’-का विजेता हुन् भने 2016-मा मात्रै उनी ‘अल इण्डिया 12 आवर स्टेडियम म्याराथन च्यालेञ्ज’-मा 95.6 किलोमिटरको दूरी पूरा गर्दै पाँचौं स्थानमा आएका छन्। अहिले पनि उनी यस्तै धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूका निम्ति तयारीमा व्यस्त छन्। म्याराथनम्यान अमर सुब्बालाई सँधै सफलताको कामना।-19.07.2016 (20 जनवरी 2016-को समय दैनिकबाट।)

निलकमलको मनका भावनाहरू

-अर्जुन यावा, राङ्का

भौगोलिकरूपमा हेरिँदा राङ्का राज्यको राजधानी गान्तोकको काखैमा छ। राजधानीको नजिकमा रहेको राङ्का तर नेपाली साहित्यको सूचिमा धेरै पछि परिरहेको लाग्ग। 1980-81 तिरै ‘शीतका थोपाहरू’ प्रकाशित तीनजनाको सामुहिक कविता सङ्ग्रभन्दा अघि-पछि पनि पत्र-पत्रिका र कविता सङ्ग्रह प्रकाशित भएका थिए भन्ने धेरैले बताउने गरेका छन्। तर, ती पत्रिकाहरू अथवा कृतिहरू अझै खोजेर निकाल्नु छ। 1980 देखि 2000 बीचमा धेर-थोर काम भएका छन्। कृतिहरू प्रकाशित छन्। 2000 पछि भने नेपाली साहित्यमा राङ्कालाई निकै अग्रसर देखिन्छ। गुणात्मकताको दृष्टिले यस भेकले अझै निक्कै पहाड चड्नुपर्ने भए पनि थोरैमा प्रयास त गरिरहेकै छ, भन्ने लागेको छ। यस भेगबाट प्रकाशित पहिलो कृति कुन हो, त्यो निश्‍चितरूपमा भन्न नसकिने  भए पनि अहिलेसम्मकै नवीन कृति हो युवा कवि निलकमल छेत्रीको ‘मनका भावनाहरू’।
युवा कवि निलकमलसित मेरो प्रत्यक्ष भेट भएको मलाई थाहा थिएन। अर्थात मैले उनलाई चिनेको थिइँन। एउटा गाउँ अर्था तल्लो र माथिल्लो गाउँ। म बर्बिङ वार्ड, निलकमल बलिमान वार्डका। स्कूल एउटा, अर्थात राङ्का उच्चमाध्यमिक स्कूल। जतिबेला हामी थियौं, त्यो बेलाको माध्यमिक स्कूल। फरक- निलकमल र मबीच केही वर्ष अघि-पछि पढेका थियौं। 22 फरवरी 2016-को दिन फोनकल आएको थियो, भाइ निलकमल छेत्री रहेछन्। त्यसपछि परिचय र प्रत्यक्ष भेट भएको हाम्रो। कविता सङ्ग्रह प्रकाशनमा ल्याउने प्रायः तयारी भइसकेको रहेछ।
मैले सकेको र जानेको सुझाउ-सल्लाह दिएँ। भाइले गरेको पहिलो फोनकलको 40 मिनटपछि हाम्रो भेट भएको थियो। 2005-मा आफ्नो पहिलो कृति ‘अस्तित्व’ कथा सङ्ग्रह निकाल्ने जुन असीमित इच्छा थियो मसित, ठीक निलकमल भाइमा त्यही थियो। कथा सङ्ग्रह निकाल्नअघि भूमिका लेखिदिनेको मसित जुन खड़ेरी थियो, भाइ निलकमलमा झण्डै त्यस्तै। त्योबेला बरु भूमिकै लेखाउँदिन सम्झेँ, अनि लेखाइन पनि। फरक- मेरो कृतिमाथि भूमिका लेखिदिने फुर्सद नहुनेहरू धेरै थिए, भाइ निलकमलको भूमिका कै पहिलो अनुरोधलाई त्यही फुर्सदको अभावमा मैले भाइलाई टार्नु भनेको 2005-को म हुनु जस्तै लाग्यो। त्यसैले भूमिका लेख्ने कुरालाई थोरै पर सारेर शुभेच्छा संदेशसम्म लेखिदिउँला भनेँ। कविता कस्तो लाग्छ, त्यतिकुरासम्म लेखिदिने विचार मभित्र थियो। शान्तवनाका शब्दहरूमा यति कुरा भने भाइ निलकमललाई। उनको मनोसाय पनि त्यस्तै-त्यस्तै बुझेँ।
पुस्तक निस्कियो। कवि निलकमलको एउटा सपना पूरा भएको छ। त्यसैले यतिबेला खुशीको कुनै सीमा थिएन। 13 जुलाई 2016-को दिन नेपाली साहित्य परिषद, सिक्किमद्वारा आयोजित भानु जयन्तीको अवसरमा मनन केन्द्रमा अन्य कृतिहरूसितै निलकमल छेत्रीको ‘मनका भावनाहरू’ पनि लोकार्पित भयो। अर्था लोकलाई अर्पण। लोक अर्थात ‘मनका भावनाहरू’ कविता सङ्ग्रह अब उनको रहेन। यो त नेपाली साहित्य समाजको भयो। यसलाई कस्लो कसरी हेर्ने र लिने हो त्यो तपाईंहरूसितै छ। अहिले उनका कविताहरू कस्ता छन् त्यतिमात्रै लेख्ने प्रयास गरिरहेको छु, नितान्त मेरो विचार।
कविता के हो? सबैले आ-आफ्नै परिभाषा दिएका छन्। अहिले कवि निलकमल भाइका कविताहरूलाई हेरेपछि कविता मनका भावहरू व्यक्त गर्ने असल र सहज माध्यम हो जस्तो लाग्छ। उसो त साहित्यकै सबैभन्दा विकसित विधा भनेर जान्न सकिन्छ कवितालाई। अहिले कवितामा कला र शिल्प हुनुपर्छ भन्छन् अहिले धेरै। कवितामा कवि निलकमलका भावपक्षलाई मात्रै सर्सर्ती हेर्ने विचार गरेँ। मलाई लागेकोभन्दा कवि निलकमलका कविताहरू तपाईंलाई निश्‍चय फरक लाग्न सक्छन्। तपाईंका विचारमा उनका कविताहरू कस्ता छन्? त्यो तपाईंहरूकै जिम्मा नि, हुन्छ?
यहाँ मलाई लागेका कुराहरू केही कवितांश उदाहरणसितै -
कवि निलकमलले पहिलो कविता संग्रहको नामै राखिदिएका छन् मनका भावनाहरू। यहाँबाट पनि प्रष्ट हुन्छ, उनका कविताहरू उनीभित्र ओतप्रोत भावनाहरूकै परिणाम हुन्। त्यसैले लाग्छ, भाइ निलकमलले मनभित्रका कुरा-भावनाहरूलाई कविता बनाएर पाठकसमक्ष राखिदिइसकेपछि पाठकवर्गले उनलाई सहजै बुज्नसक्नेछन्। कवितामा कला र शिल्पसितै विचार भइदिएका भए कविताले भन्न चाहेका कुराहरू बुझ्न थोरै परिश्रम अवश्य गर्नुपर्ने हुन्थ्यो। विचारभन्दा कविले आफ्ना भावना-हरू नै राखिदिन रुचाएका छन्। त्यसैले उनका कविताहरू सरल, सहज छन् अनि छन् सामान्य कुराहरू, सामान्य विषयवस्तु। उनका कविताहरूमा पाइने मूल स्वर भनेको सामाजिक पक्षहरू नै हुन्। माया-ममता, दुःख-वेदना, पीडा-व्यथा, जातीय चेत, माटोको माया, संस्कृति संरक्षण, प्रकृति प्रेम आदि निलकमलका कविताहरूमा पाउन सकिन्छ। कवितालाई तर उनी मनका भावनाहरू मात्रै मान्दैनन्। कवितालाई उनी जीवनको आधार पनि स्वीकार्छन् कवितामै। त्यसैले कविताको पुकार शीर्षक कवितामा उनी भन्छन्-
कविता नै जीवन जिउने आधार जस्तो लाग्छ मलाई यहाँ !!
माया-प्रेम प्राकृतिक छ। धेरैले कविता लेखन त्यहीबाट शुरू गरेको पाउन सकिन्छ। कवि निलकमलका कविताहरूमा पनि यी कुराहरू प्रशस्तै पाउनसकिन्छ। धेरै तर वेदनाले पोलेको पाइन्छ उनलाई। उपहार कवितामा त्यस्तै भाव हेरौं उदाहरण-
जब यस संसारबाट बिदा लिने समय आउँछ
तब यो बाँकी जीवन पनि उपहार छ तिमीलाई !!
कवि निलकमल माटोको माया छ, संस्कृतिको चेत पनि छ। जातीय चिन्हारी, अस्तित्व र  अस्मिताको निम्ति वर्षौंदेखि दार्जीलिङ पहाडबाट लड्दै आइरहेको छुट्टै राज्यको लडाईंले कवि निलकमललाई पनि छोएको छ। त्यसैले त उनी लेख्छन्-
गोर्खाली हौं गोर्खाली हामी सब एक हौ गोर्खाली
छुट्ने छैन साथ हार्मो जन्म जन्मको छ नाता हाम्रो!!  -(गोर्खाली हौं हामी)
गोर्खाली अथवा नेपाली विश्वमा वीर जाती भनेर चिनिएको जाती। कस्तै आपद परेपनि कहिल्यै पछि सर्दैनन् भन्छन् उनी कवितामा यसरी-
छातिमा गोलि खानु परे पनि 
....तयार छौ हामी गोर्खाली।  -(गोर्खाली हौं हामी)-बाट। 
तर कहिले यसरी कोलम नारी हृदयलाई पनि छाम्न पुग्छन् कवि निलकमल। अनि छोरीप्रतिको समाजको भेदभावपूर्ण व्यवहारप्रति उनी व्यङ्ग गर्छन् कवितामा। संविधानले छोरा र छोरीलाई बराबरीको अधिकार दिएको छ। हामी सजिलै भनिदिन्छौं, छोरा र छोरी दुवै बराबरी हुन्। तर, के हाम्रो सोच, हाम्रो मन, हाम्रो व्यवहारमा पनि हामी त्यस्तै देखिन्छौं त? हामीसामु यो एउटा प्रश्न बनेर उभिएको छ। कवितामा कवि निलकमलको कलम कलिकै छ, तर समाजका हरेक विषयमा उनी सचेत छन्। समाजले खुल्लारूपमा छोरा र छोरीप्रतिको भेदभाव नगरेको भए पनि कहिँ न कहिँ व्यवहारले देखाइहरेको छ हामीभित्रको भाव। कविले त्यही कुरालाई दर्शाउने प्रयास गरेको पाइन्छ छोरी हुँ म हजूरहरू कै कवितामा। प्रश्न गर्छन् उनी कवितामा यसरी-
छोरी हुँ म हजूरहरू कै, फेरि किन गर्छन् मलाई हेला
घरको लक्ष्मी भन्छौ फेरि किन गर्छौ घृणा मलाई !!
कवितामा कतै जिन्दगीको परिभाषा दिन्छन् उनी, कतै जीवनप्रतिको दर्शनका कुराहरू पनि गर्छन्। त्यसैका उदाहरणस्वरूप हेर्न सकिन्छ जिन्दगी, जीवन आदि कविताहरू। उनका कविताहरू कतै गेयात्मक लाग्छन्। तिर्खा कविताको एक हरफ यस्तो छ-
कस्तो तिर्खा लाग्यो आज मलाई
तिर्शुलीको चिसो पानी पिउन् पाए हुन्थ्यो
बर्षौपछि यो मुटुमा एउटा घाउ भै सकेछ 
तिम्रै हाथले मलम लाउन पाए हुन्थ्यो !!
तर कविलाई कतै हतोत्साही देखिन्छ, जीवनप्रतिको मोहभङ्ग पो हो कि भन्ने लाग्छ कवितामा उनलाई। जीवनसित उनी निराश छन्। हारेका छन् जीवनसित उनी। कवितामा हेरौं उनलाई-
न खोज्नु है मलाई बसन्त ऋतुको हृयालिमा
म त उजाड मरुभूमिमा हराई सकेछु !!
नस्म्झिनु है मलाई कुनै खुसियालीमा
म त दु:ख र आँसुको सागरमा पो डुबी सकेछु !! न खोज्नु मलाई-बाट।
यति भएरै पनि फेरि उनीभित्र एउटा आशा त्यान्द्रो बाँचिरहेकै छ। त्यसैले उनी भन्छन्-
तिमी आउने आसैमा त्यो भीडमा पनि
तिमीलाई नै पर्खी रहेकोछु म !!  -(पर्खाइमा तिम्रो-बाट।)
कवितामा उनी आफ्ना मनका भावनाहरूसितै आत्मकथा पनि पोख्न चाहेका छन्। भावना तबसम्म बाँचिरहन्छ, जबसम्म स्वयं जीवित हुन्छौं। तर लेखिएका कुराहरू सँधैं बाँचिरहन्छ। त्यसैर त आफ्नै कथा लेख्न रुचाउँछन् कवितामा कतै उनी। अर्को शब्दमा, उनी कविता किन लेख्छन् भन्ने कुरा पनि उनका कविताले नै प्रस्ट्याएको पाउन सकिन्छ यसरी-
पोखी रहेछु आफ्नो कथा यो कवितामा
मनका केहि भावनाहरू कोरिदिएको छु यो कवितामा !!  -(मेरो आफ्नै कथा)
कवि कहिले कवितामा निक्कै गहिरिएका छन्। एकजना रोगीलाई उभ्याएर आफूभित्रको नास्तिक विचार यसरी पोखेका छन् उनले। कवितामा निखारता नदेखिए पनि विचारमा उनलाई पोख्त पाउन सकिन्छ।
पुछेर आँसु सकिन कहिले मनको मन्दिर जलेपछि
पुजेर ढुगा पाईन जीवन जिउनु रोगले भित्र भित्रै मारी सकेपछि !!  -(रोगीको आवाज)
कवि कहिले माया-प्रेमका कुरा गर्छन् अनि कहिले त्यही माया-प्रेम र विछोडको पीडा पोख्छन् कवितामा भने उनीभित्र देशप्रेमको भाव पनि उत्तिकै बाँचेको छ, अथवा देशप्रेमले उनी ओत-प्रोत छन्। त्यसैर त उनी सम्झन् शहीदको त्यागलाई अनि लेखिदिन्छन् कवितामा यसरी-
महान हुन ती जवानहरू, जो देशका निम्ति आफ्नो परिवरबाट टाडा छन्
महान हुन ती शहीदहरू, जसले यस देसको निम्ति आफ्नो प्राण त्यागेका छन!!  -(हाम्रा सहीदहरू)
कवितामा कतै भाइ निलकमल हताश छन्, कतै उत्साहित, जागरुक छन्। यसो भनौं, उनी समय र परिस्थितिसितै कविता लेख्छन् अर्थात लेखेका छन्। उनका कविताहरूमा पाउन सकिने सबैभन्दा सबल पक्ष मलाई लागेको उनी समाजप्रति चिन्तित छन्। समाजका हरेक स्थितिसित उनी नजिकमा छन्। अर्को कुरा समाजलाई हामीले केही त दिनै पर्छ भन्ने उनको चाहना कविताहरूले बोलिरहेको पाइन्छ। त्यसैले त्यसैले भाइ निलकमलले भविष्यमा अझ राम्रा-राम्रा कविता लेख्दैजानेछन्। पहिले कविता लेख्नु ‘रहर’ हुन्छ। रहरले नै कृति निकालिन्छ। ‘रहर’ पछि ‘कर’ बनिदिन्छ। यो कुरा भाइ निलकमलले पनि अहिले नै बुझ्नुपर्ने हुन्छ। 
अर्कोकुरा, साधनाले उनीसितै उनका कविताहरू पनि निखारिने कुरामा विश्वास राख्नुपर्छ। अध्ययनसितै लेखनमा निरन्तरता उत्तिकै आवश्यक हुन्छ। अध्ययन/साधनाबिनाको सिर्जना फिक्कै लाग्न सक्छन्। त्यसतो साहित्यबाट सायद समाजले केही पाउला कि नपाउला? विचार्नुपर्ने हुन्छ अनि साहित्य केको लागि र कसको लागि लेख्दैछु? भन्ने कुरामा पनि हामी अघिबाट सचेत रहनै पर्ला। कविता स्वतः समाजका लागि भइदिनु र समाजका लागि भनेर पूर्वयोजनामा लेखिनुले जुन दिशा पक्रँदछ कविताले पार्थक्य अवश्य पाउँछ समाजले त्यहाँ। कवि निलकमललाई पहिलो कृति मनका भावनाहरू-का लागि बधाई दिँदै भविष्यका लागि शुभकामना।-23.07.2016 (समय दैनिक)-बाट